‘ओमिक्रोन भेरियन्ट’ र सम्भावित अनुमानहरू

- नेपाली हेल्थ
डा. शेरबहादुर पुन

गत २६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले दक्षिण अफ्रिकी कोरोना भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गरिदिएको थियो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिदिएको छ ।

हाल यो भाइरसले पार्न सक्ने सम्भावित प्रभावको विषयलाई लिएर विश्व तरंगित भएको छ।

नयाँ भेरियन्टको वास्तविक तथ्यहरु आउँन बाँकी नै छ तर अनुमानहरु गरिने क्रम भने रोकिएको छैन् ।

यी अनुमानहरु ‘ओमिक्रोन भेरियन्ट’ को विशेष गरेर ‘स्पाईक प्रोटिन’  मा देखिएका अत्यधिक म्यूटेशनमा आधारित छन। अब ‘स्पाईक जीन’ नै किन ? भन्ने प्रश्न धेरैको मनमा उत्पन्न भएको हुनसक्दछ।

‘स्पाईक प्रोटिन’ कोरोना भाइरसको बाहिरी सतहमा हुने गर्दछ। यसैको सहयोगमा भाइरस मानिसको कोषिका भित्र प्रवेश गर्ने गर्दछ। रोग प्रतिरोधात्मक प्रणालीले प्रतिक्रिया पनि यहि प्रोटिनप्रति लक्षित गर्ने गर्दछ।

‘स्पाईक प्रोटिन’ मा व्यापक म्यूटेशन भएको ‘ओमिक्रोन भेरियन्ट’ ले संक्रमित गरे केहि सम्भावित समस्याहरुको सामना गर्नु पर्ने अनुमानहरु गरेका छन् र यही अनुमानका आधारमा नै यस भाइरसप्रति विश्वले चासो, चिन्ता र प्रतिक्रिया देखाएका हुन् । देशहरुहरुले आफूकहाँ प्रवेश नै नहोस् आशयले विभिन्न पूर्व तयारी तथा सावधानीहरु अपनाउन थालेका हुन्।

नयाँ भेरियन्टमा अहिलेका  खोपको प्रभावकारीता के होला ?

हाल प्रयोगमा आएका अधिकांश खोपहरु ‘स्पाईक प्रोटिन’ प्रति लक्षित रहेका छन्।

फाईजर, मोडेर्ना, जनसन एण्ड जनसन, एक्स्ट्राजेनेका आदि खोपहरु ‘स्पाईक प्रोटिन’ प्रति लक्षित खोपहरु हुन् ।

तसर्थ ‘स्पाईक प्रोटिन’ मा जति धेरै परिवर्तन वा म्यूटेशन हुँदै जान्छ त्यति नै यी (जस्तै माथि उल्लेखित खोपहरु) खोपहरुको प्रभावकारितामा ह्रास आउने सम्भावना बढेर जानेछ।

जस्तै ‘द न्यु इंगलैंड जर्नल अफ मेडिसिन’ को जुलाई अंकमा प्रकाशित अनुसन्धान लेखका अनुसार ‘डेल्टा भेरियन्ट’ बिरुद्ध फाईजर र एक्स्ट्राजेनेकाका खोपको प्रभावकारिता क्रमश ८८ % र ६७%  भएको देखाएको थियो जुन पहिले ९५% र ७०% थियो।

यो ‘स्पाईक प्रोटिन’ मा म्यूटेशन हुँदै गए खोपको प्रभावकारितामा पनि असर पार्ने उदाहरणको रुपमा लिन सकिन्छ। हालै मात्रै फाईजर कम्पनीका एक बरिष्ठ वैज्ञानिकले आवश्यकता हेरेर खोपमा अध्यावधिक गर्न सकिने संकेत गरेका विभिन्न अन्तरराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। यो पंक्तिकारले केहि महिना अगाडी नै कोभिड बिरुद्धका खोपहरु केहि समय पछि अध्यावधिक गर्नु पर्ने हुनसक्दछ भनेर आफ्नो धारणा सहितको लेख पनि प्रकाशित गरिसकेको थियो ।

दोश्रो, यसको फैलने क्षमतामा देखिन सक्ने तिब्रता हो। ‘स्पाईक प्रोटिन’ को सहायताले भाइरसले शरीर भित्र प्रवेश गर्ने भएकोले प्रोटिनमा परिवर्तन देखिए सो म्यूटेशनको कारणले आफूलाई मानिसको शरीरमा भित्रिन आफूलाई थप अनुकुल बनाउन पनि सक्दछ। जस्तै: शुरुवातीमा देखिएका कोरोनाका भेरियन्टहरु भन्दा ‘अल्फा’ र ‘डेल्टा’ भेरियन्टले तिब्र फैलने क्षमता विकास गरेका थिए।

तसर्थ ‘ओमिक्रोन भेरियन्ट’  मा डेल्टामा भन्दा बढी ‘स्पाईक प्रोटिन’ मा म्यूटेशन देखिएकोले पनि छिटो छिटो फैलन सक्ने क्षमता अनुमान गरिएको हो।

तेस्रो भनेको भाइरसको घातकता हो । सामान्यतय भाइरसमा स्वरुप परिवर्तन हुँदा यसले गर्ने हर्कतमा पनि परिवर्तनहरु देखिने गर्दछ। तर त्यो अघिल्लो भेरियन्ट भन्दा कडा वा नरम जे पनि हुनसक्दछ तर विगतमा परिवर्तित डेल्टा भेरियन्टले ठूलो मानवीय क्षति पुर्‍याएको र विश्व व्यापी देखिएकोले त्यस्तो समस्या आउदैन भनेर ठोकुवा गर्न सकिदैन ।

त्यसैले पनि धेरै देशहरुले ‘ओमिक्रोन भेरियन्ट’ को प्रवेश नै नहोस वा भित्रिएको भए थप नफैलियोस भनेर सतर्कता अपनाएका देखिन्छन् ।

निस्कर्ष :

यी माथि उल्लेखित अनुमानहरु भाइरसको स्वरुपमा देखिएको परिवर्तनको आधारमा गरिएका हुन् तर प्रमाणित हुन भने बाँकि छ । भाइरसमा परिवर्तन स्वाभाविक र प्राकृतिक हो र त्यो कडा वा नरम जे पनि हुनसक्दछ।

तसर्थ, माथि उल्लेखित अनुमानहरु सहि हुनै पर्छ वा हुन्छ भन्ने छैन् तर नहोला भनेर ठोकुवा पनि गर्न पनि सकिदैन । त्यसैले यतिवेला पूर्व तयारीहरु आवश्यकता छ । किनभने विगतमा हामीले तयारी वा पहिलो लहरमा कम मानवीय क्षति भएको (अरु देशको तुलनामा) भन्दै दोश्रो लहरलाई नजरअन्दाज गर्दा ‘डेल्टा भेरियन्ट’ को भयङ्कर चपेटामा परेको धेरै समय वितेको छैन् ।

  • डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

Facebook Comment


थप समाचार