नेपालमा ३० हजार ३०० बढी एचआईभी संक्रमितको अनुमान, तर १० हजार बढी गुमनाम

काठमाडौँ, १५ मंसिर । पछिल्लो तथ्यांक अनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार ३०० रहेको अनुमान छ । तर त्यसमध्येका करीव १० हजार संक्रमितहरु देखापरेका छैनन् ।

ठूलो संख्यामा संक्रमितहरु हराईरहँदा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्यमा अवरोध सिर्जना हुने हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।

विश्व एड्स दिवस सन्दर्भ पारी मंगलबार राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा त्यहाँकी निर्देशक डा सुधा देवकोटाले एचआईभी नियन्त्रणमा सफलताउन्मुख देखिएपनि ठूलो संख्या हराईरहँदा त्यसको खोजी गर्नु यतिवेलाको चुनौती भएको बताइन ।

उनले संक्रमणमा परेकाहरु आफूप्रति हुनसक्ने सामाजिक भेदभाव तथा कलंकको डरले लुकेका पनि हुनसक्ने बताइन । उनी भन्छिन्, ‘३० हजार ३०० अनुमान गरिएकोमा २० हजार ८८३ जना मात्रै उपचारको पहूँचमा आएका छन् । बाँकी कहाँ हराईरहेका छन् ? यिनीहरुको खोजी गर्नु र उपचारको दायरामा ल्याउनु अहिलेको आवश्यकता र चुनौँती हो ।’

डा देवकोटाले सन् २०३० सम्ममा नेपाललाई एड्सको महामारीमुक्त गर्ने सस्टेनेवल डेभलपमेन्ट गोल (एसडीजी) प्राप्तीका लागि नेपाल अघि बढेको सुनाइन ।

नेपाल संक्रमणको अवस्था के छ ?
केन्द्रका बरिष्ठ मेडिकल सुपरीटेन्डेन डा पवनकुमार साहले नेपालमा एचआईभी संक्रमणको उच्च जोखिम समूहहरु सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेशीहरु भएको बताए । उनले त्यसमध्ये पनि सुईद्धारा लागूपदार्थ लिने र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिमसमूहमा भन्दा उच्च रहेको बताए ।

हुनपनि सन् २०२० मा सम्पन्न सर्भेक्षण अनुसार नेपालमा सुईद्धारा लागू पदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ । यसैगरी सन् २०१७ मा भएको अर्को सर्भेक्षणले महिला यौनकर्मीहरुमा २.२ प्रतिशत, पुरुष समलिंगीहरुमा ६.२ प्रतिशत का दरले संक्रमण भएको पाइएको थियो । यस्तै पश्चिममा गरिएको सर्भेक्षणले भारतमा कामदारको रुपमा गएर फर्केका नेपालमीहरुमा एचआईभीको संक्रमण पश्चिममा ०.३ प्रतिशत र मध्य तथा सुदूरपश्चिममा ०.६ प्रतिशत रहेको पाइएको थियो ।

सुधारका संकेत पनि छन्
केन्द्रकी निर्देशक डा. देवकोटाले चुनौतीका बावजुत एसडीजी लक्ष्य प्राप्त गर्नका लागि सरकारले गैरसरकारी संस्थाहरुसंग समेत हातेमालो गरी अघि बढीरहेको बताइन । उनले विभिन्न दातृ निकाय, गैरसरकारी संस्थासंग मिलेर चालिएका कदमका कारण पछिल्लो दशवर्षमा संक्रमणको अवस्था प्रभावकारी रुपमा नियन्त्रणउन्मुख देखिएको दावी गरिन ।

केन्द्रको तथ्यांक अनुसार सन् २०२० मा ७५४ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको हो । त्यसबेला २ हजार ६१ जना नयाँ संक्रमित रहेको अनुमान थियो ।

यस्तै सन् २०२० मा ८० बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या पनि सन् २०१० को तुलनामा ६३ प्रतिशतले नै कमी हो । त्यसबेला २१५ जना बच्चाहरुमा नयाँ संक्रमण देखिएको थियो ।

मेडिकल सुपरीटेन्डेन्ट डा साहले एड्सबाट मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य कमी आएको बताए । सन् २०१० मा १ हजार ४१३ जनाको एड्सबाट मृत्यु भएको थियो तर सन् २०२० मा ६३६ जनाको ज्यान गयो । ‘ज्यान जानु राम्रो कुरा त होइन तर यो संख्या ५५ प्रतिशतले घट्नु हाम्रो कामहरु प्रभावकारी भएका छज् भन्नु हो,’ डा साहले भने ।

उनले सन् २०३० सम्ममा सून्य संक्रमित, सून्य मृत्यु र सुन्य भेदभावपूर्ण व्यवहारमा देखाउने गरी नेपालले ९५ः९५ः९५ को लक्ष्य अघि सारेको सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *