युरोपमा सुरु हुन लाग्यो कोरोना खोप, नेपालमा के छ तयारी ?

काठमाडौँ, १८ मंसिर । बेलायत र रुसले अर्को साता देखि आफ्ना नागरिकलाई कोरोना भाइरस संक्रमण बिरुद्धको खोप दिने घोषणा गरिसकेका छन् ।

चीन, अमेरिका, ब्राजिल, अस्ट्रेलिया, जर्मनी लगायतका देशहरुले पनि आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप दिने कार्य नयाँ बर्ष नलाग्दै शुरु गर्ने बताइसकेका छन् ।

तर, नेपालमा भने खोप कहिलेसम्म आईपुग्छ भन्ने अनुमान अहिलेसम्म गर्न सकिएको छैन् । यद्धपी सरकारले त्यसका लागि आवश्यक तयारी गरिरहेको बताउँदै आएको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोनाविरुद्धको खोप तयार हुँदा त्यसको प्रयोग गर्ने अवसर ढिला नगरी नेपालीले प्राप्त हुने हिसावले काम अघि बढी रहेको बताउँछन् । त्यसका लागि कुटनीतिक नियोग, अन्तराष्ट्रिय दातृ निकाय, कोरोना भाइरसको खोप व्यवस्थापन गर्न बनेको कोभ्याक्स फेसिलिटीज संग समन्वय गरिरहेको बताए ।

खोप व्यवस्थापनको जिम्मा पाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा भीम सिंह तिंकरीले खोप तयार भईसकेको औपचारिक घोषणा भइनसकेको र घोषणा हुनासाथ नेपालमा पनि ढिलाई नगरी त्यो खोप आउनेमा आफूहरु विस्वस्त रहेको बताए ।

‘अहिलेसम्म खोप बन्यो भनेर औपचारिक रुपमा घोषणा भइसकेको छैन् । घोषणा हुनासाथ छिटै आउँछ । त्यसका लागि हामीले आवश्यक तयारीलाई तिव्रता दिएका छौँ,’ डा तिंकरीले भने ।

‘२० प्रतिशत जनसंख्याका लागि खोप सुनिश्चित भैसक्यो’
कोरोना भाइरसविरुद्धको उत्पादित खोपको व्यवस्थित वितरणका लागि विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था, सामाजिक संस्था, परोपकारी संस्थाहरुको समन्वयमा एउटा साझा संस्था खोलिएको छ, कोभ्याक्स फेसिलिटीज । यसमा विश्वका १८० भन्दा बढी मुलुकहरु आवद्ध छन् । त्यसको एउटा सदस्य नेपाल पनि बनेको छ ।

यो संस्थाले गरीव र धनी मुलुकबीच खोप पाउने समयमा तलमाथि नहोस, अथवा धनी र गरीव मुलुकले समान ढंगले एकैपटक खोप पाउन भन्ने योजनाका साथ काम गरिरहेको छ ।

त्यसले कोरोना विरुद्धको खोप हो भनेर अन्तिम घोषणा भएको र सूचीकृत र प्रभावकारी भएका कम्पनीका पहिलो लटमा २ अर्व डोज खोप खरीदका लागि युनिसेफ मार्फत डेन्डर समेत आव्हान गरिसकेको छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा झलक गौतम भन्छन्,’हामीले अहिले कोभ्याक्स फेसिलिटी मार्फत खोप ल्याउन आवश्यक गृहकार्य र तयारी गरिरहेका छौँ । यदि युरोप अमेरिकातिर खोप शुरु भयो भने, नेपालमा पनि छिटै नै खोप आउँछ । कोभ्याक्स फेसिलिटीजले सो काम गरिरहेको छ ।’

कोभ्याक्सले पनि हरेक देशका कुल जनसंख्याको २० प्रतिशत जनताका लागि खोप उपलव्ध गराउने भनेको छ । कोभ्याक्सले त्यसमध्ये पहिलो चरणमा अर्थात शुरुमै कुल जनसंख्याको ३ प्रतिशत खोप कोभिड -१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने मापदण्ड समेत बनाएर पठाएको डा . गौतमले बताए ।

उनले बाँकी १७ प्रतिशत खोप जोखिमयुक्त समूहका लागि प्राथमिकता तय गरी लगाउन भनेको छ । नेपाल सो समूहमा ५५ बर्ष माथिका नागरिकलाई राखेको छ ।

कोरोना विरुद्धको खोप १४ बर्ष माथिका जनताले मात्रै पाउने हुन् । अहिले बनिरहेका जतिपनि खोपहरु छन्, १४ बर्ष माथिका उमेर समूहका व्यक्तिका लागि तय गरिएका हुन् ।

डा गौतम भन्छन्, ‘नेपालमा १४ बर्ष मुनिका बालबालिकाको संख्या २८ प्रतिशत रहेको छ । तसर्थ नेपालका कुल ७२ प्रतिशत जनतालाई खोप दिने योजनामा सरकार लागेको छ । २० प्रतिशत अनुदानमा आए, थप ५२ प्रतिशत खोप खरीद गरेर ल्याउने योजनमा सरकार रहेको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत अर्थमन्त्रालयले गरिसकेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *