औषधि खरीदमा अनियमितताको आरोपमा वडाध्यक्ष र स्वास्थ्य संयोजक सहित चार जना विरुद्ध मुद्धा

काठमाडौँ, ११ चैत । औषधि खरीदमा अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाको वडाअध्यक्ष, स्वास्थ्य संयोजक, तत्कालिन प्रशासकीय अधिकृत र तत्कालिन लेखापालविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले औषधि खरीदमा ८ लाख रुपैयाँ अनियमितता गरेको भन्दै सर्केगाड गाउँपालिका ३ का वडाअध्यक्ष गजबहादुर रावत, गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालिन प्रशासकीय अधिकृत यज्ञराज पाण्डे र तत्कालिन लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध मुद्धा दायर गरेको हो ।

अख्तियारले आरोपित चार जनाले आपसी मिलोमतोमा औषधि खरीद तथा ढुवानीको नक्कली बिल भरपाई बनाई विभिन्न व्यक्तिको नाममा रकम वितरण गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

यस्तो छ विज्ञप्ती

 

प्रेस विज्ञप्ति:- मिति २०७८।१२।१० गते ।
—————————————————-

जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, सर्केगाड गाउँपालिकाका तत्कालीन लेखापाल सुरत बहादुर रेश्मीसमेतले आफू वा अन्य व्यक्तिलाई लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको, बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गर्नुको साथै भुक्तानीसमेत गरी नेपाल सरकारलाई गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कागजात तयार गरी भुक्तानी लिई रु.८,००,०००।- हिनामिना गरेको हुँदा सो कार्यमा संलग्न वडाध्यक्ष गज बहादुर रावत, स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत वहादुर रेश्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा रु.८,००,०००।- (आठ लाख रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिमको अधिकतम कैद तथा खुल्न आएको विगो प्रतिवादीहरूबाट असुलउपर गरी बिगोबमोजिमको जरिवानासमेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *