सिमुलेसन ल्याव सञ्चालन गर्दै वीर अस्पताल
के हो सिमुलेसन ल्याव भनेको ?
काठमाडौँ, २५ फागुन । चिकित्सकहरुको सीप विकास गर्न तथा जाँच गर्न वीर अस्पतालले सिमुलेसन ल्याव सञ्चालन गर्ने भएको छ । अस्पतालले सञ्चालन गर्न लागेको ल्यावमा अहिले अप्रेशन र आइसीयूको स्किल टेष्ट गर्ने संरचना बनाईदै छ ।
ल्यावका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको अलावा विश्व स्वास्थ्य संगठन, नेपाल अमेरिका मेडिकल फाउन्डेसनले सहयोग गर्दैछ । यता राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पनि सो ल्याव सञ्चालनका लागि सहकार्य गर्ने बताएको छ ।
‘सिमुलेसन ल्याव एक खालको अस्पताल सेटअप नै हो । त्यहाँ हुने उपकरण पनि उहि नै हो । काम गर्ने चिकित्सक नर्स पनि उनी नै हुन् । बिरामी मात्रै डमी हुन्छ । फरक यत्ति हो,’ अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले भने ।
उनले सिमुलेसन ल्यावको अवधारणा साच्चिकै बिरामीको अप्रेसन गर्नु अघि डमीमा आफ्नो सिप परीक्षण गर्नु रहेको बताए ।
‘सर्जरी तथा आइसीयूमा काम गर्ने चिकित्सक तथा नर्सले त्यहाँ गएर आफ्नो सिप तिखार्ने र त्यसपछि मात्रै साच्चिकै बिरामीको उपचारमा सहभागी हुने हो । त्यहाँ डमिका बिरामीमा अप्रेसन हुन्छ, आइसीयूमा राखिन्छ । त्यहाँ अप्रेसन गर्दा प्रक्रिया मिल्यो कि मिलेन ? आइसीयूमा राख्दा के के कुरामा ध्यान दिनुपर्छ, त्यो भयो कि भएन भनेर मोनिटर समेत भइरहेको हुन्छ,’ प्राडा बस्नेतले भने ।
उनले विकसित देशहरुमा सिमुलेशन ल्याव हुने गरेको भएपनि नेपालका लागि भने यस्तो खालको ल्याव पहिलो भएको बताए ।
‘विदेशमा नयाँ चिकित्सक तथा नर्सले एकैपटक बिरामी व्यक्तिमा गएर काम गर्न पाउँदैन् । पहिले डमीमै सबै काम र सिप सिकेर हात बसेपछि मात्रै बिरामीको अप्रेशन गर्न पाउँछ । हामीकहाँ त त्यस्तो सिक्ने ल्याव नै थिएन । त्यसैले सरासर बिरामीलाई नै हेर्नुपर्ने हुन्थ्यो । यो ल्यावले नेपालको चिकित्सा क्षेत्रको विकासका लागि कोशेढुंगा हुनसक्छ’ डा. बस्नेतले भने ।
वीरको छैटौ तलामा सिमुलेसन ल्यावको लागि स्पेश छुट्याएर उपकरणहरु जोड्ने प्रक्रिया सुरु भईसकेको छ । छिटै नै यो सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको डा बस्नेतले बताए ।
उनले उनले वीर अस्पतालको सञ्चालनमा रहने भएपनि ल्यावमा निश्चित शुल्क तिरेर अन्य सरकारी तथा निजी अस्पतालहरुले पनि आफ्ना डाक्टरलाई स्किल टेष्ट गराउन सक्ने बताए ।
सम्पर्क इमेल : [email protected]