मिर्गौला प्रत्यारोपण सेवा : यसैबर्ष सुर्खेत र धनगढीमा प्रारम्भ गरिदै

काठमाडौँ, २० भदौ । सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा धनगढीस्थित सेती अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको हो ।

प्रत्यारोपण केन्द्रकै सहयोगमा यसअघि उपत्यका बाहिर गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण प्रारम्भ भएको थियो भने कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा सेवा प्रारम्भ गर्ने सम्झौँता भइसकेको छ ।

धनगढीमा प्रत्यारोपण सेवा प्रारम्भ गर्ने विषयमा आइतबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसअघि केन्द्रको टोलीले मस्तिष्क मृत्यु र अंगदानका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

हाल सेती अस्पतालका जनशक्तिलाई भक्तपुरस्थित केन्द्रमा मिर्गौला प्रत्यारोपण सम्बन्धि तालिम लिइरहेका छन् ।

सम्झौँता पत्रमा सेती प्रादेशिक अस्पतालमा यसै आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । यस्तै, प्रदेशअन्तर्गतका विभिन्न अस्पतालमा डाइलाइसिस सेवा विस्तार गरिनेछ । उक्त कार्यका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, अध्यापन आदिको व्यवस्था गर्नेछ ।

यस्तै, सहमतिमा मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण कार्य प्रभावकारी बनाउन कार्ययोजना प्रस्तुत गर्ने, सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण फेलोसीप, एमसीएच युरोलोजी, डिएम नेफ्रोलोजी र नर्सिङ विषयको स्नातक एवं स्नातकोत्तर तहलगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने समेत उल्लेख छ ।

प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने योजना अनुरुप सेती प्रादेशिक अस्पतालसंग सम्झौँता गरिएको बताए । उनले कर्णालीको सुर्खेत अस्पतालसंग यसअघि नै सम्झौता गरेको भन्दै प्रत्यारोपणको अनुमतिको पर्खाईमा रहेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *