चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

चितवन, ३१ असार । कोरोना महामारीकै बीच चितवन मेडिकल कलेज (सीएमसी) मा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । सीएमसीमा गत १८ असारका दिन दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको हो । सीएमसीले यसअघि ८ चैतमा पहिलो कलेजो प्रत्यारोपण गरेको थियो ।

सीएमसीका अनुसार कुशे गाँउपालिका ९ जाजरकोटका ४७ वर्षिय भरतबिक्रम शाहीमा १५ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो । शाहीलाई उनकी ४८ बर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दान गरेकी थिइन ।

प्रत्यारोपणमा कलेजका विशेषज्ञ शल्यचिकित्सकहरु सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार साह, हेपाटोलोजी डा सागर पौडेल, डा बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा किरण अधिकारी, डा नविन यादव, डा सुरेश गौतम डा विरेन्द्र राउत, रेडियोलोजोष्टि डा दिपक अधिकारी, डा सुवास ओझा सहभागि थिए ।

यस्तै स्टाफ नर्स कमला क्षेत्री, प्रियंका पौडेल, सलिना तिवारी, सुमि कार्की, बर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, कृति चौधरी, अञ्जु थापा, श्रुति यादव, नितु बस्नेत, सुष्मा भुजेल। अनिता भण्डारी लगायतको टिम सहभागी थियो । प्रत्यरोपणमा भारतबाट आएको डा निरभ गोयलको टिम समेत सहभागिता थियो ।

प्रत्यारोपणका लागि श्रीमती शाहीको ६० प्रतिशत कलेजो उनको श्रीमान्मा ट्रान्सप्लान्ट गरिएको डा एकानन्द सिंहले जानकारी दिए । अंगदाता श्रीमती शाहीको स्वास्थ्यमा सुधार भएपछि २७ असारमै डिस्चार्ज गरिएको समेत उनले बताए । प्रत्यारोपण गरिएका भरत विक्रम शाहीको स्वास्थ्य अवस्था पनि राम्रो हुँदै गईरहेको उनले जानकारी दिए । यहि गतिमा सुधार भए आउने साता उनलाई डिस्चार्ज गरिने बताए ।

प्रत्यारोपण गरिएको कलेजो र प्रत्यारोपणका लागि काटिएको कलेजो आगामी दुई तीन महिना भित्र बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाउने समेत डा सिंहले बताए ।

विगत आठ नौ बर्ष देखि कलेजोका बिरामी शाहीले यसअघि काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका थिए । उनी दुई साता अघि मात्रै उपचारका लागि चितवन आएको सीएमसीले जनाएको छ ।

सिरोसिस अफ लिभरको ए बी सी स्टेजमध्ये शाही सी चरणमा पुगेका थिए । गत फागुनमा सी चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने सीएमसीले बताएको छ । उनको पेटमा पानी भरिएको र ठूलो थियो । अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै हेपाटाइटिस बी पनि उनमा थियो । कलेजले भनेको छ ।

नेपालमै पहिलो पटक पीभीटी भएको बिरामीमा प्रत्यारोपण
चितवन मेडिकल कलेजमा दोस्रो पटक गरिएको कलेजो प्रत्यारोपण अघिल्लो भन्दा निकै जटिल रहेको चिकित्सकहरुले बताएका छन् । प्रत्यारोपण गरिएका बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने गरी ‘व्लकेज’ थियो ।

सिरोसिस भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुने चिकित्सकहरुले बताउने गरेका छन् । यसलाई ‘सिरोसिस वीथ पोर्टल भेन थ्रोम्बसिस’ (पीभीटी) भन्ने गरिन्छ ।

कलेजोको अन्य समस्या भएपनि गरिने प्रत्यारोपण भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउन निकै जटिल भएको सीएमसीका प्रत्यारोपण शल्य चिकित्सक डा सञ्जयकुमार यादव बताउँछन् । उनले पीभीटी भएको बिरामीमा प्रत्यारोपण गरिएको कारण प्रत्यारोपण गर्न लाग्ने औषत समय भन्दा करीब ३ घण्टा बढी लागेको बताए ।

यो प्रत्यारोपणका क्रममा झण्डै १३ युनिट रगत खर्च भएको थियो । अघिल्लो प्रत्यारोपणमा भने दुई युनिट रगतेले पुगेको डा यादव बताउँछन् । रगतको व्यवस्थापन चितवन रेडक्रसले गरिदिएको कलेजले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *