मकवानपुरमा २८ जनामा डेंगु संक्रमण
मकवानपुर, १८ साउन । मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन् । कोरोना संक्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
साउनको १५ दिनमा २८ जना डेंगु रोगको संक्रमणबाट बिरामी भएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौंडा उपमहानगरपालिका–४ र ५ मा डेंगुका बिरामी देखिएका बताइएको छ ।
मकवानपुरको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा बढी बिरामी रहेका जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रूपमा डेंगुको संक्रमण देखा परेको छ ।
सूचना अधिकारी घिमिरेले १५ दिनमा यतिधेरै बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । संक्रमित हेटौंडाको वडा नम्बर ४ तथा ५ का रहेका र उनीहरूको उपचार भइरहेको उनले बताए ।
कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्यांक आउन बाँकी छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको सोही अवधिमा जिल्लामा १ जनामा कालाजार भएको छ भने हेटौंडाका ९ जनामा स्क्रवटाइफस संक्रमण भएको बताइएको छ ।
गत आवमा २९५ जना डेंगुको संक्रमणबाट बिरामी भएका थिए ।
सम्पर्क इमेल : [email protected]