विज्ञ भन्छन्, ‘ढुक्क भएर कोभिसिल्ड खोप लगाउनुहोस्’

काठमाडौँ,  ३ फागुन । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार राजधानीमा आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले ढुक्क भएर सो खोप लगाउन सुझाव दिएका हुन् ।

उनीहरुले कोभिसिल्ड नेपाल सहित अन्य १६ वटा मुलुकहरूमा पनि प्रयोग भइरहेको भन्दै सुरक्षित र प्रभावकारिताको विषयमा आशंका नगर्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मुल्यको आधारमा नेपालमा मान्यता दिइएको बताए। उनले भारतमा बनेको सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिसिल्डले सम्पुर्ण मापदन्डको आधारमा सबभन्दा प्रभावकारी खोप मध्येको एक रहेको प्रमाणिकता प्राप्त गरेपछी नेपालमा प्रयोगका लागि स्वीकृत गरिएको प्रष्ट पारे।

सो अवसरमा उनले कोरोना नियन्त्रणमा बर्तमान सरकारले उत्कृष्ठ काम गर्न सफल भएको दावी गरे । राज्यमन्त्री रावतले तोकिएको मिति भन्दा एक महिना अघि नै अभियान सुरु गर्न सफल भएको भन्दै थप खोप ल्याएर यो अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । कोरोना महामारीको सुरुवाती समयमा स्वास्थ्य मन्त्रालयले काम गरेन भन्नेहरुलाई निस्पक्ष ढंगले हालसम्मको कार्य प्रगति नियाल्न आग्रह गरे । नेपालमा २ करोड १६ लाख जनसंख्यालाइ खोप लगाउने उदेश्य रहेको समेत उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलले कोभिसिल्ड खोप तेस्रो चरणको परीक्षण सकेर आएपछि मात्र नेपालमा अनुमति दिइएको बताए। उनले थपे,‘ कोभिसिल्ड १२ हजार बढी जनसंख्यामा परीक्षण गरी सुरक्षित र प्रभावकारी देखिएपछि मात्रै आएको हो । नयाँ रोग र नयाँ खोपको विषयमा सुरुमा आशंका चल्नु स्वभाविक हो तर अब अधिकांशले विश्वास पनि गर्नु भएको छ । सञ्चारकर्मी र सञ्चारमाध्यमले त्यो विश्वास जगाउने बाताबरण सिर्जना गर्नका लागि पहल गर्नु पनि जरुरी छ ।’ उनले हाल जारी खोप अभियानलाई नरोक्न खोप प्रक्रिया अगाडी बढेको जानकारी दिए । उनले अबको केही साता मै थप खोप आउने बताए । उनले अब आउने खोपबाट समुदायस्तरबाट अभियान चलाउने बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अहिलेसम्म कोभिसिल्ड खोपले नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति पाएको भन्दै अरु केही खोपहरुको स्वीकृतिका लागि आवेदन परेको बताए । उनले डव्लुएचओको मापदण्ड अनुसार नै खोप सुरक्षित भएको एकीन गर्न आवश्यक सबै प्रक्रिया पुरा गरेपछि कोभिसिल्डलाई अनुमति दिइएको स्पष्ट पार्दै अन्य खोपका हकमा पनि सोही विधि अपनाइने बताए ।

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले कोभिसिल्डले कतिपय अवस्थामा नयाँ प्रजातिको कोरोना भाइरसलाई पनि जित्न सफल भएको बताए। उनले भने,‘मित्ररास्ट्र भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप १ ६ भन्दा बढी मुलकमा प्रयोग भइरहेको छ, सबै खाले सुरक्षा र प्रभावकारिता सम्बन्धि परीक्षणमा सफल रहेको छ र गुणस्तरको आधारमा नेपाल सरकारले छनौट गरेको हो’  उनले कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले सुचीकरण गर्ने सुनिश्चित रहेको पनि स्पष्ट पारे ।  डा गौतमले विश्वमा हाल ७० वटा खोप ट्रायलमा रहेको, २० वटा खोप तेस्रो चरणमा रहेको र एउटा खोपले विश्वस्वास्थ्य संगठनको मान्यता पाएको जानकारी दिए ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बस्तोलाले कोभिसिल्ड खोपमा कुनै शंका नगर्न अनुरोध गरेका छन्। उनले थपे,‘ थुप्रै महाशक्ति राष्ट्रहरुले खोप खरिदको लागि तयारी गरेको देख्दा नेपालमा खोप आउछ भन्ने विश्वास लागेको थिएन तर मित्र राष्ट्र भारतले उत्पादन गरेपछि नेपालमा खोप आउन सम्भाव भयो। ‘उनले कोभिसिल्ड खोप ९० प्रतिशत प्रभावकारी देखिएको बताए । उनले भने,‘खोप लगाएर कोरोना संक्रमण भएपनि मानिस सिकिस्त हुँदैन।’ डा बास्तोलाले समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक रहेको बताए । उनले कोरोनाबिरुद्धको खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए ।

खोप विज्ञ डा श्यामराज उप्रेतीले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा यसको तेस्रो चरणको परीक्षण गरेको बताउँदै त्यसमा सुरक्षित र प्रभावकारी पाइएको बताए । उनले तेस्रो चरणमा १२ हजार बढी मानिसमा परीक्षण गरिएको समेत स्पष्ट पारे । ‘यो खोप हामीले सोँचेभन्दा एक महिना अघि नै नेपाल आइपुग्यो । यसमा नेपाल सरकारको संक्रियता र भारत सरकारको सहयोग महत्वपूर्ण रहेको छ,’उनले भने । उनले सरकारलाई पहिलो र दोस्रो चरणको खोप लगाउने अन्तर ८ देखि १२ को राख्न सुझाव दिएको समेत बताए । ‘जति बढी अन्तर भयो उति नै खोप प्रभावकारी हुने अनुसन्धानले देखायो । त्यसैले हामीले पनि सो निर्णय गर्दैछौँ,’ उनले भने । सरकारले यसअघि ४ साता पछि दोस्रो डोज खोप लगाउने निर्णय गरेको थियो ।

जनस्वास्थ्य विज्ञ प्राडा केदार बरालले नेपालले प्रयोग गरेको खोप सुरक्षित रहेको बताए । ‘खोप लगाउँदा कसै कसैलाई सामान्य असर देखिन्छ भनेकै थियो । कसैलाई पनि जटिल असर भने देखिएन त्यसैले यो खोप ढुक्कसंग लगाँऔँ । मैले पनि अभियान शुरु भएको पहिलो दिन नै खोप लिएको हुँ । नेपालको विज्ञ टोलीले खोप सुरक्षित भएर नै लगाउन अनमति दिएको हो । त्यसैले यसमा आशंका नगरौँ ।’

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले भारतमा खोप शुरु भएको पाँच दिन पछि नै नेपालमा १० लाख डोज खोप अनुदानमा उपलव्ध गराएको भन्दै सरकारको प्रयास र भारत सरकारको सहयोग प्रति आभार व्यक्त गरे । उनले पहिलो प्राथमिकतामा राखेर सञ्चारकर्मीलाई समेत खोप उपलव्ध गराएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद दिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध  पत्रकार तथा विज्ञ गरी ७० भन्दा बढीको उपस्थिति रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *