स्वास्थ्य मन्त्रालय परिसरमै हुन थाल्यो धूमपान

स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा खाँजासंग चुरोट तान्दै एक आगन्तुक

काठमाडौँ, ४ माघ । तीन बर्ष अघि   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवेश गर्ने हरेक व्यक्तिको सुर्तीजन्य पर्दाथ बोकेको छ कि छैन ? भनेर खल्ती जाँच हुन्थ्यो । खल्तीमा बोकेर जान खोज्नेहरुले गेटमै सुर्ती, चुरोट तथा गुड्खाहरु फ्याकेर भित्र पस्नु पर्दथ्यो ।

तर, अहिले त्यहाँको दृश्य फेरिएको छ ।

आगन्तुकहरुले स्वास्थ्य मन्त्रालय परिसरमै बसेर मज्जाले चुरोट तानिरहेका हुन्छन्, सुर्ती खुड्खा तथा अन्य सुर्तीजन्य पदार्थहरुको प्रयोग गरिरहेका हुन्छन् । विशेषगरी मन्त्रालयको क्यान्टिन र त्यस आसपासका क्षेत्रमा बसेर आगन्तुकहरुले निर्वाध रुपमा चुरोट तानेको दृश्य देखिन थालेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन (२०६८)ले कुनै पनि सरकारी कार्यालय, सार्वजनिक स्थान, विद्यालय, धार्मिकस्थल वरपर धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्न निषेध गरेको छ ।   त्यस्ता स्थानमा सम्वन्धित संस्थाका प्रमुख वा व्यवस्थापकले धूमपान तथा सुर्तीजन्य पदार्थको निषेधित क्षेत्र हो भनेर सबैले देख्ने गरी सूचना टाँस गर्नुपर्ने व्यवस्था समेत गरेको छ । तर निर्वाध रुपमा सुर्तीजन्य पदार्थको प्रयोग हुने त्यस क्षेत्र वरपर धूमपान निषेधित क्षेत्र भनेर कुनै सूचना टाँस गरिएको छैन् ।  न त त्यसरी धूमपान गर्नेलाई कारवाहीको दायरामा ल्याइएको छ ।

तत्कालिन स्वास्थ्यराज्यमन्त्री पद्मा अर्यालले सांकेतिक रुपमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्न मन्त्रालयको गेटमै खल्ती जाँच गर्ने व्यवस्था मिलाएकी थिइन । २०७४ चैत १२ देखि गेटमै सुर्तीजन्य पदार्थको चेकजाँच गर्ने व्यवस्था पछि स्वास्थ्य मन्त्रीको रुपमा उपेन्द्र यादव आएपछि हटेको थियो ।

पछिल्लो करीब एक बर्ष कोरोना नियन्त्रणमा ध्यान केन्द्रित गरेको स्वास्थ्य मन्त्रालय धूमपान निषेधका कार्यलाई खासै चासो देखाएको पाइदैन ।

‘अचेल त खुल्लम खुल्ला रुपमा परिसरमा आएर धूमपान गर्छन् । स्वास्थ्यका माथिल्ला तहका अधिकारीहरु त्यता नजाने र तल्ला तहका कर्मचारीले वास्ता नगर्ने हुनाले परिसरमै आगन्तुकहरुले धूमपान गर्न थालेक हुन्,’ एक कर्मचारीले भने ।

मन्त्रालयका सहसचिव दामोदर रेग्मीले मन्त्रालय परिसरमा त्यसरी सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाइने भन्दै, त्यसको निराकरणका लागि तत्काल एक्सनमा जाने बताए ।

‘मन्त्रालय परिसर भित्र होइन, यसको वाहिर एक सय मिटर वरपर पनि सुर्तीजन्य पदार्थको प्रयोग विक्री वितरण गर्न पाइदैन् । यहाँ यहाँ भित्रै त्यसरी प्रयोग भएको छ भने त निकै नै गम्भीर कुरा भयो । यसबारे तत्काल कदम चाल्नेछौँ ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट बार्षिक २७ हजार बढीको ज्यान जाने गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सरकारले सुर्ती नियन्त्रणसम्वन्धी कडा कानून ल्याएको छ । तर त्यसका कतिपय विषयमा भने कार्यान्वयन निकै नै फितलो देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *