दुई जना ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना सिल

काठमाडौँ, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)मा कार्यरत दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँका एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
पीसीआर परीक्षणका क्रमा दुई जना ट्राफिक प्रहरीलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो । उनीहरुलाई सोही दिननै अस्पतालमा पठाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले संक्रमणपछि बग्गीखाना पूर्ण रुपमा लकडाउन गरिएको बताए । उनले भने म समेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’
उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।
महाशाखा मातहत ट्राफिक प्रहरीको संख्या १ हजार ५४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि बाँकी १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।
एसएसपी ढकालले जनशक्ति कम भएपछि कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर व्यवस्थापन मिलाउन खोजिएको बताए ।
सम्पर्क इमेल : [email protected]