कोभिडविरुद्धको खोप : २२ लाख डोज फाइजर (पेडियाट्रिक) आइतबार आउँदै
काठमाडौँ, ३ असार । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने कोभिडविरुद्धको खोप फाइजर (पेडियाट्रिक)को २२ लाख डोज आगामी आइतबार नेपाल भित्रने भएको छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकी सरकारले पठाउने सो खोप आगामी ९ असार देखि देशका २७ जिल्लामा सुरु हुने खोप अभियानका लागि पठाईनेछ ।
‘बच्चाहरुलाई दिनका लागि फाइजरको २२ लाख पेडियाट्रिक डोज खोप आइतबार अर्थात १९ तारिख नेपाल आउँदै छ । त्यसपछि हामीले सिधै पहिलो चरणमा सञ्चालन हुने जिल्लाहरुमा खोप पठाउँछौँ । ९ असार देखि नै खोप लगाउन सुरु नै हुन्छ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले भने ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै ९ देखि १५ असारसम्म २७ जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिईने योजना सार्वजनिक गरिसकेको छ । सोही समूहलाई साउन २ देखि ५ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने बताइएको छ । यस्तै दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको लागि खोप अभियान संचालन हुनेछ ।
यो उमेर समूहबा बालबालिकालाई ०.२ एमएल दिईने यो खोप बालबालिकाहरुलाई विद्यालयमै गएर दिईन्छ ।
खोप तथा खोपजन्य सामान नेपाल ल्याउन ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेसन (गाभी)ले सहयोग गर्दैछ ।
कुल ३९ लाख बालबालिकालाई दुई चरणको लागि करीब ८४ लाख डोज खोप सरकारले निशुल्क प्राप्त गरेको हो ।
सम्पर्क इमेल : [email protected]