गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदूरपश्चिमका सांसदहरुको माग

काठमाडौँ, ३० जेठ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सोमबार विहान प्रतिनिधिसभा र राष्ट्रिय सभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरु बालुवाटार पुगेर कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले गेटा मेडिकल कलेजलाई किन विश्वविद्यालय बनाउन आवश्यक छ भन्ने विषयमा बुँदागत रुपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

विकास निर्माणको दृष्टिकोणबाट पछि पारिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म स्वास्थ्य क्षेत्रतर्फ भरपर्दो आधार निर्माण हुन सकेको छैन। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको काम निकै ढिलो भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अहिले सरकारले डडेलधुरामा पनि मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ। त्यहाँ कलेज स्थापना हुनु आफ्नो ठाउँमा उपयुक्त नै होला तर, भौतिक संरचनालगायतका थुप्रै संरचना निर्माण भइसकेको गेटाका विषयमा प्रष्ट रुपमा सरकारको ध्यान गएको देखिएको छैन।’

विश्वमा धेरैजसो स्वास्थ्य क्षेत्रका लागि नै भनेर विश्वविद्यालय स्थापना गरिएका प्रशस्त उदाहरण भए पनि नेपालमा त्यसको व्यवस्था अझै नथालिएको सांसदहरुको भनाइ छ।

यस्तो छ ध्यानाकर्षण पत्र

१. प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अघि बढाउँदा सुदूरपश्चिम मात्रै होइन समग्र नेपालमै स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, सन्धान, अनुसन्धान गर्नेदेखि लिएर अध्ययनका लागि पनि आफ्नै क्षेत्रमा वातावरण बन्ने छ। जसबाट वर्षेनी करोडौं रुपैयाँ मेडिकल शिक्षाका लागि बाहिर गइरहेको छ त्यो रोकिने छ।

२. वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेका नागरिकहरुले अहिले पनि नेपालगञ्ज, चितवन, काठमाडौं वा भारतका विभिन्न ठाँउहरुमा धाउनुपर्ने बाध्यता छ। जसले गर्दा गम्भीर प्रकृतिका बिरामीले सास्ती खेप्नु परेको छ। गेटा मेडिकल विश्वविद्यालय निर्माण भए त्यसबाट नागरिकले सर्वसुलभ र प्रभावकारी सेवा लिन सक्नेछन्।

३. स्वास्थ्य क्षेत्रमा ठूलो रुपान्तरण हुनेछ। त्यसले समग्र सुदूरपश्चिमको आर्थिक गतिविधिदेखि स्वास्थ्य पर्यटन लगायतका अन्य विविध विषयमा पनि मद्दत पुगाउने छ।

४. विश्वविद्यालय स्थापना भएमा देशभित्र र देश बाहिरबाट पनि ठूलो मात्रामा जनशक्ति फर्केर आउने छन्। यहाँ विश्वविद्यालय स्थापना भएपछि स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। जसबाट विदेशीएको जनशक्ति पनि आफ्नै क्षेत्रमा आएर सेवा दिनका लागि अग्रसर हुने अवस्था पनि सिर्जना हुनेछ।

५. विश्वविद्यालयको स्थापना भएसँगै यसले कैलालीको गेटा क्षेत्र मात्रै होइन समग्र सुदूरपश्चिम र देशकै स्वास्थ्य अवस्थामा देखिएको समस्यामा आमुल परिवर्तन ल्याउने छ। मुख्यगरी सुदूरपश्चिमका पहाडी जिल्ला र तराईंका जिल्लाहरुमा पनि अहिले नागरिकलाई पाउँदै आएको स्वास्थ्य सेवाभन्दा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्ने छ।

६. विश्वविद्यालय स्थापना भएसँगै यहाँ मेडिकल शिक्षाका विभिन्न कार्यक्रमहरु जस्तै, फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजियोथेरापी, डेन्टल, अप्टोमेट्री र फड साइन्स लगायत आधुनिक चिकित्सा विज्ञानका नयाँ र आवश्यक विधाका कोर्सहरु सञ्चालन हुनेछन्। यसबाट दक्ष जनशक्ति उत्पादन गर्नेछ। विभिन्न विदेशी विद्यार्थी, प्राध्यापक लगायतका अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरू पनि यहाँ आउनेछन्। जसका कारणले यस प्रदेशको समग्र विकासको प्रकृयाले गति लिनेछ।

७. विश्वविद्यालय स्थापना गरेर अघि बढ्न सकेको खण्डमा आम नागरिकले पनि मेडिकल अध्ययनका लागि अवसर प्राप्त गर्नेछन्। बढ्दो बेरोजगारी समस्याले उत्पादन भएका जनशक्ति विदेशीनु पर्ने जुन समस्या छ त्यसलाई न्यूनीकरण गर्ने कार्य हुनेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *