ट्रान्सफ्याट भनेको के हो ? यसले मानव स्वास्थ्यलाई कस्तो असर गर्छ ?

– डा. प्रेम राज वैद्य, सिनियर कार्डियो भास्कुलर सर्जन

साधारण भाषामा ट्रान्सफ्याट भनेको हानिकारक चिल्लो पदार्थ भनेर बुझ्न सकिन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ ।

एउटा प्राकृतिक ट्रान्सफ्याट र अर्को कृत्रिम ट्रान्सफ्याट ।

प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा खासै हानि हुँदैन ।

कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पुर्‍याउँछ । यस्तो खालको चिल्लो पदार्थ कोठाको सामान्य तापक्रममा जम्ने गर्छ ।

अब फ्याटि एसिडबारे पनि जानौँ ।

फ्याट अर्थात फ्याटि एसिड दुई किसिमका हुन्छन् । एउटा स्याचुरेटेड र अर्को अनस्याचुरेटेड ।

तेललाई जति धेरै तताइन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै स्याचुरेटेड फ्याट हुन्छ । अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ । एउटा पोलीअनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनोअनस्याचुरेटेड फ्याटी एसिड ।

मोनोअनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट ।

यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक छ ।

यसको असर कस्तो हुन्छ ?

ट्रान्सफ्याट मिसिएकाखाना खाँदा त्यसले मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पु र्‍याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरु गरिएको हो ।

पहिले हामी अनस्याचुरेटेड फ्याट वा वनस्पति तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ (डाल्डा) भन्ने गरिन्छ । यो वनस्पति घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ ।

वनस्पति घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानवस्वास्थ्यका लागि निकै खराब हो । यसले स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्‍याउँछ ।

यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातनिकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ ।

ट्रान्सफ्याट धेरै भएको खानेकुरा खाएपछि यसले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । फाइदा गर्ने कोलेस्ट्रोल एचडीएल घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल एलडीएल बढाउँछ । अहिलेसम्म पत्ता लागे अनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात हुन्छ ।

धमनीमा अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक (मस्तिष्क घात) पनि हुन सक्छ रहृदयघात पनि हुन सक्छ ।

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने हो त ?

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाहिँ होइन, पूरा तेलको २ प्रतिशत भन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा हुन्छ ।

कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकोले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । त्यसकारण यस्ता ट्रान्सफ्याट युक्त तेल – घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवा लगायत अन्य तयारी जंक फूडहरु नखानु नै राम्रो हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *