‘बतासे’ ओमिक्रोनले नेपालमा कस्ता लक्षणहरु देखाउँदै छ ?

 

डा. शेरबहादुर पुन

कोरोना भाइरस अर्थात कोभिड -१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को हर्कतलाई लिएर विश्वभर दर्जनौ अनुसन्धानात्मक लेखहरु प्रकाशित भैसकेका छन् ।

ती अनुसन्धाननात्मक लेख र ओमिक्रोन प्रभावित देशहरुकै अनुभवलाई आधार मान्ने हो भने यो भाइरस विद्युतीय गतिमा वा भनौ बतासको गतिमा फैलनसक्ने क्षमता विकास गरेको तर घातकतामा डेल्टा भन्दा कम असरदार देखिएको छ।

ओमिक्रोनले अहिलेसम्म विश्वमा देखाइरहेको हर्कत नेपालमा परिवर्तन भएन भने वा अपवाद नदेखिए हामी त्रसित हुने पर्ने देखिदैन् ।

छिमेकी मुलुक भारतकै कुरा गरौं न ! संक्रमितको संख्या दैनिक लाख माथि पुगिसक्यो,  अस्पतालमा भर्ना भएर उपचार गराउनेको प्रतिशत भने कमै छ । त्यहाँका चिकित्सकहरुले अधिकांश संक्रमितमा लक्षणहरु नदेखिएका र लक्षण देखिएकाहरुमा पनि सामान्य मात्र हुने गरेका छन् । उनीहरुले आफ्नो देशको तथ्यांक प्रस्तुत गर्दै भनेका छन, ‘डेल्टा भेरियन्ट र हाल देखिएको ओमिक्रोन भेरियन्टको समान संक्रमितको संख्यालाई तुलना गरेर हेर्दा मृत्युदर पाँच गुणाले कम छ ।’

बेलायतमा पनि अघिल्लो लहर अर्थात डेल्टा भेरियन्टको पालामा र अहिले चलेको लहर अर्थात ओमिक्रोन भेरियन्टको पालामा पुष्टि भएका समान संक्रमितको संख्यामा मृत्युको अनुपात हेर्दा अहिले झन्डै दश गुणाले कम देखिएको छ ।

दक्षिण अफ्रिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानले पनि ओमिक्रोन संक्रमितहरु डेल्टा भेरियन्ट संक्रमितहरुमा भन्दा अस्पताल जानुपर्ने पर्ने अवस्थामा ८० प्रतिशतले कम हुने देखाएको थियो। यो अनुसन्धानको नतिजा विश्वको लागि राम्रो संकेत मान्न सकिन्छ।

दक्षिण अफ्रिकी चिकित्सकहरुको भनाई अनुसार ओमिक्रोन संक्रमितमा अत्यधिक थकान हुने, जिउ तथा टाउको दुख्ने तथा खोकी लाग्ने जस्ता मुख्य लक्षणहरु थिए।

बेलायतमा ओमिक्रोन संक्रमितमा देखिएको लक्षणहरुको बारेमा गरेको सर्बेले सबै भन्दा बढीमा थकान हुने, टाउको दुख्ने, घाटी दुख्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, हाछियु आउनु जस्ता देखिएका थिए । ज्वरो, खोकी तथा स्वादरगन्ध थाहा नपाउने जस्ता क्लासिकल लक्षणहरु धेरै कम केशमा देखिएका थिए।

केही दिन अघि त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्बजनिक गरेको विज्ञप्तीले २२ प्रतिशतमा ओमिक्रोनले अघिल्लो भेरियन्टलाई प्रतिस्थापन गरेको देखिन्छ। तर सो विज्ञप्तीमा उनीहरुको स्वास्थ अवस्थाको बारेमा भने उल्लेख गरेको थिएन।

हामी कहाँ कस्तो छ ?

म कार्यरत टेकु अस्पतालमा एक हप्ता यता रुघा खोकी जस्तो लक्षणहरु लिएर आउनेहरुको संख्या ह्वात्तै बढेको छ । अर्को चाखलाग्दो कुरा के थियो भने, ती सबैलाई फ्लुको परीक्षण गर्दा नेगेटिभ तर कोरोना भने पोजिटिभ देखिएका थियो । पीसीआर परीक्षणबाट ओमिक्रोन हो की डेल्टा भनेर छुट्याउन त सकिदैन तर स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ती र त्यसमा दिईएको तथ्यांकलाई विश्लेषण, संक्रमणको तिब्रता क्षमता र लक्षणहरुलाई आधार मान्ने हो भने ओमिक्रोन संक्रमित भएको अनुमान गर्न सकिन्छ।

पछिल्ला दिनमा टेकु अस्पतालमा उपचारका लागि आएका संक्रमितहरुमा निम्न अनुसारका लक्षणहरु धेरैमा देखिएका छन् :

१. अत्यधिक थकान महसुस हुने।
२. टाउको र शरीरका दुख्ने।
३. घाटी खास खास हुने र दुख्ने।
४. हल्का शरीर तातिएको महसुस हुनु।
५. नाकबाट पानी आउने वा बन्द हुने।

यी लक्षणहरु कमन कोल्डसंग पनि मिल्दो जुल्दो देखिन्छ। तसर्थ लक्षणको आधारमा ओमिक्रोन र कमन कोल्ड छुट्याउन भने सहज हुने छैन। पुस महिनामा संकलन गरेका नमुना मध्येमा २२ प्रतिशतमा ओमिक्रोन देखिएको भए पनि सोहि अनुपातमा आजको मितिसम्म भने अस्पतालमा चाप वा संक्रमितको मृत्यु ह्वात्तै बढेको भने देखिदैन।

तर पनि खोप नलगाएका वा पहिले संक्रमित भै नसकेकाहरु भने ओमिक्रोनको जोखिममा पर्दछन। तसर्थ लक्षित गरेको समुदायलाई जति सक्दो चाडो खोप लगाउने व्यवस्था गर्न अति जरुरी हुनेछ।

# डा. पुन टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *