अब भन्नुस्, ……… यो भन्दा खुशी म कहाँ खोजु ?

  • सुशीला वली

म नाइट डिउटीमा थिएँ ।

एक जना मान्छेले ‘अस्पताल बाहिर एम्बुलेन्समा नै एक जना महिला डेलिभरी हुनु भएको छ’ भनेर जानकारी दिनुभयो ।  डिउटीमा भएका हामी केही नर्स दौडदै एम्बुलेन्स तर्फ गयौँ । त्यहाँ पुग्दा सुत्केरी भएकी आमा रगतले लुछुप्पै भिजेकी थिईन । उता बच्चा आमाबाट छुट्टै भुईमा मरेको अवस्थामा थियो ।

……………………………………………………….

मैले बच्चा जन्मेको कतिवेला हो ? भनेर सोध्दा ‘यहाँ आईपुग्नु भन्दा करीव आधा घण्टा अघि हो,’ भनेर एक जना कुरुवाले भन्नुभयो ।

हिस्ट्री लिने क्रममा उहाँले थप के पनि भन्नुभयो भने ‘बच्चा उल्टो रहेछ ।’  कुरुवाले अगाडी थप्नुभयो, ‘जन्मनु भन्दा एक घण्टा अघि नै बच्चा निस्केको हो तर वल्ल तल्ल हातखुट्टा त आयो तर टाउको अडकियो । त्यसपछि बच्चा छटपटिएको देख्दा आत्तिएर तान्न खोज्यौँ तर आएन । बच्चा धेरैबेर चलेको थियो अनि आफै चल्न छोड्यो र केही समय पछि बच्चा आफै निस्कियो । तर बच्चा रोएन, शरीर छाम्दा पनि चिसो थियो । बच्चा मरेको भनि हामीले त्यसपछि छोएनौँ । जुन ठाँउमा जन्मेको हो त्यहि छाड्यौँ र अब जे होला होला आमालाई त बचाउनु परयो भनेर यहाँ ल्याएको ।’

पछि थाहा भयो सुत्केरी हुने महिलाको घर  पञ्चपुरी -९ सुर्खेतमा रहेछ । दिउसो कुकुरले समेत टोकेछ । घरमा जाने बुझेको मान्छे कोही नभएकोले अमाजु दिदी र फुपुले लिएर आएको रहेछन् ।

…………………………………………

उनीहरुसंग कुरा गरिरहे पनि मेरो ध्यान सुरु देखि नै बच्चामा थियो । शरीर छामें चिसो र हलचल नि गर्दैन । सुरुमा त मलाई पनि लाग्यो बच्चा मरिसकेछ । उसको मान्छेलाई पनि बच्चा राम्रो नभएको भनि जानकारी गरायौँ र हतार हतार बच्चा बोकी लेवर रुम तर्फ दौडिएँ ।

थाहा छैन मलाई, तर मनमा कता कता बच्चा बाच्छ जस्तो लाग्यो । अनि बच्चाको धडकन सुन्न थालें । तर सुनिएन । ढिलो नगरी बच्चालाई कृतिम स्वास दिन थालें । एकछिनमा बच्चाको नाभी हल्लिए झैँ लाग्यो । सुस्त हात लगेर छामें । नाभीको नसा चलेको थियो तर एकदमै कम ।

हरेस नखाई बच्चा बचाउने आशामा लगातार कृतिम श्वास प्रश्वास गराउन थालें र डाक्टरलाई खबर गर्न भनें । बीच बीचमा बच्चाको अवस्था जाँच गर्दै श्वास दिई राखेँ । बच्चाको धडकन अघि विस्तारै बढेको महसुस भयो । यद्धपी उसले आफै सास फेर्न सकिरहेको थिएन । यसले मलाई दुखी त बनाउथ्यो तर बच्चाको मुटुको चालले भने खुशी बनाउथ्यो ।

१५ – २० मिनेटको प्रयासपछि बल्ल बच्चा रोयो । तर, राम्रो रुवाई थिएन । त्यसैले अक्सिजनमा राखेर न्यानो कपडामा बेरेर राखें ।

त्यसबेलासम्म डाक्टर पनि आउनु भयो र बच्चाको अवस्था हेरेर खुशी हुँदै बच्चालाई एनआईसीयूमा राख्न सल्लाह दिनुभयो । बच्चालाई एनआईसीयूमा सारियो र अक्सिजन लगातार दिईयो । दोस्रो दिनपछि भने बच्चालाई अक्सिजन आवश्यक भएन ।

आज उ पाँच दिनको भएको छ । अरु बिरामी बच्चा भन्दा टाठो छ । अब भन्नुस् – यो भन्दा खुशी म कहाँ खोजु, ? भन्दा घमण्ड गरेको झैं लाग्ला तर म आफ्नो पेशामा खुशी छु । आफ्नो काम खुशी र लगनका साथ गर्नुहोस एकचोटी सफल भइनेछ । आफूले गरेको मेहनतको फल राम्रो हुँदा हृदय फुलेर आउँदो रहेछ ।

मेरो डिउटी पार्टनर हरिमाया गुरुङ दिदी, एसबीए स्टुडेन्ट, डा सिर्जना, एनआईसीयू स्टाफ र सबै डिउटीमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारी साथीहरुमा धेरै धेरै धन्यवाद ।

(# यो प्रेरणादायी विवरण लेख्ने नर्स सुशीला वली कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत हुन् । उनको यो विवरण र तस्विर सामाजिक सञ्जालबाट लिईएको हो ।)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *