सहज र सुलभ बन्दै रेम्डेसिभिर औषधि, साढे ४ हजार भन्दा कम मूल्यमा १५ हजार भाइल आउँदै

काठमाडौँ, २६ कात्तिक । कोरोना संक्रमित जटिल बिरामीमा प्रयोग हुँदै आएको औषधि रेम्डेसिभिर थप सस्तो मूल्यमा नेपाल भित्रिने भएको छ । औषधि आयातकर्ता डीकेएम फर्मास्युटिकल्सले ४ हजार ४८० रुपैयाँमै बिरामीलाई औषधि उपलव्ध गराउने गरी औषधि व्यवस्था विभागसंग सम्झौँता गरेको छ । विभागले उक्त आयातकर्ता संस्थालाई १५ हजार भाइल औषधि ल्याउन अनुमति दिएको छ ।

भारतीय कम्पनी जाइडस क्याडिलाले उत्पादन गरेको रेम्डेसिभिर ल्याउन लागेको डीकेएम फर्मास्युटिकल्सले औषधि एक दुई दिन भित्रै नेपाल आइपुग्ने बताएको छ ।

यसअघि सबैभन्दा सस्तो यतिकेम डिस्ट्रिव्युटर्स प्रालिले ५ हजार ३८० रुपैयाँमा औषधि आयात गरेको थियो । डीकेएम फर्मास्युटिकल्सका अध्यक्ष दिपक टिब्बटेवालले सिमावर्ती विहारको चुनावका कारण यातायातमा अवरोध हुँदा आफ्नो औषधि आउनलाई केही ढिलाई भएको बताए । उनले ५ – ५ हजारका दरले तीन लटमा आफूहरुले औषधि ल्याउदै गरेको सुनाए ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले महामारीको पीडामा रहेका जनतालाई सहज र सुलभ मूल्यमा औषधि उपलव्ध गराउने नीति अनुरुप आफूहरुले तोकिएको मापदण्ड पुरा गरेका कम्पनीहरुलाई सुलभ दरमा औषधि उपलव्ध गराउन खुल्ला प्रतिस्पर्धाबाट आयातका लागि अनुमति दिएको बताए ।

विभागको नयाँ नेतृत्वको सुझबुझपूर्ण निर्णय
त्यसो त रेम्डेसिभिर कोरोना भाइरस (कोभिड १९) विरुद्ध उपचार गर्न तयार गरिएको औषधि होइन । कोरोनाका लागि यो अहिले पनि विश्वभर क्लिनिकल ट्रायलमै छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा पनि यसको क्लिनिकल ट्रायलका ल्याउन सिफारिस गरेपछि विभागले साउनको ३१ गते पहिलो पटक आयातका लागि अनुमति दिएको थियो । तुलनात्मक रुपमा प्रभावकारी मानिएको यो औषधि त्यसअघि नेपालमा अवैध ढंगले निकै महंगोमूल्य तिरेर कतिपय बिरामीका आफन्तले ल्याएका थिए ।

विभागले शुरुमा तीनवटा भारतीय कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादित दुई दुई हजार भाइल औषधि ल्याउन त्यसका नेपाली आयातकर्ताहरुलाई अनुमति दिएको थियो । तर त्यसमा कम्पनीपिच्छे मूल्य फरक थियो । एकैपटक अनुमति पाएका ती कम्पनीहरुले ल्याएका औषधिको मूल्य ६ हजार ४ सय देखि ८ हजार ६ सयसम्म थियो ।

क्लिनिकल ट्रायलमा भएको र सरकारले नै औषधिको मूल्य तिर्ने बताएकोले त्यसबेला बिरामीलाई खासै असर परेन । तर जब ट्रायल सकियो र बिरामीलाई आफै खरीद गर्न पर्ने भनियो त्यसपछि औषधि अभाव हुनथाल्यो । आयातकर्ताहरु विभागले थप अनुमति दिन ढिलाई हुँदा सप्लाई चेन भत्किएको प्रतिकृया दिन थालेका थिए । औषधि अभाव भएपछि बिरामीका आफन्तहरु फेरी व्ल्याकमा महंगो मूल्यमा औषधि खरीद गर्न बाध्य भएका थिए ।

त्यसबीचमा विभागको नेतृत्व फेरियो । महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाए । त्यसपछि रेम्डेसिभिर औषधिको उपलव्धता सहज र सुलभ दरमा हुन थालेको छ ।

‘गुणस्तरीय औषधि बिरामीले सहज र सुलभ मूल्यमा पाउनुपर्छ भन्ने मेरो नीति हो । तोकिएका मापदण्ड पुरा गरेर जसले सस्तो मुल्यमा दिन सक्छ उसले अनुमति पाउने व्यवस्था मिलाएँ । त्यसपछि औषधिको मूल्य एकैपटक एक हजार सस्तो भयो,’ भट्टराईले भने ।

हुनपनि त्यसअघि सबैभन्दा सस्तोमा औषधि उपलव्ध गराएको यतिकेमले ६४०० भन्दा एक हजार रुपैयाँ सस्तोमा हाम्रो मेडि कन्सर्नले ५४०० रुपैयाँमा १० हजार भाइल औषधि उपलव्ध गराउने सम्झौँता गरयो । त्यस लगत्तै यतिकेमले झन् सस्तो ५३६० रुपैयाँमा २० हजार भाइल औषधि ल्याउने गरी सम्झौँता गरयो । प्रतिस्पर्धा त्यतिमै रोकिएन अहिले डीकेएमले ८८० रुपैयाँ सस्तो हुने गरी ४४४० रुपैयाँमै १५ हजार भाइल औषधि ल्याउने सम्झौँता गरिसकेको छ ।

‘रेम्डेसिभिरको प्रभावकारिता राम्रो भएरै माग बढेको हो । हामीले यसको सहज उपलव्धता होस् भनेरै ठूलो परिमाणमा सस्तो दरमा औषधि उपलव्ध गराएका हौँ । आजको दिनमा नेपाली बजारमा रेम्डेसिभिर औषधिको अभाव पक्कै छैन् । कालोबजारी पनि भएको छैन् । भएमा विभागमा सम्पर्क गर्न समेत हामीले आग्रह गरेका छौँ,’ विभागका प्रवक्ता सन्तोष केसीले भने ।

एघार वटा कम्पनीलाई पत्र पठाइयो
विभागमा रेम्डेसिभिर आयातका लागि अरु एघारवटा कम्पनीले पनि निवेदन हालेका छन् । तर ती निवेदनका लागि तोकिएको मापदण्ड पुरा भएको छैन् । त्यसैले विभागले आयात अनुमतिका लागि चाहिने डकुमेन्ट पुरा गर्न एक साताको अल्टिमेटम दिएको छ ।

‘कतिपय निवेदकले बाहिर बजारमा हामीलाई अनुमति दिइएन भन्ने हल्ला पनि सुनियो । त्यसै औषधि आयात गर्न त पाइदैन । त्यसका लागि विभागले मापदण्ड तोकेको छ । त्यो पुरा हुनुपरयो । अ ती एघारवटा कम्पनीले पेश गरेको कागजातमा त्यो छैन् । त्यसैले हामीले पत्र पठाएका छौँ । एक साता भित्र मापदण्ड पुरा गर्नका लागि हामीले पत्र समेत पठाएका छोँ,’ महानिर्देशक भट्टराई भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *