नेपाल सहित १६ देशलाई ७० लाख खोप दिदै अमेरिका
काठमाडौँ, २० जेठ । अमेरिकाले नेपाल सहित दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १६ वटा देशमा ७० लाख खोप उपलव्ध गराउने भएको छ । पहिलो चरणमा २ करोड ५० लाख डोज वितरण गर्ने क्रममा अमेरिकी प्रशासनले करीव ७० लाख डोज खोप १६ वटा मुलुकलाई उपलव्ध गराउने भएको हो ।
ह्वाइट हाउसले आज बेलुका जारी गरेको विज्ञप्ती अनुसार २ करोड ५० लाख डोज खोप मध्ये करीव १ करोड ९० लाख खोप कोभ्याक्स सुविधाका लागि उपलव्ध गराउने छ । त्यसमध्येको ६० लाख डोज खोप दक्षिण र मध्ये अमेरिकी देशहरु कोस्टारिका, पेरु, ईएक्वेडर लगायत देशहरुले पाउनेछन् ।
करीव ७० लाख डोज खोप दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा वितरण हुनेछ । त्यसमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिव्स, मलेसिया, फिलिपिन्स, भियतनाम रहेका छन् । यस्तै इन्डोनेसिया, थाईल्याण्ड, लाओस, पपुवा न्युगिनी, ताइवान, र प्यासिफिक आइल्याण्ड रहेका छन् ।
कोभ्याक्स अन्तरगर्त कै करीव ५० लाख खोप अफ्रिकन युनियन र करीव ६० लाख खोप क्षेत्रीय आवश्यकताका आधारमा विभिन्न देशहरुमा वितरण गरिने बताइएको छ ।
यसैबीच नेपालले अमेरिकाको पछिल्लो निर्णयको स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाललाई खोप उपलव्ध गराउने अमेरिकी सरकारको निर्णयको प्रशंसा गरेका छन् । उनीहरुले बाइडेन प्रशासनलाई धन्यवाद समेत दिएका छन् ।
नेपाली हेल्थसंग बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिमाण नखुलाएपनि अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको भन्दै बाइडेन प्रशासनलाई धन्यवाद दिए । उनले अमेरिकाबाट ठूलो परिमाणमा खोप ल्याउने योजनामा आफूहरु रहेको बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

