स्तन क्यान्सरको जाँच आफै कसरी गर्ने ? डा. राजेन्द्र बरालको ‘आइडिया’

 

नेपालमा महिलालाई हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पाठेघरको मुखमा हुने क्यान्सर सबैभन्दा बढी हुन्छ । क्यान्सर भयानक रोग भएपनि समयमै उपचार गर्न सके पूर्णरुपमा निको हुन्छ । महिलाले बेला बेलामा आफै स्तन परीक्षण गरेर क्यान्सर भए नभएको पहिचान गर्न सक्छन् । निश्चित समयमा यो विधि अपनाउँदा ६० प्रतिशत रोग पत्ता लाग्न सफल भएको छ । स्तन क्यान्सर परीक्षण गर्न त सकिन्छ । तर कसरी ? क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बरालले केही तरिका सिकाएका छन्  :

डा. राजेन्द्र बराल

जाँच्ने दुई तरिका :
स्तन क्यान्सर भए नभएको प्रारम्भिक अवस्थामै थाह पाउन घरमै दुई तरिका अपनाउँन सकिन्छ । ऐना अगाडी उभिएर या ओछ्यानमा पल्टिएर नियमानुसार जाँच्नुपर्छ ।

स्तनको माथिल्लो बाहिरी भाग, माथिल्लो भित्री भाग, तल्लो बाहिरी भाग र तल्लो भित्री भाग तथा मध्य भाग( निम्प्पल भएको स्थान)को जाँच ऐना अगाडी उभिएर या सुतेर गरिन्छ । जाँच गर्दा दुई स्तनबीच फरक देखिन्छ भने क्यान्सर भएको हुनसक्छ । तुरुन्त विशेषज्ञलाई देखाउनुपर्छ ।

 

१. ऐनामा उभिएर :

  • ऐना अगाडि सिधा उभिएर आफ्ना दुबैस्तनलाई हेर्ने ।
  • दुबैस्तनको आकार समान छ छैन अध्ययन गर्ने, बनावट, मुन्टो छालाको रङ र नरमपना फरक तथा स्तनको कुनै भागमा गिर्खा देखिएको छ छैन हेर्ने ।
  • दुबै हातलाई माथि उठाएर स्तनमा परिवर्तन देखिएका छन या छैनन् भन्ने बुझ्न ऐना अगाडी उभिएर हेर्ने ।
  • दुबै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडी हेर्ने । यसो गर्दा स्तनमा लुकेर बसेका केही परिवर्तन झनै स्पष्ट देखिन्छ ।

२.  सुतेर :

  • देब्रे काखीमुनि तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडि राखेर सुत्ने । दाहिने हातको बीचमा तीनवटा औँलाको माथिल्लो एकतिहाई भागले देब्रे स्तन छोपेर जाँच गर्ने । स्तनलाई औला र बुढी औलाको बीचमा राखेर छाम्ने । यसरी छाम्ने क्रममा घडी घुम्नेतिर या उल्टोदिशामा क्रमबद्ध रुपमा सबैभागमा जाँच गर्ने ।
  • दाहिने काखीमुनि तकिया राखेर माथिकै प्रक्रिया अनुसार दाहिने स्तन जाँच गर्ने । अन्त्यमा स्तनको मुन्टोलाई पालैपालो गरि बुढीऔँला र चोर औँलाबीचमा राखेर निचोर्ने ।स्तनको मुन्टोबाट रगत वा फोहर पदार्थ आउछ वा आउदैन हेर्ने ।
  • छुट्याइएको पाँचै भागमा क्रमबद्ध रुपमा छामेर हेर्ने । नुहाएको समयमा पनि यो जाँच्न सकिन्छ । यसरी जाँच्दा देब्रे हातले दाहिने र दाहिने हातले देब्रे स्तन क्रमश जाँच्ने ।

यी लक्षण देखिए क्यान्सरको शंका :

  • स्तनमा छाम्दा गिर्खा भेटिए ।
  • स्तनको छाला सुक्खा भएर आएको छ भने ।
  • स्तनमा सुन्तलाको दानामा जस्तो प्वाल परेजस्तो देखिए ।
  • स्तन नजिक काखीतर्फको भागमा गिर्खा भेटिए ।
  • स्तनको मुन्टाबाट पिपजस्तो फोहर आए ।

कहिले जाँच्ने ?

२० बर्ष पुगेको प्रत्येक महिलाले आफैँ परीक्षण गर्दा राम्रो हुन्छ । नियमित महिनावारी हुने महिलाले महिनाबारी भएको पाँच दिनपछि जाँच गर्दा राम्रो हुन्छ । तर महिनाबारी अनियमित छ भने प्रत्येक महिनाको कुनै एक निश्चित गतेलाई तोकेर परीक्षण गर्नु राम्रो हुन्छ । क्यान्सरको लक्षण शंका लागेमा तुरुन्त विशेषज्ञलाई देखाउनुपर्छ ।

बेलैमा थाह पाए निको हुन्छ क्यान्सर ?

क्यान्सर लाग्नबाट रोक्न सकिदैन तर चाँडै पत्ता लागेमा निको भने पार्न सकिन्छ । स्तन क्यान्सर पनि सुरुकै अवस्थामा थाह भए पूर्ण रुपमा निको हुन्छ । अन्य क्यान्सर जाँच गर्न चिकित्सक र अस्पताल जानु अनिवार्य हुन्छ । तर स्तन क्यान्सरको लक्षण महिला आफैले माथि भने अनुसार जाँच गरेर पत्ता लगाउन सक्छन् ।

नियमित स्तन परीक्षण गर्ने ६०-७० प्रतिशतले सुरुकै अवस्थामा स्तन क्यान्सर शंक ागर्न सक्छन् । शंका लागेमा तत्काल चिकित्सककहाँ उपचार गर्न जानुपर्छ । विश्वको तथ्यांक हेर्ने हो भने स्तनपान नगराएको स्तनमा बढी क्यान्सर भएको पाइएको छ ।

म्यामोग्राम अर्को तरिका :

स्तन क्यान्सर पत्ता लगाउने अर्को प्रविधि भनेको म्यामोग्राम हो । यो स्तन क्यान्सर पत्ता लगाउने एक्सरे हो । यसले स्तनलाई स्क्यानिङ गरेर हेरिन्छ । यसरी हेर्दा स्तनमा गिर्खा भए नभएको तथा स्तनमा क्यान्सर भए नभएको सजिलै पत्ता लाग्छ ।

सोही अनुसारको उपचार गर्नुपर्छ ।क्यान्सर छ या छैन मात्रै हैन्, निको भइसकेको क्यान्सर अर्कोमा सरेको छ छैन भनेर प्रत्येक बर्ष जाँच गराउनुपर्छ । यसरी परीक्षणबाट पत्ता लागेमा वा शंका लागेमा थप परीक्षण गरि समयमा नै उपचार गर्न सकिन्छ । क्यान्सर पहिलो र दोस्रो तहमा छ भने उपचार गर्दा पूर्ण रुपमा निको हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *