रेमिडिसिभिर औषधि ल्याउन दिन किन ढिलाई ?

काठमाडौँ, २२ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड -१९ का गम्भीर बिरामीमा प्रयोग हुने रेमिडिसिभिर औषधिको आपतकालिन प्रयोगका लागि आयात स्वीकृत गर्न औषधि व्यवस्था विभागलाई निर्देशन गरेको आठ दिन भैसक्यो तर विभागबाट अझै स्वीकृत भएको छैन् । किन ढिलाई भयो ? विभागका अधिकारीहरुले यथेस्ट कारण  दिन सकेका छैनन् ।

विभागको यो ढिलाईले कोरोनाबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि आफन्तले ब्ल्याकमा औषधि किन्न बाध्य भएका छन् । विभागले स्वीकृत नदिएकै कारण अहिले कोरोनाको अति प्रभावित बनेको वीरगञ्जमा बिरामीका आफन्तले एक भाइल औषधिकै ५० हजार रुपैयाँसम्म हालेर ब्ल्याकमा औषधि किन्न बाध्य भएको औषधि व्यवसायीहरु बताउँछन ।

खासमा कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोभिड-१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

यसअघि यो एन्टिभाइरल इबोलाका बिरामीमा पनि प्रयोग गरिएको थियो ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी) का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अन्य औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको जनाएको छ ।

यो परीक्षणलाई ‘एडप्टेड कोभिड-१९ ट्रिटमेन्ट ट्रायल’ (एसीटीटी) नाम दिइएको थियो ।

यसअघि रेमिडिसिभिर र फाभीपिराभिर औषधिको आपतकालिन प्रयोगका लागि स्वीकृती पाउँ भन्दै व्यवसायीले समेत निवेदन दिएका थिए । मन्त्रालयले विभागलाई निर्देशन दिनु अघि हेल्थ टेक्नोलोजी एसिसमेन्ट कमिटीको बैठक बसेको थियो ।

सो बैठकले रेमिडिसिभिर कोभिड-१९ को उपचारका लागि आपतकालिन प्रयोग गर्नका लागि स्वीकृत दिन मिल्ने भन्दै प्रक्रिया अघि बढाउन निर्देशक दिएको थियो । सोही निर्देशन अनुसार मन्त्रालयले विभागलाई पत्र पठाएको हो ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले संकटको बेलामा विभागले ढिला सुस्ती गरी सयौँ संक्रमितको ज्यान जोखिममा राखेको बताए । उनले आयात गर्न स्वीकृति दिए प्रति भाइल १० हजारमै आउने भन्दै अहिले आम सर्वसाधारण व्लाकमा भारतबाट लुकाएर प्रतिभाइल ५० हजार रुपैयाँ समेत तिरेर उपचार गर्न बाध्य भएको बताए । ‘दैनिक विरामीको फोन आउँछ । डाक्टरहरुको फोन आउँछ । तर हामीले ल्याउन मिल्दैन् । किनकी मन्त्रालयको पत्र पाएपनि विभागका अधिकारीहरुले कुन स्वास्थ्यबाट प्रेरित भएर हो स्वीकृति दिन आनाकानी गरिरहेका छन्,’ उनले भने ।

त्यसो त कोरोनाबाट गम्भीर अवस्थामा पुगेका विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई बचाँउन भन्दै परिवारले प्लेन चार्टर गरी कलकत्ताबाट रेमिडिसिभिर औषधि चलाएको थियो ।

यस सम्वन्धमा विभागका महानिर्देशक नारायणप्रसाद ढकालसंग प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *