कोरोना रोकथाम र जनस्वास्थ्यका लागि सरकारले ध्यान दिनु पर्ने २२ बुँदा

- नेपाली हेल्थ

३१ डिसेम्बर २०१९मा चीनको वुहान पहिलो पटक देखिएको नयाँ कोरोना भाइरस (कोभिड  -१९) को संक्रमणको डडेलोले विश्वका प्राय सबै मुलुकलाई छोइसकेको छ । यसको संक्रमणमा अहिलेसम्म साढे २४ लाख बढी व्यक्ति परेका छन् । १ लाख ६८ हजार बढी व्यक्तिले ज्यान गुमाई सकेका छन् ।

नेपालमा अहिलेसम्म ३१ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ जना उपचार पछि घर फर्किसकेका छन् । सुखद कुरा, अहिलेसम्म अस्पतालमा भएकाहरुको पनि स्वास्थ्यस्थिति सामान्य छ । भाइरस देखिएको छिमेकी देश चीनमा अहिले संक्रमणको अवस्था नियन्त्रणमा छ । तर दक्षिणी छिमेकी भारतमा यो बढ्दो क्रममा छ । यसले नेपालमा खतरा बढाएको छ ।

यसबाट जोगिन सरकारले थप नयाँ रणनीति बनाउनुपर्ने देखिएको छ । नयाँ रणनीतिमा कतिपय अहिलेकै क्रियाकलापलाई निरन्तरता दिनु पर्ला, कतिपय नयाँ थप्नु पर्ला । सरकारले अहिले कार्यमा केही थप गर्नुपर्छ कि ? वा केही नयाँ नयाँ विषयमा पनि सरकारले ध्यान दिनु पर्ला ? यसै सन्दर्भमा आज मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व बर्गलाई नीतिगत निर्णय गर्न सहयोग पुगोस भनेर २२ बुँदे सुझाव दिएको छु । ती सुझावहरु यस्ता छन् : 

१. क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थापन :

कोरोना भाइरस (कोभिड – १९) सम्भावित र संक्रमित व्यक्तिलाई राख्न अहिले धेरै ठाँउमा क्वारेन्टिन र आइसोलेसन बनाइएको छ । तर त्यो क्वारेन्टिन र आइसोलेसन कस्तो छ ? त्यहाँ महिला बालबालिकाहरु पनि रहन पर्न सक्छ । उनीहरुका लागि सुरक्षित छ ? क्वारेन्टिनमा महिलाहरुलाई छुट्टै बाथरुम, ट्वाइलेट छ कि छैन् ? महिनावारीका बेला चाहिने सेनेटरी प्याड लगायतका सामग्रीको उपलव्धता कस्तो छ ? क्वारेन्टिनमा रहेका बालबालिकालाई खेलौना वा भुल्ने सामग्री छ कि छैन् ? यदि छैन भने यी कुराको व्यवस्थापन तत्काल गर्नु जरुरी छ । क्वारेन्टिनमा कतिपय महिलाहिंसा भएको भन्ने समेत खवर सुनिन थालेको छ । यसले क्वारेन्टिनमा  सुरक्षा बढाउनु पर्ने प्रष्ट्याएको छ । यसतर्फ सम्वन्धीत निकायको ध्यान जानुपर्ने जरुरी देखिन्छ ।

२. औषधिको उपलव्धता :

क्वारेन्टिन र आइसोलेसन स्वस्थ मान्छे संक्रमणमा परेर मात्रै जाने ठाँउ होइन । त्यहाँ जो पनि जानसक्छ । जस्तै दीर्घ रोगी, नियमित औषधि खानुपर्ने व्यक्ति । उनीहरुको लागि नियमित खाने गरेको औषधिहरुको उपलव्धता कस्तो छ ? अझ अहिले त देश लकडाउनमा गएको अवस्था छ । यो बेला घरमै बसेका दीर्घरोगीहरुको औषधिको सहज उपलव्धता गराउन जरुरी छ । सम्वन्धित निकायको यस तर्फ जान जरुरी छ ।

३. मौसमी स्वास्थ्य समस्याको व्यवस्थापन :

गर्मी मौसम शुरु भएको छ । अब देशका तराई तथा पहाडी भागमा लामखुट्टे, सर्पदशंको प्रकोप बढ्न थाल्छ । हावा हुरी, असिना पानी, चट्याङ पर्ने यहि बेला हो । अत हामीले बनाएका क्वारेन्टिन र आइसोलेसन स्थल ती अवस्थाले प्रभाव नपर्ने खालको हुनु पर्छ । क्वारेन्टिनमा लामखुट्टेबाट जोगाउन झुलको अनिवार्य व्यवस्था हुनु पर्‍यो । सरसफाई गर्नु परयो । झ्याल ढोकामा सर्प पस्न नसक्ने गरी जालि ठोक्नु पर्‍यो । स्वस्थ खाना खाजाको व्यवस्था हुनुपर्छ ।

४. क्वारेन्टिनमा बस्नेलाई भत्ता :

क्वारेन्टिनमा बस्नेहरुलाई न्युनतम ज्याला सरह हुने गरी भत्ताको व्यवस्था गरेमा कम्तिमा पनि दैनिक मजदुरी गरेर जीवन गुजारा गर्नेहरुलाई राहत हुन्थ्यो । केही स्थानीय तहले त्यस्तो व्यवस्था गरेको भन्ने पनि सुनिएको छ । साच्चिकै त्यस्तो व्यवस्था गर्न सके अनि सहज रुपमा क्वारेन्टाइनमा बस्थे । क्वारेन्टिनबाट भाग्ने प्रबृत्ति अन्त्य हुन्छ । पछिल्ला दिनमा क्वारेन्टिनमा बस्नेहरु भागेको भन्ने खवर समेत सार्वजनिक भएको छ ।  त्यसैले यसको सुरक्षा व्यवस्थामा पनि थप कडाई गर्नुपर्ने देखियो । स्वास्थ्य मन्त्री कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको सदस्य समेत भएको नाताले यो विषयमा पनि समितिमा छलफल भयो भने राम्रो सरकारको भूमिका अझ प्रभावकारी देखिनसक्थ्यो ।

५.  पीपीई व्यवस्थापन :

संसारभर अहिले पीपीईको अभाव छ । अमेरिका, बेलायत जस्ता देशहरुमा समेत अभाव भएर स्वास्थ्यकर्मीहरुले जोखिममा काम गर्न परेको, पीपीईविना काम गर्न पनि परेको भन्ने खवर आइरहेका छन् । विश्वव्यापी अभाव हुँदा हामीकहाँ अभाव नहुने कुरै भएन । यद्धपी सरकारले न्युनतम रुपमा व्यवस्थापन गरेको बताएको छ । तर आगामी दिनमा संक्रमणले कडा रुप लियो भने यसको चरम अभाव हुनसक्छ । सो कुरालाई मध्यनजर गर्दै केहि चिकित्सकहरुले एन -९५ मास्क लगायत पीपीईका सामग्रीहरु रिसाइकल गर्न पहल गर्दैछन् । यसलाई व्यवस्थित गर्न र सहयोग गर्न साथै निर्देशिका बनाउन पनि मन्त्रालयले छलफल चलाउने हो कि ?

६.अस्पतालहरुमा आइसोलेसन वार्ड अनिवार्य :

विश्वभरको अवस्था हेर्दा कोरोना संक्रमण तत्कालै नियन्त्रणमा आउने छाँट छैन । यसको अर्थ हामी पनि संक्रमणको जोखिमबाट ढुक्क हुने अवस्थामा छैनौँ । यदि युरोप अमेरिकामा जस्तै एक्कासी महामारीको अवस्था आयो भने के गर्ने भनेर पनि हामी केही समय तयारीमा बस्नु पर्छ । त्यसका लागि सरकारले नीतिगत निर्णय गरी सबै सरकारी तथा निजी अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुमा अनिवार्य रुपमा आइसोलेसनको वार्ड बनाउनु पर्छ । अहिले नै आवश्यक नहोला तर यसले जुनसुकै बेला उग्र रुप लिन सक्छ भनेर दीर्घकालिन योजनाका साथ  तयारीमा भने बस्नै पर्छ ।

७. स्वास्थ्यकर्मीको दरबन्दी बढाउने :

नेपालमा महामारी रोक्नका लागि अहिलेको स्वास्थ्यकर्मीको दरबन्दी अप्रर्याप्त छ । त्यसैले थप दरबन्दीका लागि पहल गरौँ । आगामी बर्षको बजेट बनाउने तयारी भइरहेको छ । त्यसैले अहिले नै यसबारे सोचौँ । किनभने जनशक्ति बढी हुँदा स्वास्थ्य सेवाको प्रभावकारीता र गुणस्तरीयतामा समेत बृद्धि हुन्छ । लोकसेवा आयोग, अर्थमन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वयं प्रधानमन्त्री कार्यालयले स्वास्थ्यकर्मीको गम्भीरतालाई बुझौँ ।

८. क्राइसिस कम्युनिकेशनमा जोड दिऔँ :

प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्री, पर्यटन मन्त्री, परराष्ट्रमन्त्री सबैले विशेष गरी क्राइसिस कम्युनिकेशनमा जोड दिनु पर्‍यो । स्वास्थ्यमन्त्रीको तर्फबाट पहिले भन्दा अलि थप र प्रभावकारी पहल भएको अनुभव देखिएको छ । अब फेसबुक र अन्य सामाजिक सञ्जालहरुमार्फतबाट समेत लाइभ गरेर हुन्छ कि, वक्तव्य दिएर हुन्छ कि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत समग्र जनताको मनोबल बढाउने काम र कुरा गरौँ ।

९. प्रदेशसंग समन्वय गर्ने :

मुलुक संघीय संरचनामा गएको अवस्था छ । अहिले केन्द्रबाहेक प्रदेश र स्थानीय तहका सरकार छन् । स्वास्थ्यकर्मी पनि अहिले प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएको अवस्था छ । र, अहिले सबै जसो सम्भावित संक्रमितको खोजी उपचार र रेखदेख पनि प्रदेश तथा स्थानीय सरकारले गरेका छन् । त्यसैले स्वास्थ्यमन्त्रीले सबै प्रदेशका सामाजिक मन्त्रीहरुसंग बेला बेला भिडियो कन्फरेन्स गर्ने र जानकारी लिने, आवश्यक परेका बेला सल्लाह र सहयोगको हात बढाउने गर्नु बान्छनीय हुनेछ । हुन त यी कामहरु भएका छन् तर यसलाई अझ बढी गर्नु मनासिव हुन्छ ।

१०. कोरोना परीक्षणलाई बढाउने :

कोरोना भाइरसको संक्रमणको अवस्था पत्ता लगाउन परीक्षणको दायरा बढाउनुको विकल्प छैन । हुन त पछिल्लो समय पीसीआर र आरडीटीका परीक्षणहरु बढ्दै गएको भन्ने सुनिएको छ । तर यसलाई अझ ठूलो स्केलमा लैजाने । पीसीआर सेवा थप बिस्तार गर्ने, एन्टी बडी र एन्टी जेन टेस्टहरु बिस्तार गर्ने ।  यसले हामीले संक्रमितहरुको भेटाउन सक्छौँ र सम्भावित महामारी हुनबाट जोगाउन सक्छौँ ।

११. जनस्वास्थ्यका कार्यक्रमलाई ध्यान दिने :

नियमित रुपमा चलि आएका खोप, क्षय कुष्ठ प्रभावित व्यक्तिहरु, एचआईभी संक्रमितलाई बाढिने औषधिहरु जसमा थोरै हेलचेक्राई गर्दा दीर्घकाल सम्म असर पुग्छ । अहिले स्वास्थ्यको ध्यान कोरोनामा मात्रै केन्द्रीत छ कि जस्तो पनि लाग्छ । यी जनस्वास्थ्यका नियमित कार्यलाई यथावत रुपमा र प्रभावकारी ढंगले सञ्चालन गरिराख्नुपर्छ । अहिले यसमा ध्यान दिइएन भने त्यसको नतिजा तत्काल वा केही समय पछि नै भयावह रुपमा देखिन्छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वले यसलाई गम्भीर ढंगले लिएर मातहतका निकायलाई कडाईका साथ निर्देशन दिनु पर्ने देखिन्छ ।यसैगरी क्षयरोग, कुष्ठ प्रभावित व्यक्तिहरु, एचआईभी संक्रमित, लगायतका अन्य दीर्घ रोगका विरामीलाई अर्थमन्त्रालयले जारि गरेको निर्देशिकाको मापदण्डमा पर्ने व्यक्तिहरुलाई प्राथमिकताका साथ राहत वितरण गर्न प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिनु पर्ने देखिन्छ ।

१२. सल्लाह लिने र समाधान खोज्ने : 

स्वास्थ्य मन्त्री र सार्क देशका समकक्षीबीच भर्चुअल मिटिङ भयो भन्ने सुनिएको थियो । यस्तै मिटिङ कोरोना नियन्त्रणका लागि देश विदेशमा रहेर काम गरिरहेका विज्ञहरुसंग गर्न सकिन्छ । सल्लाह अनुभव र तरिकाको आदानप्रदान गर्न सकिन्छ । जनस्वास्थ्य विज्ञ होलान, प्रयोगशाला तर्फ बायोमेडिकल ईन्जिनियरहरु होलान उनीहरुसंग सल्लाह लिने र आवश्यकताका आधारमा त्यसलाई कार्यान्वयनमा ल्याउन सकिन्छ ।

१३. मानसिक स्वास्थ्यमा ध्यान दिने :

लकडाउन लम्बिदै जाँदा यसले पार्ने आर्थिक, सामाजिक र मानसिक क्षतिको अहिले लेखाजोखा भइसकेको छैन । तर यसले ठूलो क्षति पार्ने जगजाहेर नै छ । त्यसैले अहिले देखि नै मानसिक स्वास्थ्यको लागि अनलाइन तथा टेलिमेडिसिन प्रविधिबाट परामर्श सेवा सञ्चालन गर्न सकिन्छ । मनोसामाजिक परामर्श सेवा पनि  तत्कालै शुरु गर्नु पर्छ । नत्र यसले अर्को क्षति पुर्‍याउन सक्छ ।

१४. सूर्तिजन्य पदार्थको प्रयोगलाई प्रतिवन्ध लगाउने :

विश्व स्वास्थ्य संगठनले कोरोना हावाबाट सर्न सक्ने भन्दै ‘एयर वर्न’ रोगको सूचीमा घोषणा गरेको छ ।  त्यसैले जथाभाबी थुक्दा यसको संक्रमण अरुलाई सर्न सक्ने हुँदा सार्बजनिक स्थानमा थुक्न प्रतिबन्ध लगाउनु जरुरी छ । पान , गुट्खा, सुर्ती, चिविंग गम , जर्दा, खैनी, पान मसला लगायतका सामग्री उत्पादन, बिक्रि, वितरण र उपभोगमा हाललाई कोरोना नियन्त्रण नभएसम्मको लागि निषेध गर्ने। साथै उक्त सामग्रीहरु किनबेच तथा उपभोग र सार्बजनिक स्थानमा थुकेमा कारबाही गर्ने व्यवस्था गर्ने । यसैगरी सार्बजनिक सूचना मार्फत सो सम्बन्धि जानकारी गर्ने काम तत्काल अघि बढाऔँ । हाम्रै छिमेकी देश भारतको हामीसंगै टासिएको उत्तरप्रदेश र विहार राज्यमा यसैगरी प्रतिवन्ध लगाएको छ ।

१५ . मध्यपान बिक्री वितरण र उपभोगमा रोक लगाउँ : 

लकडाउनको अवधीभर मदिराजन्य पदार्थ बिक्री वितरण र उपभोगमा निषेध गरौँ । किनभने यसले घरेलु हिंसा र महिला हिंसा हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पनि सो सिफारिस गरेको छ ।

१६.  घरमै आइसोलेसन बनाऔँ  :  

कोरोनाको लक्षण सबैलाई देखिदैन । संक्रमित सबैलाई अस्पताल भर्ना गर्न जरुरी पनि छैन । निकै थोरै प्रतिशत मात्रै क्रिटिकल अवस्थामा पुग्ने हो । जसलाई अस्पतालको आइसीयू सहितको सपोर्ट चाहिन्छ । साधारण र रोगसंग लड्न सक्ने क्षमता भएका व्यक्ति घरमै आइसोलेसनमा बसे पनि हुन्छ । तर त्यसको उपयुक्त व्यवस्थापन मिलाइदिन सहजीकरण स्वास्थ्यकर्मीहरुले नै गरिदिनु पर्छ । घरमा बस्दाको नियम सिकाउने मात्रै होइन निगरानी पनि गर्नुपर्छ । यसले अस्पतालमा हुने भिड र अति गम्भीर विरामीका लागि अस्पतालका बेड उपलव्धतामा सहजता हुन्छ ।

१७. लान्छना रोक्न चेतना बढाऔँ  : 

कोरोना संक्रमित र उनका परिवारप्रति छिमेकी, आफन्त र अन्य व्यक्तिले हेय भाव, विभेद, दुर्व्र्यहार गरेका कुराहरु यताकता सुनिन थालेको छ । यो एक खालको स्टिग्मा हो । यसलाई तोडन जरुरी छ । त्यसका लागि सचेतनाको खाँचो छ । कोरोना सम्वन्धि लान्छना, विभेद र दुर्र्वेहार हुन नदिने बाताबरण बनाउनु छ । नत्र पछि केश बढ्दै जाँदा समस्या हुन सक्छ। सबैको हकाधिकार, संक्रमित व्यक्ति लगायत सबैको मानवअधिकारको सम्मान र रक्षा गर्नु पर्छ । सबैलाई सदैव मानवीय व्यवहार गर्नुपर्छ भन्ने कुरा सबैलाई बुझाउन जरुरी छ ।

१८. धार्मिक स्थलमा निगरानी बढाऔँ  :

टाढाको कुरा नगरौँ दक्षिण कोरियालाई केही दिन कोरोनाले हम्मे हम्मे पारयो । अहिले भारतलाई पार्दैछ । कोरियामा एउटा चर्चबाट यसको विध्वंश शुरु भएको थियो । भारतमा एउटा मस्जितमा भएको भेला निकै विवादमा परेको छ । नेपालकै पनि पछिल्ला संक्रमण हेर्ने हो भने मस्जितमा बसेकालाई बढी देखिएको छ । त्यसैले देशभरका सबैखाले धार्मिकस्थल मन्दिर, मस्जित, गुम्बा, चर्च आदिमा निगरानी बढाउन जरुरी छ । दक्षिण तर्फ खुला सिमाना छ । कतिपय ठाँउमा आइजाईलाई रोक्न हम्मे हम्मे परेको छ । त्यसैले बोर्ड इलाकामा परीक्षणको दायरा अझ बढाउँ ।

१९ जेलमा भिडभाड हुन रोकौँ : 

यो भाइरसको संक्रमणको खतरा हुने जोखिमस्थल भनौ त्यो मध्येको एक जेल पनि हो । त्यसैले जेलमा आइजाई रोकौँ । भिड कम गरौँ । आइजाई भै रहयो भने त्यसले जोखिम बढाउँछ । त्यो अवस्थामा निश्चित मापदण्ड राखेर कैदीबन्दीलाई रिहाई समेत गर्नपर्न सक्छ ।

२० बृद्धाश्रमलाई विशेष ध्यान दिऔँ :

कोरोना भाइरसको संक्रमणमा पर्न सक्ने स्थान भनेको बृद्धाश्रममा बसेका बृद्धबृद्धा पनि हुन् । विश्व स्वास्थ्य संगठनले ६० बर्ष माथिकालाई यो भाइरसले बढी आक्रमण गर्ने बताइसकेको अवस्था छ । बृद्धाश्रममा बस्ने बुढा बुढीहरु कतिपय रोगबाट समेत थलिएका हुन्छन् । त्यस्तो अवस्थामा भाइरस छिर्यो भने त्यसले भयावह परिणाम ल्याउन सक्छ । यसमा सरकारले विशेष ध्यान दिनु पर्छ ।

२१. स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहन :  

कोरोना भाइरस विरुद्ध लडने मुल सीपाई भनेको स्वास्थ्यकर्मी हुन् । उनीहरुको सुरक्षाको प्रत्याभूति सहित प्रोत्साहनका प्याकेज सार्वजनिक गरौँ । स्वास्थ्यकर्मीमाथि दुर्व्र्यहार गर्नेलाई तुरुन्त कारवाही गरौँ । यस्तै कोरोना विरुद्धको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रयाप्त पीपीईको व्यवस्था गर्ने । स्वास्थ्यकर्मी बाहेक अस्पतालमा सरसफाई लगायतको काम गर्ने कर्मचारी, कोविड १९ संक्रमित या संकास्पद व्यक्तिलाई ओसार्ने एम्बुलेन्स चालकको पनि सरकारको तर्फबाट बीमा हुनु जरुरी छ ।

२२. सूचना एकद्धार गरौँ :

कोभिड महामारीविरुद्ध सूचना सार्वजनिक गर्न अहिले स्वास्थ्यमन्त्रालयले मोवाइल एप्स ल्याएको छ । यस्तै एप्स नेपाली सेना र नेपाल प्रहरी ल्याइसकेको छ । अब प्रदेश सरकार तथा स्थानीय तहका पालिकाहरुले छुट्टा छुट्टै एप बनाउने क्रममा छन् । यसरी किन धेरै एप्सको प्रयोग गर्ने ? एउटैबाट सूचना आयोभने त्यो सबैलाई सहज हुन्छ । फरक फरकबाट आउने सूचना फरक फरक पनि हुनसक्छ । त्यसैले हामीले एएटै एप्स प्रयोग गरौँ । त्यसमा सबैको समेटौँ पनि । भारतले पनि एउटा यप्प आरोग्य सेतुको प्रयोगलाई अहिले व्यापक बनाएको छ । त्यसैले सूचना एकद्धार गर्न स्वास्थ्यमन्त्री ज्यूको ध्यान जाओस ।

# माथि उल्लेखित सुझावहरु डा. कोइरालाका निजी बिचार हुन् ।

थप समाचार


Facebook Comment