किन अन्योलमा पर्‍यो पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) दिने सरकारी कार्यक्रम ?

काठमाडौँ, २२ बैशाख । सरकारले तीन वर्ष अघिकै नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशबाट एक जिल्ला छनौट गरी कुल सातवटा जिल्लामा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी दिने बताएको थियो । तर सो योजना अहिलेसम्म अलपत्र परेको छ ।

खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले एचपीभी खोप कार्यक्रम कार्यान्वयनमा आउन अझै केही समय लाग्ने बताएको छ ।

‘हामीले छिटै ल्याउन खोजेका हौँ तर खोप निर्माता कम्पनीहरुले कोभिडविरुद्धको खोपमा केन्द्रीत हुँदा यो खोप अपेक्षाकृत उत्पादन हुन सकेन । त्यसले गर्दा हामीले योजना अनुसार खोप ल्याउने अवस्था रहेन । सन् २०२३ / २०२४ सम्ममा पक्कै आउँछ,’ परिवार कल्याण महशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालले भने ।

उनले नेपाललाई खोपमा सहयोग गर्दै आएको संस्था ग्लोवल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)मा खोपका लागि निवेदन हाल्ने तयारी भएको समेत जानकारी दिए ।

‘पहिले हामीले किन्ने भनेका थियौँ तर कोभिडका कारण त्यो सम्भव देखिएन । अव गाभीले हामीलाई एचपीभीका लागि एप्लीकेशन हाल भनेर इमेल पठाएको छ । हामीले सन् २०२३/ २०२४ बाट देशव्यापी रुपमा यो खोप प्रयोगमा ल्याउने गरी कार्यक्रम अघि बढाउँदै छौँ,’ उनले भने ।

यसो त चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्षसम्मका ६ हजार किशोरीहरुलाई यसैबर्ष यो खोप दिने योजना बनाएको छ । यस्तै निजी क्षेत्रले सशुल्क रुपमा पनि यो खोप उपलव्ध भएको बताएका छन् ।

पाठेघरको मुखको क्यान्सर रोक्नका लागि यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउँछ । यो खोप छ महिनाको अन्तरालमा दुई पटक दिइन्छ ।

कसरी लाग्छ पाठेघरको मुखको क्यान्सर ?

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेल भन्छन्, ‘विवाहित महिलामा देखिने पाठेघरको मुखको क्यान्सर एउटा नदेखिने किरा (जम्स)ले गर्दा हुने गर्दछ । त्यसलाई भाइरस पनि भनिन्छ । त्यसको नाम ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) नामले चिनिन्छ । यो भाइरस यत्तिकै महिलाको पाठेघरसम्म पुग्दैन् । जब महिला र पुरुषबीच शारीरिक सम्पर्क अर्थात यौन सम्पर्क हुन्छ त्यसबेला पुरुषद्धारा महिलामा सर्न सक्छ । अर्थात पुरुषविना यो भाइरस आफै महिलाको पाठेघरसम्म पुग्दैन् । महिलामा भाइसर सर्ने माध्यम पुरुष हो ।’

उनी अगाडी थप्छन्, ‘तर यौन सम्पर्क गर्नासाथ नै यो भाइरस देखिन्छ भन्ने छैन् । नसर्न पनि सक्छ । यदि सरेको रहेछ भने पनि आजको भोली नै असर देखिदैन । असर देखिनका लागि कम्तिमा ५ -१० वा १५ वर्षसम्म पनि लाग्न सक्छ । अर्थात यसले एकदमै मन्द गतिमा आफ्नो प्रभाव देखाउन सक्छ ।’

त्यसो त ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० भनेको भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

एचपीभी -१६ र एचपीभी -१८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गदाउँछन् ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का अनुसार सन् २०२० मा मात्रै संसारभर ६ लाख ४ हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको अनुमान छ । त्यहिवर्ष वर्ष सोही रोगका कारण ३ लाख ४२ हजारको ज्यान गएको डव्लुएचओले जनाएको छ ।

नेपालमा पनि एक लाख महिलामध्ये १९ जनामा यो समस्या रहेको अनुमान छ । बर्षेनी करीब २ हजार जना नेपाली महिलाहरुको यसै समस्याका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *