मिर्गौला जोगाउन : सरकारले के गर्ने ? स्वदेशमा रहनेले के गर्ने ? वैदेशिक रोजगारीमा जानेले के गर्ने ?

– प्राडा दिव्या सिंह शाह, बरिष्ठ मिर्गौला रोग विशेषज्ञ

मिर्गौला रोगको उपचारमा सरकारको तर्फबाट अहिलेसम्म जे जति सहयोग भएको छ, राम्रो नै छ । अर्थात सरकारले मिर्गौला रोगको उपचारमा जनतालाई मद्धत गरिनै रहेको छ तर अब भने मिर्गौला रोगको रोकथामको लागि पनि सरकारले ध्यान पुर्‍याउनु पर्छ । त्यसका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याउनु पर्छ ।

हामी सबैलाई थाहा छ, मिर्गौला एक खर्चिलो रोग हो । मिर्गौला फेल भइसकेपछि यसको उपचार गर्दा धेरै खर्च लाग्छ । त्यसैले यो रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो हो ।

‘यो कसरी गर्ने ?’ भन्ने प्रश्न उठ्न सक्छ । म भन्छु त्यसका लागि व्यापक रुपमा जनचेतना जगाउनु आवश्यक छ । अर्थात अब जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ ।

अर्को मलाई लागेको कुरा, अब हामीले विद्यालय तह देखि नै वर्षको एक पटक मिर्गौला परीक्षणको कार्यक्रम अघि सार्नुपर्छ । विद्यार्थी र शिक्षकहरुको विद्यालय कलेज तथा विश्व विद्यालय अर्थात सबै शैक्षिक प्रतिष्ठानमा हुनेहरुले वर्षको एक पटक मिर्गौला जाँच गराएकै हुनुपर्ने नियम ल्याउनु पर्छ । यस्तै सबै सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारी वा कामदार सबैले यसैगरी परीक्षण गराउनु पर्छ । त्यसलाई बरु हामीले सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमसंंग जोडेर लैजान सकिन्छ ।

आम सर्वसाधारणले जो आफूलाई स्वस्थ छु भनेर ठान्छौं त्यस्ता व्यक्तिहरुले पनि वर्षमा एक पटक मिर्गौला जाँच गराउँ । रोग लागे पनि नलागे पनि बर्षमा एक पटक मिर्गौला जाँच गरौँ ।

३० वर्ष माथिका हरेक व्यक्तिले आफ्नो उच्चरक्तचाप, मधुमेह, पिसाव जाँच गराउने बाँनी गरौँ । यस्तै जसको घरमा मधुमेह वा मिर्गौैलाका बिरामीहरु हुनुहुन्छ त्यो व्यक्ति बढी जोखिममा रहने भएकोले विशेषगरी आफ्नो जाँचहरु नियमित गराउनुपर्छ ।

हातखुट्टा सुन्निने, आँखाको डिल सुन्निने, या पिसावमा फिज आउने भएको छ भने पनि थप परीक्षणका लागि सजग बन्नु पर्छ ।
यस्तै जथाभावी रुपमा औषधि खानु हुँदैन् । खानै परे डाक्टरको सल्लाहमा मात्रै खानु राम्रो हुन्छ ।

वैदेशिक रोजगारीमा जानेले के गर्ने ?

हामीले वैदेशिक रोजगारीमा विशेषगरी खाडी मुलुक जाने नेपालीहरुमा पनि मिर्गौला सम्वन्धी धेरै समस्या पाएका छौँ । मेरो सुझाव के छ भने त्यहाँ जानु भएका सबैले खानपानमा ध्यान दिऔँ । स्वस्थ खाना खाँऔँ । गर्भी ठाँउ भएकोले पनि पानी लगायतका झोल पदार्थहरु बढी खाऔं ।

अर्को कुरा बैदेशिक रोजगारीमा जानेहरु सबैको स्वास्थ्य बीमा हुँदो रहेछ । त्यसैले समय समयमा स्वास्थ्य जाँच गरेर आवश्यक परेमा औषधि खाई हाल्ने बाँनी बसालौँ ।

मैले सुनेको छु, स्वास्थ्य बीमा भए पनि बैदेशिक रोजगारीमा जानेहरुले स्वास्थ्य परीक्षण गराउँदा केही समस्या देखियो भने रोजगारी नै गुमाउन पर्न सक्छ भनेर कसै कसैले आफ्नो गर्नु पर्ने स्वास्थ्य परीक्षण नगर्ने चलन पनि हुँदो रहेछ ।

तर म के भन्छु भने स्वास्थ्य परीक्षण नगरी बस्दा मिर्गौला फेल हुने जस्तो गम्भीर रोग लाग्यो भने त्यो रोजगारी र त्यो पैसाको के काम ? बरु परीक्षण गर्दा समयमै पत्ता लाग्यो भने उच्च रक्तचाप तथा मधुमेहको औषधि खाएर पनि हामीले त्यहाँ रोजगारी गर्न सक्छौँ । त्यसैले स्वास्थ्यलाई ध्यान दिऔँ । नियमित स्वास्थ्य परीक्षण गराउँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *