प्राडा जागेश्वर गौतम बने केन्द्रीय युनिफाइड (वीर) अस्पतालको प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ, १० जेठ । कोभिड १९ उपचारका लागि बनाइएको केन्द्रीय युनिफाइड हस्पिटल (वीर अस्पताल)को नेतृत्व प्राडा जागेश्वर गौतमले गर्ने भएका छन् ।
सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दै युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृत पदमा प्राडा गौतमलाई नियुक्त गर्ने निर्णय गरेका हुन् । मन्त्रालयको प्रवक्ता समेत रहेका प्राडा गौतम अहिले स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारीमा छन् ।
‘केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको पदमा मलाई नियुक्ती गरियो भन्ने जानकारी पाएको छु । चिठी आइसकेको छैन् । तर जिम्मेवारी आएपछि आफू पछि हटने कुरा छैन् । सम्भवत भोलिबाट नै नयाँ जिम्मेवारी सम्हाल्नेछु,’ डा गौतमले भने ।
सरकारले गत ७ जेठमा जारी गरेको कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको दफा ६ (१)मा संक्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालको रुपमा रहने उल्लेख छ । उपदफा २ मा केन्द्रीय अस्पतालको सञ्चालन मन्त्रालयले गर्ने भनिएको छ । यस्तै ३ मा केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको रुपमा निजामती सेवाको राजपत्राकिंत प्रथम श्रेणी वा नेपाल स्वास्थ्य सेवाको एघारौँ तहको अधिकृत वा बरिष्ठ चिकित्सकलाई खटाउन वा नियुक्त गर्न सक्नेछ भनिएको छ । यस्तै प्रमुख प्रशासकीय अधिकारी मन्त्रालयले तोकेको अवधीसम्म बहाल रहनेछ भनिएको छ ।
सरकारले वीर अस्पताललाई कोरोना संक्रमितको उचपार गर्ने केन्द्रीय युनिफाइड अस्पतालको रुपमा परिवर्तन गरेको छ । त्यहाँको नयाँ बनेको सर्जिकल भवनमा ५०० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

