‘वार्षिक रुपमा दुई सय जनाको मिर्गौला प्रत्यारोपण गर्न वीरमा गाह्रो छैन’

-डा. पुकारचन्द्र श्रेष्ठ, मिर्गौला प्रत्यारोपणविज्ञ

एकिन तथ्यांक त छैन् तर हामीकहाँ वार्षिक३ हजार बढीको मिर्गौला फेल हुने अनुमान छ । प्रत्यारोपको तथ्यांक केलाउँदा अधिकतम रुपमा वार्षिक रुपमा अढाई सयको हाराहारीमा भएको पाइएको छ ।  ६ हजार जना जति अहिले डायलासिसमा रहेको भन्ने देखिन्छ ।

मैले आज यो किन भन्दैछु भने वार्षिक रुपमा थपिने मिर्गौला ‘फेलियर’मध्ये १० प्रतिशतको पनि  प्रत्यारोपण हुन सकेको छैन् । पछिल्लो बर्षमा त झन् कोरोना महामारी भनेर प्रत्यारोपणको गति झनै सुस्त बनेको छ ।

डायलासिस जस्तै राज्यले मिर्गौला प्रत्यारोपण निशुल्क हुने व्यवस्था गरेको छ । तर, त्यै निशुल्क प्रत्यारोपण गराउन चाहेको व्यक्तिले पाएको छैन् । किन पाएको छैन् ? धेरै ठाँउमा प्रत्यारोपण नै भएको छैन् ।

अझ् भनौ,  नि:शुल्क प्रत्यारोपण हुने सरकारी अस्पतालमा यो कार्यक्रम ओझेल परे जस्तो देखिन्छ । राज्यले आफ्ना नागरिकको ज्यान बचाउन र जीवन सक्रिय बनाउन डायलासिस भन्दा प्रत्यारोपणलाई प्राथमिकता दिनै पर्दछ ।

यसकारण नेपाल फर्किएँ

तेह्र बर्ष अघिको कुरा,  बेलायतको न्युक्यासलस्थित फ्रिम्यान हस्पिटलमा मिर्गौला, कलेजो र प्याङ्क्रियाजको प्रत्यारोपणको काम गरिरहँदा नेपालमै गएर यस्तै गरी नेपालीको सेवा गर्ने मौका कहिले जुट्छ होला भनेर सोच्ने गर्दथेँ । नभन्दै सोँचे जस्तै भैदियो । सोही बर्ष अर्थात सन् २००८ को नोभेम्बरमा म नेपाल फर्किएँ ।

आएकै महिना देखि वीर अस्पतालमा आवद्ध भएँ । वीरमा डा विजय शर्मा, रजनी हाडा लगायतका मेरा सिनियरहरुले अङ्ग प्रत्यारोपण, विशेषगरी मिर्गौला प्रत्यारोपणका लागि प्रयास गरिराख्नु भएको थियो ।

म आईसकेपछि त्यस कार्यले तिब्रता पायो ।

सन् २००८ को १२ डिसेम्बरमा वीर अस्पतालमा हामीले मिर्गौलाको सफल प्रत्यारोपण गर्‍यौं। नेपाल आएको छोटो समयमा अङ्ग प्रत्यारोपण कार्यमा महत्वपूर्ण हिस्सा बन्न पाएकोमा त्यसबेला म निकै गौरवान्वित थिएँ । करीब चार बर्ष वीर अस्पतालमा बित्यो ।

प्रत्यारोपण केन्द्रमा यसरी पुगें

अंग प्रत्यारोपण खासगरी मिर्गौला प्रत्यारोपणमा सफलता देखिन थालेपछि सरकारले छुट्टै अंग प्रत्यारोपण सम्वन्धी अस्पताल सञ्चालन गर्ने निर्णय गर्‍यो  र भक्तपुरमा मानवअंग प्रत्यारोपण केन्द्रको नाममा अस्पताल सञ्चालनमा ल्याउने निर्णय गर्‍यो ।

सन् २०१२ को सुरु तिर सरकारले मलाई त्यस केन्द्रको संस्थापक निर्देशकको रुपमा काम गर्ने अवसर प्रदान गर्‍यो ।

म त्यहाँ पुगेको ६ महिनामा अस्पताल सेटअप गरी मिर्गौला बिरामीका लागि डायलासिस सेवा शुरु गरेँ । करीब ९ महिना पछि त प्रत्यारोपण नै शुरु भयो ।

त्यसयता मैले सो संस्थामा ६९५ जनाको मिर्गौला प्रत्यारोपण गरें ।

त्यसअघि वीर अस्पतालमा ९९ जना र अन्य अस्पतालमा ५ गरी कुल ७९९ जनाको मिर्गौला प्रत्यारोपण गरेछु । काजफिर्ता हुनु अघि नै त्यस केन्द्रको आफ्नै कर्मचारी दरबन्दी बनाउन सफल भएँ ।

छ वर्ष बेलायत बिताएर पनि स्वदेश फर्किई यति धेरैको ज्यान बचाउन पाउँदा गर्वको अनुभुति नहुने कुरै भएन ।

वीरमा १४ महिना देखि जिम्मेवारी विहीन

भक्तपुरमा स्थापना गरिएको मानवअंग प्रत्यारोपण केन्द्र (शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) नयाँ थियो । कुनै दरबन्दी थिएन । त्यसैले मलाई त्यहाँको नेतृत्व गर्न वीरबाट काजमा लगिएको थियो । त्यहाँ गएर मैले आठ वर्ष काम गरें । यो अवधीमा अस्पतालको स्थापना देखि सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण हुने नमूना अस्पताल बनाएँ ।

तर,  चौध महिना अघि सरकारले मेरो काज फिर्ता गर्‍यो । म पुनस् वीर फर्किएँ । तर त्यस यताको १४ महिनामा मलाई जिम्मेवारीविहीन बनाइएको छ । मेरो काम हाजिर गर्ने र फर्किने भएको छ ।

प्रत्यारोपण त के मलाई यो अवधीमा ओपिडीमा पनि काम गर्नका लागि जिम्मेवारी दिईएन । किन दिईएन ? थाहा भएन ।

यो अवधीमा मलाई ओपिडी हेर्न दिइएको र १० जना विरामी हेर्न पाएको भए पनि ४२०० बढी विरामीले सेवा पाउने थिए ।

प्रत्यारोपण नपाएर बिरामीको ज्यान गएको छ । अहिले कोरोनाका नाममा सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको छैन् । तर कतिपय निजी अस्पतालहरुमा धमाधम प्रत्यारोपण भइरहेको छ । यसले प्रत्यारोपण पर्खेर बसेका आम सर्वसाधारणलाई अफ्टेरो पारेको छ ।

यो सामान्य लाग्ने तर सम्वेदनशील विषय हो जस्तो मलाई लाग्छ ।

वीर अस्पतालमा बार्षिक २ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ

वीर अस्पताल नेपालकै सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो । अहिले हामीले अत्याधुनिक सर्जिकल भवन पाएका छौँ । स्रोत साधानको हिसावले पनि वीर अस्पताल सबैभन्दा उपयुक्त छ । अहिले त्यहाँ प्रत्यारोपण सेवा अवरुद्ध छ तर त्यो सेवा फर्काउनु पर्छ । त्यसका लागि सबैभन्दा पहिले ‘डेडिकेटेड’ प्रत्यारोपण विभाग बनाउनु पर्छ । विभागलाई चाहिने जनशक्ति र पूर्वाधार तयार गर्नुपर्छ ।

मैले के दावी गर्छु भने वीर अस्पतालमा सजिलोसंग बार्षिक २ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । कोरोना संक्रमणकै बेलामा पनि बार्षिक कम्तिमा एक सयको प्रत्यारोपण गर्न सकिन्छ ।

बर्षको दुई सय प्रत्यारोपण गर्नु वीर अस्पतालको लागि ठूलो कुरा होइन । तर, त्यसको लागि प्रत्यारोपण विभाग नै तयार गर्नु पर्छ ।

हामीहरु काम गर्न तयार छौँ जनशक्तिको अभाव छैन । वीर अस्पतालमा यतिवेला आवश्यक मात्रामा बजेटको व्यवस्था पनि छ । त्यसैले पनि यो कार्य छिटो नै सुरु गर्नु उपयुक्त हुन्छ ।

प्रत्यारोपण अघि बढाउन अहिले त्यहाँ अप्रेसन थिएटर छैन्, ठाँउ खालि छैन भनिएको छ, यो व्यवस्थापकीय कुरा भयो । तर, मैले काज फिर्ता गरेर आएपछि कोभिड नभएको भए २०० जनाको र कोभिडको हुँदाको समयमा पनि १०० जनाको त गर्दथें । किनभने प्रत्यारोपण भनेको छुट्टै नै ‘डेडिकेटेड’ कार्यक्रम हो ।

कोभिडको विरामीसंग मिसाउन पाईदैन र मिल्दैन ।

कोभिडकै बेलामा पनि संसारमै प्रत्यारोपण भइरहेको छ । यहाँ नहुने कुरै थिएन ।

अब पनि ढिलाई गर्न हुन्न,  गर्न सकिन्छ । नेपालीको ज्यान बचाउन पर्छ ।

ब्रेन डेथको कुरा
अंग प्रत्यारोपण भन्ने वित्तिकै लाइभ डोनरको मात्रै कुरा  होइन । कानूनले हामीलाई मस्तिष्क मृत्यु (ब्रेन डेथ)भएकाहरुको अंग प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको छ । ब्रेन डेथबाट प्रत्यारोपण अभियानलाई अघि बढाउने ठूलो सम्भावना छ । किनभने हामीले भक्तपुर केन्द्रमै प्रमाणित गरेर देखाएका छौँ । हामीले छ जनाको मिर्गौला सफलताका साथ प्रत्याोपण गरेका छौँ । उहाँहरु अहिले पनि जिउँदै र स्वस्थ हुनुहुन्छ ।

मलाई के लाग्छ भने ब्रेन डेथ हुने सबैभन्दा बढी ट्रमा सेन्टरमा हुन्छ । यहाँको ट्रमा सेन्टर वीर अस्पतालसंग जोडिएको छ । त्यसैले वीरले प्रत्यारोपण कार्यलाई अघि बढाउने हो भने ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सहज हुन्थ्यो । यो वीरका लागि सुनौलो अवसर पनि हो । ब्रेन डेथबाट पनि हामीले बर्षमा अरु एक दुई सय प्रत्यारोपण गर्न सक्छौँ ।

सुरुका बर्षमा त्यो पनि ठूलो संख्या हो । पछि हामीले ब्रेन डेथबाट मात्रै अंग लिने र स्वस्थ व्यक्तिबाट अंग नलिने पनि गर्न सक्छौँ । त्यो योनजा गर्नुपर्छ । काठमाडौँमा मात्रै होइन प्रदेश स्तरको अस्पतालमा पनि पनि यो सेवा सुरु गर्न सकिन्छ ।

हामीले भक्तपुरमा बार्षिक झण्डै दुई सय जनाको मिर्गौला प्रत्यारोपण गर्दथ्यौँ । त्रिवि शिक्षणमा ५०–६० जनाको प्रत्यारोपण हुन्थ्यो । तर अहिले दुबै ठाँउमा गरेर २० –३० जनामा घटेको सुनियो । यो निकै दुर्भाग्यपूर्ण कुरा हो । मैले माथिनै उल्लेख गरें नी मैले पछिल्लो एक बर्ष जिम्मेवारी पाएको भए यहि अवस्थामा पनि एक सय बढीको प्रत्यारोपण गर्दथें ।

मेरो अर्को पनि सुझाव छ प्रत्यारोपण केन्द्रको हव अब वीर अस्पताललाई बनाउनु पर्छ । किनकी त्यहाँ नजिकै ट्रमा सेन्टर छ । त्यहाँ प्रत्यारोपण मात्रै होइन तालिम केन्द्रको रुपमा ट्रान्सप्लान्ट फेलोसिप कार्यक्रम चलाईदियो भने त्यहाँबाट प्रदेशमा पनि विस्तार गर्न सकिन्छ र प्रदेशमा पनि सेवा पुग्न सक्छ । यसो गर्दा बर्षमा अरबौँ रकम विदेशीनबाट जोगिन्छ । कम्तीमा पनि डेढ दुई सय जनाको ज्यान बाच्छ । त्यसैले यसलाई विशेष प्राथमिकतामा राखेर हेर्नुपर्छ जस्तो लाग्छ ।

के के भए त काम ?

कोरोना महामारीका कारण अस्पतालमा विरामीको संख्या एकदमै न्युन छ । प्रत्यारोपण अहिले बन्द नै छ । मैले यहि बेला आफ्ना विगत सम्झने फुर्सद पनि पाएँ । सम्झँदै जाँदा केही महत्वपूर्ण काम गर्न सकिएको रहेछ भन्ने लागेको छ । यसमा म मात्रै होइन मेरो सम्पूर्ण टिमको योगदान रहेको छ । विभिन्न कामका लागि विभन्न क्षेत्रका व्यक्तित्वहरुले सघाउनु भएको छ ।

  • नेपालमा छुट्ट अंग प्रत्यारोपण सम्वन्धी अस्पताल खोलियो । त्यसमा मेरो पहल थियो । त्यसअघि वीर अस्पतालमा प्रत्यारोपणको प्रयास भइरहेको थियो । म आईसकेपछि त्यसलाई मुर्त रुप दिन सकियो ।
  • नेपाल फर्किसके पछि मिर्गौला प्रत्यारोपणमा मज्जाले लागिएछ । मेरो नेतृत्वमा ६९५ जनाको प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा, ९९ जना वीर अस्पताल र अरु ५ जनाको अन्य अस्पतालमा गरी ७९९ जनाको प्रत्यारोपण गरेको रहेछु ।
  • नेपालमै प्रथम पटक पुनः मिर्गौला प्रत्यारोपण गरेँ (जुन अत्यन्तै जटिल थियो, पहिलो र दोश्रो मिर्गौला असफल भएपछी यो गरिएको थियो) । मैले अहिलेसम्म नेपालमा १३ जनाको दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरि सकेको छु ।
  • प्रथम पटक धेरै नशा जोड्नु पर्ने जटिल (Multi vessel) मिर्गौला प्रत्यारोपण पनि गरियो ।
  • सन्  २०१६ मा नेपालमै प्रथम पटक दुई परिवारबिच मिर्गौला साटासाट (Pair Exchange)  गरेर मिर्गौला प्रत्यारोपण गरियो । हालसम ३२ जोडीले आपसी साटासाटबाट मिर्गौला  प्रत्यारोपणको लाभ लिएका छन् ।
  • मेरो नेतृत्वमा प्रत्यारोपण केन्द्रमा देशमै प्रथम पटक कलेजो प्रत्यारोपण भयो । हालसम्म ५ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।
  • सन् २०१० मा देशमै पहिलो पटक कुनै पनि प्रत्यारोपणका लागि अत्यावश्यक एचएलए ल्याब स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेँ । उक्त कार्यमा प्रतिष्ठित व्यक्तित्वहरु आनि छोइङ डोल्मा, कुलचन्द्र गौतम, महजोडी, कुशकुमार जोशी, सुुदर्शनराज पाण्डे, डा. विमलकुमार थापा र नवीना प्रधान श्रेष्ठ सम्मिलित गैर नाफामुलक संस्था आरोग्य प्रतिष्ठानमार्फत सम्भव भएको हो । संस्थामार्फत डायलासिस सेवाका साथै अंगदान र प्रत्यारोपणबारे जनचेतना जगाउने जस्ता महत्वपूर्ण कार्य भईरहेको छ । यो सेवा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि हुँदैछ ।
  • देशमै प्रथम पटक सन २०१७ मे महिनामा मस्तिस्क मृत्यु भएको व्यक्तिको दुई वटा मिर्गौला अन्य दुई जनामा सफल भयो । हालसम्म मस्तिस्क मृत्यु भएको व्यक्ति वाट ६ जनाको मिर्गौला प्रत्यारोपण र १ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।
  • अंग सहज उपलब्ध होस् भनी मस्तिस्क मृत्यु सम्बन्धी कानुन निर्माण गर्ने कार्यमा अग्रपंक्तिमा रहेर काम गरेँ । यस सम्बन्धि ऐन संसदबाट पारित भई लागू भईसकेको छ । यसबाट देशलाई अंग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन ठुलो उपलव्धि हुनेँछ । उक्त कार्य ८ बर्षको कडा मिहिनेत पश्चात मात्र सम्भव भएको हो ।
  • अंग प्रत्यारोपण क्षेत्रमा भईरहेको लैङ्गिक बिभेद हटाउनको लागि ठूलो पैरवी गर्नु परेको थियो । पहिलो १०० जनाको मिर्गौला प्रत्यारोपणमा ९० प्रतिशत ग्रहणकार्ता पुरुष र ८० प्रतिशत अंगदाता महिला थिए । पुरुषहरुले पति महिलासरह अंग दान गर्नुपर्दछ भन्ने अभियन्ताको रुपमा वकालत मात्र गरेको नभई परिवारको पुरुष सदस्यले महिलालाई अंग दान गरेमा रु. ५० हजार आर्थिक सहायता, कानूनी रुपमै मस्तिष्क मृत्युबाट आएको मिर्गौला महिलाहरुले प्राथमिकताका साथ प्राप्त गर्न सक्ने व्यवस्थाको गराउन सफल भएँ ।
  • देशमै पहिलो पटक सन २०१४ मा आरोग्य प्रतिस्ठानमा र हालै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंग प्रत्यारोपण पश्चात खानुपर्ने औषधीको तह मापन गर्ने (Tacrolimus Level) उपकरण संचालनमा ल्याइयो जसबाट मिर्गौला प्रत्यारोपितहरुको जाँच विदेशमा पठाउनु परेन ।
  • हालसम्म देश भरि करिव १५०० जनाको मिर्गौला प्रत्यारोपण भएको छ । त्यसमा हामीले गरेको आधा भन्दा धेरै मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न भएको छ ।
  • म नेतृत्वमा रहँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बार्षिक १७९ सम्मको निःशुल्क प्रत्यारोपण गरेर मुलुकबाट अरबौँ रकम विदेशिनबाट जोगिएको छ ।
  • विभिन्न मुलुकका सेवाग्राही केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि आई स्वास्थ्य पर्यटनको प्रवर्दन भएको छ ।

अब प्रत्यारोपण सेवालाई सातै वटा प्रदेशमा विस्तार गर्नेे योजना पुरा गर्न सरकारी निकाय लाई प्रस्ताब गरिएको छ । जनशक्ति तालिम दिने कार्य पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, त्रि.बि. शिक्षण अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बाटै सम्भब छ ।

तर, प्रत्यारोपण केन्द्रलाई तामिल दिने संस्थाको हिसावले शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न आवश्यक छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *