साढे १२ टन मेडिकल सामग्री लिएर आयो नेपाल एयरलाइन्सको वाइडवडी विमान
काठमाडौँ, १५ चैत । कोरोना भाइरसको परीक्षण तथा उपचारका लागि प्रयोग हुने मेडिकल सामग्री चीनबाट आएको छ । नेपाली व्यापारीले खरीद गरिएका मेडिकल सामग्री लिएर नेपाल एयरलायन्सको वाइडबडी विमान आज विहान करीब साढे ५ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो ।
पर्यटन सचिव केदारबहादुर अधिकारीका अनुसार विमानमा १२.६६ टन मेडिकल सामग्री आएको छ । यसअघि तीस टन सामग्री आउने भनिएको थियो । तर खरीद गरिएका सामानहरु ग्वान्जाओमा आइपुग्नै केही ढिलाई भएको र केही सामग्रीहरु भन्सार पास हुन बाँकी रहेकोले पहिले भनिए भन्दा केही सामग्री कम आएको हुनसक्ने उनले बताए ।
त्यसो त सामान जम्मा हुन ढिलाई हुँदा विमान निर्धारित समय भन्दा झण्डै ८ घण्टा ढिला काठमाडौँ आएको थियो । ‘हिजो राती १० बजे तिर काठमाडौँ आउने तालिका थियो तर एयरपोर्टसम्म सामान आउनै ढिलाई भएछ । त्यसैले यता आउन पनि ढिलाई भयो,’ सचिव अधिकारीले भने ।
उनले यहि विमानबाट चिनियाँ अर्वपतिहरुको संस्था अलिवावा फाउन्डेसन, ज्याक्मा फाउन्डेसन तथा सिचुवान प्रान्तबाट आएको सहयोग सामान समेत आएको हुनसक्ने संकेत गरे ।
आज आएका मेडिकल सामग्रीमा २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर १०० थान छन्।
त्यसैगरी, मोनिटर-२,००० थान, एबिजी मेसिन-२० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन रहेका छन्।
त्यसैगरि १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २०,००० थान पिसिआर किट्स र २,००० थान थर्मल थर्मोमिटर रहेको बताइएको छ ।
सचिव अधिकारीले आगामी २ अप्रिलमा मेडिकल सामग्री लिन वाइडबडी पुन ग्वान्जाओ जाने तालिका रहेको जानकारी दिए ।
यो सामग्री आएसंगै अस्पताल तथा प्रयोगशालामा देखिएको तत्कालको सामग्री अभाव टर्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज आएका सामग्रीहरु केन्द्र सहित सातवटै प्रदेशका अस्पताल तथा ल्यावहरुमा पठाउने बताएको छ ।
यस्तै आवश्यक परेका निजी क्षेत्रका अस्पताललाई समेत उपलव्ध गराउने जनाएको छ ।
सम्पर्क इमेल : [email protected]