नेपालमा मंकीपक्स र कोभिड-१९ को बढ्दो जोखिमलाई नजिकबाट नियालेका छौँ : विश्व स्वास्थ्य संगठन 

'प्रकोप र महामारीका बेला संचारकर्मीको भूमिका स्वास्थ्यकर्मीको जस्तै'

काठमाडौँ, २० साउन । नेपालमा मंकीपक्सको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले जनाएको छ। विश्वका विभिन्न देशसंगै छिमेकी मुलुक भारतमा समेत मंकीपक्स पुष्टि भइसकेको अवस्थामा नेपालमा जोखिम बढेको भन्दै न्युनीकरणका लागि काम भईरहेको डब्लुएचओले जनाएको हो ।

नेपालमा मंकीपक्स आशंकामा अहिलेसम्म चार जनाको परीक्षण गरिएको छ । तर सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित कोभिड १९ महामारी तथा मंकीपक्सको वर्तमान अवस्था र तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले मंकीपक्सलाई नजिकबाट नियालिरहेको बताए।

उनले भने, ‘नेपालमा हालसम्म मंकीपक्सको केस भेटिएको छैन। तर पनि यसको जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौँ। अहिले नेपालमै मंकीपक्सको परीक्षण हुने हुन्छ। त्यसैले केस भेटिएपनि परीक्षणमा समस्या छैन।’

‘प्रकोप र महामारीका बेला संचारकर्मीको भूमिका स्वास्थ्यकर्मीको जस्तै’

यसैबीच  डा पाण्डवले आपतकालिन र प्रकोपको समयमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमको भूमिका निकै नै महत्वपूर्ण हुने बताएका छन् । उनले यस्तो समयमा सञ्चारकर्मीहरुले रोगको पहिचान, रोकथाम र नियन्त्रणमा सही जानकारी र सल्लाह प्रदान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका हुन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालको प्राविधिक सहयोगमा शुक्रबार आयोजित ‘कोभिड – १९ को महामारी तथा मंकीपक्सको बर्तमान अवस्था र तयारी’ सम्वन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘तपाईं पत्रकारले संप्रेषण गर्ने समाचारहरु प्रायजसो जनताको लागि सूचनाको पहिलो स्रोत हो । यसले रोग पहिचान रोकथाम र नियन्त्रणमा समेत सहयोग पुग्दछ ।’

डा. पाण्डवले अनुगमन नगरिएका संचारमाध्यमको संख्या उल्लेख्य रहेको भन्दै अहिलेको समयमा सहि रिपोर्टिङ जरुरी रहेको बताए । उनले पत्रकारले दिने सूचनाहरु तथ्यमा आधारित होस भन्नका लागि ‘डु नो हार्म’को सिद्धान्त अंगाल्नु पर्ने बताए ।

डव्लुएचओले गत २३ जुलाईमा मंकीपक्सलाई अन्तराष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको उल्लेख गर्दै उनले यसलाई नयाँ स्वरुप सहित विश्वभर दु्रत गतिमा फैलिरहेको एक प्रकोपको संज्ञा दिए ।

उनले मंकीपक्स छिमेकी मुलुक भारतमा देखिएर मानिसको ज्यान समेत लिईसकेको अवस्था रहेको भन्दै नेपालले सावधानीमा जोड दिनुपर्ने बताए ।

डा पाण्डवले फेरि विश्वभर नै कोभिड- १९ संक्रमण र मृत्युको संख्या बढेको उल्लेख गर्दै गत छ हप्तामा विश्वव्यापी साप्ताहिक संक्रमणको संख्या लगभग दोब्बर भएको बताए ।

‘नेपालमा पनि उल्लेख्य मात्रामा संक्रमणको दर बढेको छ । भाइरस व्यापक रूपमा फैलदैँ जाने क्रममा, नयाँ र खतरनाक भेरियन्टहरु देखा परिरहेका छन् । ओमिक्रोन भेरियन्टका धेरै उप-स्वरुपहरू, विशेष गरी बीए.५ जस्तो एकदमै संक्रामक भेरियन्ट पुष्टि हुनुले अहिले नै हामीले जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न छोड्ने बेला भएको छैन भन्ने कुराको स्मरण गराउँछ,’ उनले भने ।

यता,  स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले नेपालमा अहिलेसम्म शंकास्पद चार जनाको मंकीपक्स परीक्षण गराएपनि रिपोर्ट पोजेटिभ नआएको जानकारी दिए ।

अहिले मंकीपक्सको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने भन्दै त्यसका लागि डव्लुएचओले २५० वटा टेष्टकिट उपलव्ध गराईसकेको जानकारी दिए । उनले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मंकिपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको भन्दै त्यहाँका १६ जना डर्माटोलोजिष्टलाई यसको विज्ञको रुपमा खटाइएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले कोभिड -१९ को संक्रमण बढिरहेको र नयाँ प्रकोपको रुपमा मंकीपक्स थपिएको अवस्थाले स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको बताए । उनले कोभिड -१९ को जोखिम क मगर्न एसएमएसको नियम संगै कोभिडविरुद्धको खोप लगाउनुपर्ने भन्दै आम सर्व साधारणलाई त्यसतर्फ अग्रसरता हुन आग्रह गरे ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड १९ को बढ्दो नयाँ जोखिम र विश्वमा फैलने क्रममा रहेको मंकीपक्सको प्रकोपबारेमा सञ्चारकर्मीहरुलाई अपडेट गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले कार्यक्रमबाट प्रकोपको राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्थाको बारेमा जानकारी लिन सकिएको बताए ।

कार्यक्रममा डव्लुएचओको तर्फबाट विज्ञहरु डा विनोद बुरा, डा पल्पसा कंशाकार, डा प्रतिक्षा आचार्य, डा एलिसन, डा शितल अधिकारी, डा चतुरा लगायतले कोभिड १९ को पछिल्लो अवस्था, खोप कभरेज, मंकीपक्सको अवस्था र नेपालमा हुनसक्ने सम्भावित जोखिमका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कोभिड – १९ र मंकिपक्स नियन्त्रणका लागि सरकारले चालेको कदम र तयारीको बारेमा डा गेलालले प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा ४० बढी स्वास्थ्य पत्रकारको सहभागिता थियो ।

विज्ञहरुले के भने ?

डब्लुएचओ नेपालका खोप विज्ञ डा विनोद बुराले कोभिडबिरुद्धको खोपको उपलब्धताका आधारमा सबैलाई बुस्टर दिन दिनुपर्ने बताए। खोप नलगाएका व्यक्ति कोरोना संक्रमण र मृत्युको जोखिममा हुने भएकाले खोपको पहुँच बढाउनुपर्ने उनको जोड थियो। नेपालमा हाल प्रयोग भइरहेको ११ वटा कोभिड १९ विरुद्धको खोप डब्लुएचओ ले स्वीकृती दिएको खोप भएकाले ढुक्क भएर लगाउन डा बुराको आग्रह छ। दीर्घ रोगी, गर्भवती महिलाहरुलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम बढेको डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा चथुरा इदिरीसुरियाले जानकारी दिए । ‘यी ठाउँबाट नेपालमा सजिलै पर्यटकको आउजाउ धेरै भएको पाइन्छ”, उनले भने , “त्यसैले नेपाल पनि मङ्कीपक्सको जोखिममा छ ।’

असी देशका करिब २४ हजार मानिसमा मङ्कीपक्सको सङ्क्रमण फैलिएको डब्लुएचओले जनाएको छ । डा इदिरीसुरियाले मङ्कीपक्स रोगको जोखिम बारेको जानकारी समुदायमा सरकारले गराउनु आवश्यक रहेको बताए।

रोग सार्नेमध्ये ९७ दशमलव पाँच प्रतिशत सङ्क्रमण पुरुष पुरुषबीच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको डब्लुएचओले जनाएको छ । तीमध्ये ३८ प्रतिशतमा एचआइभी पोजिटिभ पाइएको छ ।

डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा इदिरी सुरियाले यस रोगको सङ्क्रमण एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा सार्ने सक्ने भएकोले एक महिनासम्म आइसोलेसनमा बस्नुपर्ने बताए ।

डब्लुएचओ नेपालका स्वास्थ्य आपत्काल कार्यक्रम प्रमुख डा एलिसन गोकोटानोले भारतमा मङ्कीपक्सको बिरामी देखिएकोले खुला सिमानाका कारण नेपालमा सजिलै मङ्कीपक्सको सङ्क्रमण देखिने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले छिमेकी मुलुकमा देखिएसँगै नेपाल पनि मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए ।

उनले अहिलेसम्म शङ्कास्पद चार वटा नमूना परीक्षणमा मङ्कीपक्स रोग नदेखिएको जानकारी दिए ।

डब्लुएचओका जनस्वास्थ्य विज्ञ डा शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा यो रोग सर्ने गरेको बताए । उनले छाला र मुखमा रहेको दाग, बिमिरा फुट्दा र नजिक रहेको व्यक्तिमा मङ्कीपक्स रोग सर्ने जानकारी दिए ।

घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, ¥यालको सम्र्पकबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्दछ ।

काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनली जस्ता अङ्गबाट पनि यो भाइरस सर्ने गर्दछ ।

 

 

बच्ने उपायहरु

मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्दछ ।

यस्तै मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्र्पकमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपदछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *