बाँकेका थारू समुदायमा ‘सिकल सेल’ का बिरामी बढ्दै

नेपालगञ्ज, ३० जेठ । बाँकेका थारू समुदायमा सिकल सेल तथा थाल सेमिया रोगको प्रकोप अधिक मात्रामा देखिएको छ। सिकल सेल तथा थाल सेमिया रोगले थारू समुदायलाई गाँज्दै लगेको छ।

जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ठूलो संख्यामा थारू समुदायका मानिसलाई यो रोग देखापरेको छ।

राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै एक सय ५० जनाको स्याम्पल जाँच गर्दा २१ जनालाई सिकल सेल रोग देखिएको छ।
स्वास्थ्य कार्यालय, बाँकेले दश दिनदेखि त्यस क्षेत्रमा सिकल सेल तथा थाल सेमिया रोगको स्याम्पल जाँच गरिरहेको छ।

कार्यालयले यो अवधिमा चार सय जनाको स्याम्पल जाँच गरिसकेको छ। त्यस मध्येमा एक सय ५० जनाको नतिजा आएको हो। बाँकीको नतिजा आउँदैछ।

नतिजा आएका मध्ये ३१ प्रतिशतलाई रोग देखा परेको छ। भेरी अस्पतालमा सिकल सेल जाँचगर्ने ‘केमिकल’को अभाव रहेकाले फटाफट नतिजा आउन सकेको छैन्।

गाउँबाट फटाफट स्याम्पल जाँच गरेर भेरी अस्पतालमा दिइए पनि केमिकल अभावले त्यसको नतिजा छिटो आउन सकेको छैन्। ‘केमिकल अभावले जाँच ढिलो भएको छ, भेरी अस्पताल स्रोतले भन्यो, हामीले व्यवस्था गरिरहेको छौँ।’

स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकल सेल तथा थाल सेमिया भन्ने लुकेको समस्या धेरै रहेको बताए। ‘पश्चिम नेपालका थारू जातीमा यो रोग १३ प्रतिशत रहेको अध्ययनले देखाएको छ।’

बाँकेका थारू समुदायमा पनि रोग अधिक देखा परेको छ। स्वास्थ्य अधिकृत श्रेष्ठले भने,‘बैजापुरमा मात्रै एक सय ५० जनामा २१ जनालाई रोग देखा परेको छ।’

स्वास्थ्य अधिकृत श्रेष्ठले दुई हजार मानिसको स्याम्पल जाँच गर्ने रणनीति अनुसार कार्यक्रम अघि बढेको बताए।

गाउँघरमै पुगेर गरिएको परीक्षणमा भेटिएका रोगीलाई त्यही डाक्टर लगेर उपचार गर्ने तयारी रहेको छ। असार महिनाभरी स्याम्पल जाँच हुनेछ।

बाँकेको कोहलपुरमा नगरपालिका आफैले सिकल सेल जाँच गरेको छ। कोहलपुर नगरपालिकाले नौ हजार मानिसको स्याम्पल जाँच गर्दा सात सयमा रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ।

जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ।

पश्चिम तराईको बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा सिकल सेलको समस्या अधिक रहेको छ। यो क्षेत्रमाथारु समुदायको बसोबास बाक्लो छ।

अरु समुदायमा पनि फाटफुट देखिएको सिकल सेल थारू समुदायमा अधिक रहेको रिपोर्टले देखाएको छ। थारू समुदायमा अधिक देखिएकाले सिकल सेललाई जनस्वास्थ्य समस्या मान्दै सरकारले उपचारको व्यवस्था मिलाएको छ।

भेरी अस्पताल, नेपालगञ्जमा यसको उपचार व्यवस्था मिलाइएको छ।

सिकल सेल लामो समय सम्मपत्ता नै लागेको थिएन। नेपालगञ्जका डाक्टर राजन पाण्डे लगायतले यो रोग पत्ता लगाएको बताउने गरिन्छ।

रोग पत्ता लागेपछि र थारुमा अधिक देखिएपछि सरकारले जनस्वास्थ्य समस्या मान्दै जाँच र उपचारको व्यवस्था मिलाएपनि बेला-बेलामा सुविधा रोकिने गरेको छ।

रोग लागेका व्यक्तिको एकैपटक मृत्यु भइनहाले पनि विस्तारै यसले गलाउने गरेको छ। विगतमा औलोसम्म लडेर बसेका थारू समुदायका मानिसलाई सिकल सेल देखिएको डा।राजन पाण्डेको भनाई छ। ‘औलोले मर्ने मरिहाले। बचेकालाई सिकल सेल देखियो, डा।पाण्डेको भनाई छ, यो वंशाणुगत रोग हो।’

सिकल सेल भएका व्यक्तिले अर्को समुदायसँग विवाह गरेमा जन्मिने बच्चामा रोग देखा नपर्ने सम्बद्धहरु बताउँछन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *