सेती प्रादेशिक अस्पताल र धुलिखेल अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, १० भदौ । पछिल्लो चौबिस घण्टामा सेती प्रादेशिक अस्पताल र धुलिखेल अस्पतालमा एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए ।
फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमित उपचारत रहेको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ ।
त्यसैगरी धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताए ।
पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना सङ्क्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन् । बाँकी ९८ सङक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ । रासस
सम्पर्क इमेल : [email protected]