किन बढ्दैछ अस्पतालहरुमा जनस्वास्थ्य पढेको स्वास्थ्य जनशक्तिको आवश्यकता ?

सामान्य भाषामा बुझ्नु पर्दा अस्पताल भनेको बिरामी पर्दा उपचार गर्न जाने ठाँउ हो । त्यसैले अस्पतालमा उपचारात्मक सेवाले प्राथमिकता पाउनु स्वभाविक नै हो, यद्धपिपी त्यहाँबाट प्रतिकारात्मक, प्रर्वधनात्मक, पुर्नस्थापना लगायतका सबै सेवाहरु प्रदान हुँदै आईरहेको हुन्छ ।

अस्पताल भित्रबाट प्रदान हुने स्वास्थ्य सेवाहरुलाई अन्तराष्ट्रिय स्तरको बनाउने, नयाँ नयाँ वैज्ञानिक अनुसन्धानबाट निर्देशित प्रविधिहरुको बिस्तार गर्ने तथा अस्पताल सेवा सुद्दिढिकरण गर्ने प्राथमिकता भित्र रहनुपर्ने मुख्य विषय नै हो। यसका साथ साथै अस्पतालबाट प्रदान हुने अरु स्वास्थ्य सेवाहरुलाई थप जनमुखी बनाउने तथा सुध्रिढ गर्नुपर्ने अहिलेको परिस्थितिले निर्देशित गरेको छ।

यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै ५० शैया अस्पतालको संगठन संरचनाको खाकामा राय सुझाव माग गरेको छ । त्यस सन्दर्भमा एक जनस्वास्थ्यकर्मीको दृष्टिले तपशील अनुसारका कार्यहरु संचालन गर्न जनस्वास्थ्य विधामा दख्खल जनशक्ति समेत अस्पतालको संगठन संरचनामा राखिनुपर्ने आधारहरु प्रस्तुत गर्ने जमर्को गरेको छु।

१. जीवनशैलीमा आधारित रोगहरुको भार :

विश्वभर नसर्ने रोगहरुको प्रकोप बढ्दो क्रममा रहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्य अनुसार संसारभर ७१ प्रतिशत मृत्युहरु हाल नसर्ने रोग कै कारण हुने गर्दछन। नेपाल स्टेप सर्भेको तथ्य हेर्ने हो भने ६६ प्रतिशत नेपालमा हुने मृत्युहरु नसर्ने रोगहरुकै कारण हुने गर्दछ।

नसर्ने रोगहरु आँफैमा दीर्घकालिन रुपमा विकास हुने हुँदा अस्पतालमा आधारित जनस्वास्थ्यका गतिविधिहरु स्वास्थ्य शिक्षा, स्वास्थ्य प्रवर्धन जीवनशैली परिवर्तन, खानपान, पोषण जस्ता विषयहरुमा परामर्श सेवा प्रदान गर्नेपर्ने हुन्छ।

बिरामी चेक जाँच गरेर औषधि ओखती दिएर पठाउने मात्रै नभई अब नसर्ने रोगहरुको रोकथाम गर्न, देखा परिसकेको खण्डमा थप क्षति हुन नदिने उपायहरु बारेमा जोखिम बिरामीहरुलाई जोखिम न्यूनीकरण संचार तथा परामर्श प्रदान गर्ने जस्ता जनस्वास्थ्यका कार्यहरु अस्पतालबाटै हाल भएगरेको भन्दा विशेष तवरबाट प्राथमिकता साथ कार्यान्वयन गर्नुपर्ने हुन्छ।

त्यसैले यस्ता किसिमका नसर्ने रोगहरुको तथ्य संकलन, विश्लेषण तथा तथ्यमा आधारित योजना बनाउने कार्यको लागि जनस्वास्थ्य विषयमा ज्ञान भएको जनशक्तिलाई अस्पतालमा परिचालन गर्नु अपरिहार्य छ।

२.अस्पताल सेवामा जनताको उपस्थितिः

स्वास्थ्य सेवा विभागको भर्खरै प्रकाशित वार्षिक प्रतिवेदन हेर्ने भो भने करिब ७७ प्रतिशत जनसंख्याले बहिरंग सेवा लिएको तथ्य देखिएको छ । बिरामी भएर मात्रै अस्पताल जाने भन्दा पनि परामर्श सेवा लिऔ, बेलामा नै रोग बारेमा सचेत रहौ भनेर स्वास्थ्य संस्था जाने जनताहरुको संख्या पनि बढ्दैछ। त्यसैले यो जनसंख्यालाई आधार वनाएर अस्पतालमा आधारित जनस्वास्थ्यका क्रियाकलापहरु डिजाईन गरेर जनताको मागहरुको प्रभावकारी सम्बोधन गर्न अस्पतालहरुमा जनस्वास्थ्य सेवा प्रदान गर्नसक्ने छुट्टै जनशक्तिको खाँचो देखिन्छ।

जनस्वास्थ्यका गतिविधिहरुको उदेश्य एकै पटक धेरै जनातालाई रोग लाग्नबाट जोगाउने, स्वास्थ्य शिक्षा प्रदान गर्ने हो। अस्पतालमा आउने सेवाग्राहीहरु, परिवारका सदस्यलाई केन्द्रीत गरेर केहि जनस्वास्थका क्रियाकलापहरु योजना गरियो भने दैनिक कम्तिमा पनि सरदर २०० देखि ३०० लक्षित वर्गलाई जनस्वास्थ्यको क्रियाकलापहरुबाट लाभान्वित गराउन सकिन्छ । त्यसैले हाम्रा जनस्वास्थ्यका गतिविधिहरु अस्पतालमा आधारीत समेत बनाउनुपर्ने देखिन्छ।

३. हालको जनशक्तिको कार्यभार:

अस्पतालहरुको जनशक्ति हेर्दा हाल स्वीकृत दरवन्दी अनुसार उपचारात्मक सेवा प्रदान गर्ने जनशक्तिहरुको कार्यभार प्रायजसो अस्पतालहरुमा निकै धेरै देखिन्छ। सेवाग्राही बिरामीलाई कसरी छिटो उपचार प्रदान गरेर औषधी दिएर घर पठाउने भन्ने मात्रै प्राथमिकता दिईएको पाईन्छ ।

ठ्याकै अनुसन्धानबाट भेटेको तथ्य त हैन तर सरदरमा एक बिरामीले एक चिकित्सकसंग ५ मिनेटको समय पनि पाउन मुस्किल देखिन्छ। यसले गर्दा सेवाग्राहीलाई आवश्यक पर्ने परामर्श, आहार, व्यवहार, जीवनशैली, प्रतिजैविक औषधि प्रयोग, औषधिको समुचित प्रयोग प्रबर्धन जस्ता विषयहरु अस्पतालबाट उचित सम्बोधन हुन नसकेको अवस्था छ।

त्यसैले अस्पतालहरुमा उपयुक्त जनस्वास्थ्यकर्मीसहितको छुटै स्वास्थ्य शिक्षा तथा स्वास्थ्य प्रवर्धन गर्ने ईकाईहरुको स्थापना गर्नुपर्ने देखिन्छ। त्यस्तै अस्पताल भित्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप सुदृढ गर्दै जनताको आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी पाउने हकलाई सुनिश्चित गर्नको लागि अस्पतालबाट प्रदान गरिने जनस्वास्थ्यका सेवाहरुलाई प्रभावकारी बनाउन आवश्यक थप मानव संसाधनको परिचालन गर्न जरुरी छ।

४. अस्पताल सुद्दिढकरणः

हाल अस्पताल सेवाको गुणस्तर सुधार गर्न, लेखाजोखा गर्न, गुणस्तर कार्ययोजना बनाउन, न्युनतम मापदण्ड कार्यान्वयन गर्न विभिन्नसंग सस्थाहरुको सहयोगमा विभिन्न गतिविधीहरु संचालन भईरहेका छन् । ति गतिविधिहरुको अपनत्व तथा पूर्णरुपमा अस्पतालले नै जिम्मेवारी ग्रहण गर्न तथा नियमित कार्यसम्पादन गर्नको लागि आवश्यक पर्ने जनस्वास्थ्य विज्ञको दरवन्दी अब बनाईने संरोचनामा समेटिनुपर्ने देखिन्छ।

५. अस्पतालमा आधारित अध्ययन तथा अनुसन्धानः नेपालमा पनि स्वास्थ्य अनुसन्धानको परम्परा बिस्तारै विकास हुँदै गईरहेको छ यदापी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन संरचना भित्र हालसम्म स्वास्थ्य अनुसन्धान अधिकृतको दरवन्दी स्थापना हुन सकेको छैन। केहि सरकारी तथा गैर (सरकारी संघ सस्थाहरुले मात्र स्वास्थ्य अनुसन्धानको विधालाई धान्न सक्ने स्थीति छैन, त्यसैले सरकारको आफ्नो स्वास्थ्य प्रणालीको संयन्त्र भित्र नै स्वास्थ्य अनुसन्धानको विषयलाई प्राथमिकतामा राखिनुपर्दछ।

अहिलेपनि अस्पतालमा आधारित धेरै स्वास्थ्य अनुसन्धान हरु भईरहेका छन् ति अनुसन्धान हरुलाई अस्पतालले नै अपनत्व लिएर अगाडी वढ्न सकेमा स्वास्थ्य क्षेत्रमा ईभिडेण्स जेनेरेशमा ठुलो योगदान हुनेछ। हरेक अस्पताललाई एक रिसर्च सेन्टरको रुपमा विकास गर्ने दीर्घकालिन उदेश्य राखेर अस्पतालमा आधारित अनुसन्धानहरु प्राथमिकता दिनु अहिलेको आवश्यकता रहेको छ।यसको लागि हरेक ५० वेड र सोभन्दा माथीका अस्पतालहरुमा स्वास्थ्य अनुसन्धान ईकाई स्थापना गरि स्वास्थ्य अनुसन्धान अधिकृतको दरवन्दी स्थापना गर्नु अपरिहार्य छ।

अर्को तर्फ हेर्ने हो भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अनुसन्धानमा उत्प्रेरणा जगाउन अस्पतालमै आधारित रिसर्च मेण्टरशिप, रिसर्च प्रपोजल तयार गर्ने कार्यहरु गर्न जरुरी छ। त्यसको लागि जनस्वास्थ्य विधामा ज्ञान भएको स्वास्थ्य जनशक्ति अस्पतालमा भयो भने यस्ता कार्यहरु अगाडी बढ्न सजिलो हुन्छ।

६. डिजिज सर्भिलेन्स तथा महामारी पूर्व तयारीः

विभिन्न समयमा देखापरेका महामारीहरुको बेला सरकारी अस्पतालले निर्वाह गरेको भूमिका प्रसंशनीय छ। महामारीको वेला उपचार सेवा प्रदान गर्दै जनताको जीवन वचाउन अस्पतालहरुले पुर्याएको भूमिकालाई थप सुद्दिढ गर्न अस्पतालको एकीकृत योजनाहरु तयार गर्ने, अस्पताल Hospital Emergency Disaster Preparedness and Response Plan, Communication Coordination Mechanism, resources mobilization plan आदि जस्ता कार्यहरु गर्न थप स्वास्थ्य जनशक्तिको आवश्यकता अस्पतालहरुलाई परिरहेको छ। त्यसो हुँदा अब गरिने अस्पतालहरुको ओएनममा त्यस्ता जनशक्तिहरु दरवन्दी सिर्जना गर्नुपर्ने हुन्छ।

वेला वेलामा देखापर्ने ईमर्जिङ्ग तथा रि-ईमर्जिङ्ग रोगहरु, नोटिफ़िएवल संक्रमणहरु, महामारीको लेखा जोखागर्ने, डिजिज सर्भिलेन्स, जोखिम तत्व हरुको सर्वेक्षण गर्ने आदिजस्ता कार्यहरु नियमित संचालन गर्न हाल भईरहेको स्वास्थ्य जनशक्ति प्रयाप्त छैन। त्यसैले हरेक ५० वेड र सो भन्दा माथीका अस्पतालहरुमा डिजिज सर्भिलेन्स तथा महामारी पूर्व तयारी ईकाईको संरचना बनाएर थप जनशक्ति राख्न्न सकेमा हाम्रा पूर्व तयारी तथा रोग हरुको सर्वेक्षण प्रभावकारी हुने देखिन्छ।

७. अस्पतालको तथ्याङ्क तथा प्रतिवेदन :

अस्पतालहरुबाट विभिन्न किसिमका तथ्याङ्कहरु संकलन हुने गर्दछन तर ति तथ्यहरुलाई केलाएर विश्लेषण गरेर तथ्यमा आधारीत योजना बनाउने परम्परा हामीकहाँ बसिसकेको छैन। केहि सिमित र मुख्य मुख्य तथ्यहरुलाई नियमित प्रतिवेदन गर्नुपर्ने व्यवस्था भएता पनि प्रभावकारी रुपमा हुने गरेको छैन।

स्वास्थ्य सेवा विभागको भर्खरै प्रकाशित वार्षिक प्रतिवेदनको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०७७/७८ मा जम्मा ८० प्रतिशत सार्वजनिक अस्पतालहरुबाट मात्रै नियमित प्रतिवेदन पेश भएको छ जुन गत वर्षहरुमा पनि ८२ प्रतिशत भन्दा माथी पुगेको देखिदैन। त्यसैले अस्पतालको स्वास्थ्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्नको लागि हाल भईरहेको मेडिकल रेकर्ड ईकाईलाई पुनर्संरचना गरेर जनस्वास्थ्य विज्ञको नेतृत्वमा इलेक्ट्रनिक मेडिकल रेकर्ड प्रणाली, टेली मेडिसिन आदी सन्चालन गर्ने सक्ने मेडिकल रेकर्डर, हेल्थ इन्फर्मेटिक्स सहितको एउटा साधन सम्पन्न ईकाईको संचालन गर्नुपर्ने देखिन्छ।

सो गर्न सकेमा अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरुबाट संकलन हुने तथ्यांकहरुको सङ्कलन, दस्तावेजीकरण, स्वास्थ्य सूचकहरूको विश्लेषण र व्याख्या गरि प्रतिवेदन तथा योजना बनाउने कार्य प्रभावकारी बनाउन सकिन्छ।

८. बिस्तारित आउटरिच सेवा तथा स्वास्थ्य शिविरहरुको व्यवस्थापनः

अस्पतालले बिभिन्न स्थानहरुमा स्वास्थ्य शिविर,आउटरिच सेवा प्रदान गर्ने कार्य चलिरहेको छ। दुर्गम तथा विकट क्षेत्रका जनताहरुलाई सेवा पुर्याउने उदेश्यले यस्ता किसिमका सेवाहरुको परिकल्पना गरिएता पनि सबै स्वास्थ्य शिविरहरु उत्तिकै प्रभावकारी भईरहेको अवस्था छैन ।

स्वास्थ्य शिविर भन्ने वित्तिकै औषधी बाढ्ने तथा बिरामी तान्ने गतिविधि, पहुँचको भरमा शिविर लैजाने, आवश्यक नै नभएको ठाउँ संचालन गर्ने जस्ता गतिविधिहरु पनि भईराखेका छन्। त्यसैले तथ्यमा आधारित स्वास्थ्य शिविरको योजना, रोग स्क्रिनिङ्ग क्याम्पहरु संचालन, औषधी वाढ्ने मात्रै नभई स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान गर्ने किसिमको योजनाहरु निर्माण गर्न अस्पतालहरुमा थप प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ।

९. अस्पताललाई समुदायसँग जोड्ने जनशक्तिको खाँचो:

अस्पताललाई समुदायसँग जोड्ने किसिमको सामुदायिक स्वास्थ्य सेवाको विकास, विस्तार, अनुगमन मुल्यांकन जस्ता गतिविधिहरु समेत सरकारी अस्पतालहरुबाट सुरुवात गर्न जरुरी छ। उदाहरणको लागि अछामको बयलपाटा अस्पताल, काभ्रेको धुलिखेल अस्पतालले कसरी समुदायमा अस्पतालले पनि जनस्वास्थ्यको कार्यहरु गर्न सक्छन भन्ने हेर्न सकिन्छ।अस्पतालले विस्तार गर्नुपर्ने सेवाको योजना, अनुगमन तथा अस्पतालहरुको समुदायसँगको सहकार्यमा सहजीकरण गर्न जनस्वास्थ्यकर्मीको खाँचो अस्पतालमा भईरहेको छ।

१०. बहु-क्षेत्रीय समन्वय तथा सहकार्य:

अस्पताल विकास योजना निर्माण, प्रपोजल लेख्ने, अस्पतालमा हुने अनुसन्धानात्मक कार्यहरुको लागि विदेशी ग्राण्टहरुमा आफ्नो प्रपोजल पठाउने, प्रदेश तथा स्थानीय तहबाट समेत प्राप्त हुने ग्राण्टहरुको प्रपोजल लेख्न्ने, प्रतिवेदन तयार गर्ने, विभिन्न संघ सस्थाहरुसंगको सहकार्यलाई प्रभावकारी बनाउन तथा बहु-क्षेत्रीय समन्वयको भूमिका आदी जस्ता कार्यहरु सम्पादन गर्नको लागि समेत जनस्वास्थ्य विज्ञको अस्पतालमा खाँचो देखिन्छ।

आदिजस्ता क्रियाकलापहरु गर्न गराउन र अस्पतालको सर्वाङ्गिण विकास गर्दै जनताको स्वास्थ्य अवस्था सुधार गर्नको लागि अस्पतालहरुमा जनस्वास्थ्य पढेको स्वास्थ्य जनशक्तिको आवश्यकता दिनानुदिन बढ्दै गईरहेको छ।

त्यसैले अब गरिने अर्गनाईजेशन तथा मेनेजमेन्ट सर्भेहरुमा उपचारात्मक सेवालाई मात्र नभई अस्पतालहरुबाट प्रदान गरिने प्रतिकारात्मक तथा प्रवर्धनात्मक सेवाहरुको समेत विचार गरेर स्वास्थ्य जनशक्तिको आवश्यकता निर्धारण, दरबन्दी सिर्जना तथा परिचालन हुन आवश्यक छ।

#पौडेल जनस्वास्थ्यकर्मी हुन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *