आजबाट राष्ट्रिय जनगणना २०७८ सुरु

काठमाडौँ, २५ कात्तिक । आजदेखि देशभर राष्ट्रिय जनगणना २०७८ सुरु हुँदै छ । हरेक दश दश वर्षमा हुने जनगणना आजबाट सुरु भई ९ मंसिरसम्म अर्थात १५ दिनसम्म हुँदैछ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणना कार्यका लागि करीव ४० हजार गणक परिचालन हुँदैछन् । गणकलाई सुपरीवेक्षण गर्नका लागि ४ हजार ५०० संख्यामा सुपरीवेक्षकको व्यवस्था गरिएको छ ।

अघिल्ला जनगणनामा विद्यालयका शिक्षकहरु बढी मात्रामा गणकको रुपमा खटाइने गर्दथ्यो तर यसपटक स्थानीय तहका बेरोजगार युवाहरुलाई गणकको रुपमा प्राथमिकता पारिएको छ । त्यसमा महिला पुरुषको सख्या आधा आधा जस्तै रहेको महानिर्देशक श्रेष्ठले जानकारी दिए । उनले अघिल्ला जनगणनामा गणकको जिम्मेवारीमा खटाइएको शिक्षक समुदायलाई यसपटक सुपरीवेक्षक बनाई खटाइएको बताए ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले २५ कात्तिक देखि घर घरमा आउने गणकहरुले घरमुलीसंग विभिन्न प्रश्नावली सोधेर विवरण तयार गर्ने बताए । उनले भने, ‘गणकहरुले विवरण लिदाँ करीव ५५ वटा प्रश्नहरु सोध्नेछन् । त्यसमा पारिवारिक सदस्यको विवरण त हुने नै भयो, शिक्षा, आयआर्जन देखि ऋणधन सम्मको विवरण पनि सोध्न सक्छन्, सबैले एकीन विवरण दिनु होला ।’

उनले यी विवरण एकदमै गोप्य रहने भन्दै बाहिर जाने शंका नगर्न समेत आग्रह गरे ।

झुटो विवरण दिने वा जनगणनालाई प्रभावित पार्न खोजे २ महिना जेल

महानिर्देशक श्रेष्ठले जनगणना आफ्नो लागि हो भन्दै यसलाई सकारात्मकम रुपमा बुझेर सक्रियताका साथ सहभागी हुन अनुरोध गरेका छन् । तर आउने गणकहरुलाई सही विवरण उपलव्ध नगराउने, गराउन नचाहने वा अरुलाई समेत भड्काउने कार्य गरेमा कानून अनुसार २ महिना सम्म जेल सजाय हुनसक्ने बताए ।

उनले भने, ‘तर हामीले यस्तो सोचेका छैनौं कि हाम्रो कार्यक्रम अवरुद्ध होस वा अवान्चित गतिविधि होस र थुन्न परोस । हामीले त सबैलाई आव्हान गरेका छौँ । सबै सक्रियताका साथ जनगणनामा सहभागी हुनुहोस् ।’

मातृमृत्युको कारण खोजिने
यसपटक जनगणनामा मातृमृत्युको समेत कारण खोजिने भएका छ । ‘घर घरमा पुग्ने गणकहरुले १५ देखि ४९ बर्ष उमेर समूहका महिलाहरुको मृत्यु भएको भए, त्यसको जानकारी लिने र स्थानीय स्वास्थ्यकर्मीलाई त्यसको जानकारी गराउने, स्थानीय स्वास्थ्यकर्मीले मृत्युको कारणबाट थप जानकारी लिने व्यवस्था मिलाइएको छ । यसबाट अहिलेसम्म छुटेका र के कारणबाट मृत्यु भएको हो भन्ने पनि जानकारी हुन्छ,’ महानिर्देशक श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *