क्यान्सरबाट जोगिनका लागि खानपान तथा जीवनशैली परिवर्तनसंगै आवश्यकता छ ‘स्क्रिनिङ टेष्ट’

सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर

क्यान्सरका बिरामीहरुको उपचार गर्न  नेपालमा सरकारी स्तरबाट खुलेको एउटा नयाँ  अस्पताल हो ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर’ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) परिसर भित्र रहेको यस सेन्टरले सेवा प्रारम्भ गरेको आज ठ्याक्कै एक वर्ष पुगेको छ ।

ढिलो गरी तयार भइरहेको यो भवनमा हामीले गत वर्षको १ भदौबाट सुरु गरेको क्यान्सर उपचार सेवालाई भने छिटो गतिले विस्तार गर्दै आयौँ । यद्धपी यो सेन्टरको औपचारिक उद्घाटन भइसकेको अवस्था अहिले पनि होईन ।

कुल ११० शैय्या क्षमताको यो भवनबाट ‘फुल फ्लेज’मा क्यान्सर उपचार भइरहेको छैन् । माथिल्ला तल्लाका केही वार्ड तथा बेडहरुमा क्यान्सर बाहेकका बिरामीको पनि उपचार भइरहेको छ भने केही बेड सञ्चालन हुन बाँकी नै छ । यद्धपी अहिले करीब ८० बेड  क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग भइरहेको छ ।

एक वर्षको अन्तरालमा यो सेन्टरले क्यान्सर रोगको उपचार गर्ने अन्य सेन्टरहरुले दिए जस्तै सेवा दिन सफल भएको छ ।

औपचारिक उद्घाटन नभएका कारण टिचिङ अस्पताल परिसर भित्रै छुट्टै अत्याधुनिक क्यान्सर सेन्टर छ र त्यसले विगत एक वर्ष देखि आफ्नो सेवा प्रारम्भ गरेको छ भनेर अहिले पनि धेरैलाई  थाहा नहुन पनि सक्छ । तर, यो एक वर्षको अवधीमा हामीकहाँबाट मेडिकल अंकोलोजी तर्फ २ हजार ३२० जना, हेमाटो अंको तर्फ ४ हजार ८९४ जना गरी कुल ७ हजार २१४ जना बिरामीले ओपिडी सेवा लिईसकेका छन् ।

हामीले  यस सेन्टर भित्र  केमो थेरापीका लागि ‘डे – केयर’ सञ्चालन गरेका छौँ त्यहाँ दैनिक १८ देखि २० जना बिरामीहरुले सेवा लिएर जानु हुन्छ । क्यान्सरका बिरामीका लागि अंको फार्मेसी सेवा पनि भवन भित्रै रहेको छ ।

यसबाहेक सबै खालका क्यान्सर स्क्रिनिङका सेवाहरु दिईरहिएको छ । म्यामोग्राफी, प्यापस्मेर, अल्ट्रासाउण्ड, कोलोनोस्कोपी, इन्डोस्कोपी, सिटिस्क्यान सेवाहरु यहाँबाट उपलव्ध छ ।

धेरै मानिसहरु म एक पटक पनि बिरामी भएको छैन, म स्वस्थ छु, मलाई क्यान्सर रोग लाग्दैन भनेर परीक्षण नगरी बस्दा एकै पटक एडभान्स पुगेको हामीले धेरै केशहरु भेटाएका छौँ । त्यसैले हाम्रो योजना हामीले दैनिक खानपान, जीवनशैली परिवर्तन त गरौँ नै त्यससंगै क्यान्सर स्क्रिनिङ टेष्टलाई पनि संगसंगै लैजाउँ ।

किनभने सञ्चालनमा आएको भन्ने धेरैलाई थाहा नै नभएको यो सेन्टरमा समेत बिरामी धान्न मुस्किल परिसक्यो । आजको दिनमा ‘क्यान्सरका डे केयर देखि भर्ना भई उपचार गराउने सबै बेडहरु पुरापुर भरिएका छन् । यसो हुनुको कारण रोग थाहा भएपछि आउनु हो । यदि रोगको बारेमा पहिल्यै पहिचान भएको खण्डमा जटिलता हुने थिएन र बिरामीहरु उपचार गरि छिटो फर्किन्थे । यसले भिड पनि घटाउँथ्यौ । त्यसैले फेरी पनि हाम्रो जोड भनेको रोग लाग्नै नदिन वा सुरुमै पत्ता लगाउन त क्यान्सर स्क्रिनिङ टेष्ट नै अति जरुरी छ ।

सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरले क्यान्सर रोग उपचार प्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा आम नागरिकलाई यहि भन्न चाहन्छु कि ‘तपाईँले स्वस्थ खानपान तथा जीवनशैली त अपनाउनु नै पर्छ त्यसबाहेक समय समयमा ‘क्यान्सर स्क्रिनिङ टेष्ट’ पनि गराउनुहोस् । म त कहिल्यै बिरामी भएको छैन्, मलाई त केही भएको छैन् भन्दै आफूलाई स्वस्थ दावी गर्ने थुप्रै व्यक्तिहरुलाई यो रोगले झुक्याएको छ ।’

तसर्थ फेरी पनि भन्छु ‘स्वस्थ व्यक्तिहरुले बेला भएपछि क्यान्सर स्क्रिनिङ टेष्ट गराउँ ।’

के हो त क्यान्सर स्क्रिनिङ टेष्ट ?
साधारण अर्थमा एउटा स्वस्थ मानिसले नियमित रुपमा आफ्नो स्वास्थ्यको परीक्षण गर्नु भनेको स्क्रनिङ गर्नु हो । त्यसमा क्यान्सरको जोखिम छ कि छैन भनेर परीक्षण गर्ने कार्यलाई स्क्रिनिङ टेष्ट भनिन्छ ।

स्क्रिनिङ टेष्ट नियमित ग–यो भने क्यान्सरको सुरुवात चरण (अर्ली स्टेज)मा पहिचान गर्न सकिन्छ । सुरुवात चरणमै क्यान्स्र पत्ता लाग्यो भने सजिलैसंग निको पार्न सकिन्छ । बिरामीका लागि लाग्ने सम्भावित ठूला खर्च पनि कम हुन्छ । यदि पहिचान गर्न ढिला भयो अर्थात एडभान्स स्टेज वा भनौ क्यान्सर फैलिएको अवस्थामा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना कम हुन्छ । उपचार धेरै खर्चिलो हुन जान्छ ।

विश्वका विकसित देशहरुमा क्यान्सरको नियमित स्क्रिनिङ टेष्ट हुन्छ । त्यसबाट क्यान्सर भेटिए पनि सुरुवाती चरणमा नै थाहा हुने अर्थात अर्लि स्टेजमै पत्ता लाग्छ । यसले गर्दा विकसित देशहरुमा क्यान्सर निको हुने दर बढी र मृत्यु हुने दर कम हुँदै गएको छ ।

नेपालमा के छ ?
पछिल्ला बर्षहरुमा नेपालमा पनि क्यान्सर बिरुद्ध जनचेतनामुलक अभियान विस्तारै बढ्दै गएको छ । तर यसलाई अझ व्यापक बनाउन जरुरी छ । किनभने क्यान्सर लागि सकेपछि उपचार गर्नु भन्दा क्यान्सर लाग्नु नदिन वा लागेकै भएपनि सुरुवाती चरणमै पत्ता लाग्ने अवस्था ल्याउन आवश्यक छ ।

हामी सबैले क्यान्सर बिरुद्धको अभियानमा जनचेतना फैलाउनु, यसको रोकथाम र उपचारको सम्भावना तथा स्क्रिनिङ टेष्टबारे जनचेतना फैलाउन आवश्यक छ ।

क्यान्सरबाट कसरी जोगिने ?
क्यान्सर रोगको रोकथाम र यसबाट बच्ने उपाय खोज्नु भएको छ भने तपाईँले पनि आफ्नो जीवनशैली, खानपान र व्यवहारमा विशेष ध्यान दिनु पर्छ ।

धूमपान, अस्वस्थकर खानपिन, निस्कृय जीवनशैली, शारीरिक व्यायमको कमी, मोटोपनले क्यान्सरको जोखिम निम्त्याउँछ । यस्तै भारसर संक्रमणहरु जस्तै हेपाटाइटिस बी, सी, ह्युमन प्यापिलोमा भाइरस पनि क्यान्सर निम्त्याउने प्रमुख कारक तत्वमध्ये नै पर्दछन् । यी कारक तत्वहरुमा विशेष ध्यान दिनु पर्छ ।

तर, कहिलेकाँही यी उपाय अपनाउँदा अपनाउँदै पनि एडभान्स्ड स्टेजमा क्यान्सर देखा पर्दछ । त्यसैले अब हामीले जीवनशैलीको परिवर्तनसंगै परीक्षण अर्थात स्क्रीनिङ टेष्टमा पनि ध्यान दिनु पर्ने जरुरी छ । यसो गर्न सकियो भने क्यान्सर भए नभएको थाहा हुन्छ । यदि क्यान्सर रहेछ भने पनि सुरुवाती चरणमै थाहा हुन्छ र निको गराउन सजिलो हुन्छ ।

कुन कुन क्यान्सर कस्ता ? किन आवश्यक छ क्यान्सर स्क्रिनिङ टेष्ट ?

स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्राको क्यान्सर, कलेजोको क्यान्सर प्रमुख रुपमा देखिन्छन् ।

स्तन क्यान्सर : विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुसार प्रमुख पाँचवटा क्यान्सर मध्ये स्तन क्यान्सर पहिलोमा पर्दछ । त्यसैले ४० बर्ष उमेर पुगेका महिलाहरुले बर्षमा एक पटक म्यामोग्राफी (स्तन क्यान्सर सम्वन्धी परीक्षण) गर्नु जरुरी देखिन्छ । यसो गरेको खण्डमा क्यान्सर रोग लागेको नलागेको थाहा हुन्छ । अर्को कुरा लागेकै रहेछ भने पनि सुरुवाती चरणमै थाहा पाउन सकिन्छ र सजिलैसंग निको पार्न सकिन्छ ।

फोक्सोको क्यान्सर :फोक्सोको क्यान्सर कुल क्यान्सर संक्रमणमा दोस्रो मानिन्छ । यो क्यान्सर देखिनुको पछाडी धूमपान मुख्य कारण मानिन्छ । फोक्सोको क्यान्सरबाट जोगिन धूमपान गर्नु छाड्नु पर्छ ।

फोक्सोको क्यान्सर छ कि छैन् भनेर थाहा पाउनका लागि ५० बर्ष माथिका व्यक्ति, अधिक धूमपान गर्ने व्यक्तिको लो डोज सिटिस्क्यान गरी जाँच गर्न सकिन्छ । जोखिम युक्त मान्छे होइन भने धेरै पटक सिटिस्क्यान गर्नु पनि हुँदैन । कहिलेकाँही यसरी लो डोज रेडियसन बारम्बार गर्दा स्वस्थ मानिसमा क्यान्सरको खतरा समेत उत्पन्न गर्न सक्छ । त्यसैले उच्च जोखिम समूहका व्यक्तिको मात्रै लो डोज सिटिस्क्यान गर्नु पर्छ ।

आन्द्राको क्यान्सर : ४५ वर्ष उमेर पुगेका व्यक्तिले कोलोनोस्कोपी गरेर आफ्नो आन्द्रा स्वस्थ छ छैन जाँच गर्नु राम्रो मानिन्छ । यो काम प्रत्येक १० वर्षको अन्तरमा गर्नु पर्छ । यसमा उच्च जोखिम समूह र वंशाणुगत अर्थात पहिले नै परिवारको सदस्यलाई क्यान्सर भएको समूहमा पर्नेले चिकित्सकको सल्लाह अनुसार आवश्यक परीक्षण गराउनु पर्छ ।

पेटको क्यान्सर : ५० बर्ष उमेर पुगेका व्यक्तिले दुई तीन वर्षको अन्तरालमा इन्डोस्कोपी गरी पेटको अवस्थाबारेमा जानकारी लिनु उपयुक्त हुन्छ । यसले पेटको क्यान्सर लागेको छ छैन् भन्ने बारेमा जानकारी हुन्छ ।

पाठेघरको मुखको क्यान्सर :पाठेघरको मुखको क्यान्सरको ह्युमन प्यापिलोमा भाइरसले गर्दा हुने हो । अहिले बजारमा यस विरुद्धको खोप एचपीभी आएको छ । ९ बर्ष देखि २६ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरुले यो खोप लिन मिल्छ । यस्तै यो क्यान्सरबाट जोगिन २१ बर्ष देखि ६५ वर्ष उमेर समूहका महिलालाई प्याप टेष्ट गर्नु राम्रो मानिन्छ । यो टेष्ट ३ वर्षको अन्तरमा गर्दा हुन्छ ।

कलेजोको क्यान्सर : कलेजोको क्यान्सरको एउटा कारण हेपाटाइटिस बी र सी हो । त्यसैले अहिले बजारमा पाइने हेपाटाइटिस बी बिरुद्धको खोप लगाउनु पर्छ । हेप सीको आरएक्स गर्नु पर्दछ । अल्कोहोलिक हेपाटाइटिसहरुलाई बीच बीचमा भिडियो एक्सरे गर्नु पर्दछ । उपचार गरेपछि बीच बीचमा कम भयो कि भएन भनेर बीच बीचमा अल्ट्रासाउन्ड गर्नु पर्छ ।

प्रोष्टेट क्यान्सर : प्रोष्टेट क्यान्सरबारे थाहा पाउन ५० बर्ष उमेर पुगेका पुरुषहरुले ‘प्रोस्टेट स्पेसिफिक एन्टीजेन भन्ने ब्लड टेष्ट’ र अल्ट्रासाउण्ड आवश्यकता अनुसार गर्न सकिन्छ ।

यी माथिका स्क्रीनिङ टेष्टहरु स्वस्थ मानिसले गर्ने हो । ताकि स्वस्थ मानिसले थाहा नपाई क्यान्सरको जोखिममा जानु नपरोस भन्ने नै हो । भनिन्छ नि ‘रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो ।’

यी माथिका सबै सुविधाहरु सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरमा उपलव्ध छ ।

# डा. श्रेष्ठ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *