एचआइभी संक्रमितलाई औषधिले सहज

56
Shares

पाल्पा, ३१ साउन । एचआइभी संक्रमितलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि संक्रमितलाई निकै राहत मिलेको छ । नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।

हाल यस अस्पतालबाट नियमित औषधि सेवन, परामर्श सेवा र परीक्षण सेवा दिइएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो ।

बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनबाट रामपुर अस्पतालले संक्रमितलाई औषधि वितरण सेवा सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० जना संक्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउछन् ।

रामपुरकी ३२ वर्षीया एक युवतीले रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउछन्। दुई वर्ष अघिदेखि उनले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आएका थिए ।

उनीसहित परिवारका चारजना सदस्य एचआइभी संक्रमित छन् । नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको रामपुर अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् ।

एचआइभी संक्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने संक्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी संक्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरा लगायतका क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएका थिए ।

उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिनुपर्ने भन्ने मनसायले सेवा दिन थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउछन् । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *