आनन्दवन अस्पतालमा अब ‘ट्रमा सेन्टर’

ललितपुर, २५ फागुन । गोदावरी नगरपालिका–५ स्थित आनन्दवन अस्पतालले ट्रमा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । दि लेप्रोसी मिसन नेपालद्वारा आज आयोजित ‘कोभिड–१९ सम्बन्धी जानकारी मुलुक कार्यक्रम’ मा मुलुकका जुनसुकै क्षेत्रबाट दुर्घटना परी उपचार सेवा लिन आउने बिरामीको हितमा भवन निर्माणको कामअघि बढाइरहेको जानकारी गराइएको छ ।

मिसनका देशीय निर्देशक शोभाखर कँडेलले गत वर्षदेखि भवन जारी रहेको र यसमा ४० श्ययाको व्यवस्था हुने बताए । उनले भने, “चोट पटक लागेका तथा घाइते भएकालाई हामीले सेवा दिनेछौँ। गोरखा भूकम्पले देखाएको त्रासबाट विक्षिप्त मानिसका हितमा सेन्टरको आवश्यकता रहेको महसुस गरी काम अघि बढाएका छौँ ।” निर्माणाधीन सेन्टरको भवन आठ रेक्टर स्केलको भूकम्प आउँदा पनि जोखिममा नपर्ने र अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको हुने उनको भनाइ थियो ।

चालु वर्षको अन्त्यसम्ममा सो भवन निर्माण सम्पन्न गर्ने लक्ष लिएको कँडेलको मत थियो । “अस्पताललाई चाहिने सामग्री अमेरिकी सरकारले दिने आश्वासन जनाइसकेको छ”, उहाँले थप्नुभयो, “सेन्टर निर्माण अघि बढाउन विभिन्न देशमा मानिससँग सहयोग माग्यौँ । बाँकी काम पूर्ण गर्न पनि सहयोग भइसकेको छ ।” अस्पतालका मेडिकल निर्देशक डा महेश शाहले सेन्टरका लागि तीन तलाको भवन बन्ने र त्यसमा रहने ४० श्ययामध्ये २० श्यया प्रसूति सेवालाई छुट्टाइने बताए । उनले भने, “हाम्रो अस्पतालमा कूल ११० श्यया छ, जसमा ८० कृष्ठरोगका बिरामीका लागि छुट्याएका छौँ भने ३० अन्य सेवालाई छुट्टाएका थियौँ तर हाल ११५ कुष्ठरोगीले अस्पतालमा सेवा लिइरहेका छन् ।”

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले सो अस्पतालमा भौगोलिक विकट क्षेत्र दक्षिण ललितपुरबासीलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले कान्ती लोकपथका साथै दक्षिण ललितपुरमा हुने आकस्मिक दुर्घटना हुँदा हुँदा घाइतेलाई आनन्दवन अस्पतालमा उपचार गर्न सुझाव दिने गरेको बताए ।

वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले कृष्ठरोगका बिरामीलाई आनन्दवनले सन्तोषका साथै आनन्द प्रदान गर्ने भएकाले सोको विस्तार गर्दै लानुपर्ने सुझाव दिए । जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले आफूहरूले ललितपुरमा हात्तीपाइले रोगसम्बन्धी राय सुझाव सङ्कलन गर्न लागि परेको बताए । वडाध्यक्ष मिलन सिलवालले सरकारले सो अस्पताललाई थप ऊर्जा प्रदान गर्न नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको खाँचो औल्याए ।

कृष्ठरोग रोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने गर्छ । सन् १९५४ देखि हरेक जनवरीको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । सो अस्पतालले विगत ६५ वर्ष अघिदेखि कुष्ठरोगीको उपचार गर्दै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *