यी हुन् काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रममा परेका स्वास्थ्यको १२ बुँदा

काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बालेन्द्र शाहले आइतबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य सम्वन्धी विषय १२ बुँदामा समेटिएको छ ।

त्यसमा नगरपालिकामा कर तिर्ने दातालाई स्वास्थ्य बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने देखि, नगरबासीको स्वास्थ्य परीक्षण शहरी स्वास्थ्य केन्द्र मार्फत गर्ने सम्मको कार्यक्रम राखिएको छ ।

यस्तै महानगरले छुट्टै महानगर जनस्वास्थ्य ऐन जारी गर्ने उल्लेख छ ।

यस्तो छ नीति तथा कार्यक्रममा प्रस्तुत स्वास्थ्य सम्वन्धी १२ बुँदा :

१. स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ ।
२. महानगरबासीको स्वास्थ्य सेवा प्रवन्र्धन गर्न शहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी शहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिनेछ ।
३. शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाईनेछ ।
४. महानगरपालिकामा कर तिरेका कर दाताको स्वास्थ्यबीमा गर्न आवश्यक व्यवस्था मिलाईनेछ । बीमा शुुल्कमा बढीमा ५० प्रतिशत अनुदान उपलव्ध गराईनेछ ।
५. नागरिक आरोग्यता प्रवन्र्धन गर्न उपयुक्त आहार विहार र ध्यान योग प्रणायाम र सचेतना गरी महानगरबासीलाई निरोगी बन्न प्रेरित गरिनेछ ।
६. क्यालोरीमा आधारित उपभोग्य बस्तु लागू गर्न होटल रेष्टुरेन्ट भोजनालय चमेनागृह जस्ता संस्थालाई त्यस्तो कार्यमा पविधिक सेवा उपलव्ध गराईनेछ ।
७. काठमाडौँ उपत्यका भित्र रहेका सरकारी तथा निजी अस्पतालसंग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सा सेवामा सर्वसाधारण नागरिकहरुको पहुँच बृद्धि गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
८. महानगरपालिकाको क्षेत्र भित्र स्थायी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निशुल्क बेडको प्रवन्ध मिलाईनेछ ।
९. काठमाडौँ महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनको व्यवस्था मिलाईनेछ ।
१०. महानगर क्षेत्र भित्ररहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख व्यवस्थित गरिनेछ ।
११. एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ ।
१२. आयुर्वेद उपचार पद्धतीलाई प्रवर्धन गर्ने गरी जनस्वास्थ्य सेवा अभिबृद्धि गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *