उत्तरप्रदेशको सीमा जोडिएको स्वास्थ्य चौकीकी अनमीको प्रश्न – हामीलाई खतरा हुँदैन र ?

धनकान्ती खनाल, अनमी जहदी स्वास्थ्य चौकी कपिलवस्तु

विश्वव्यापी माहामारी बनेको कोरोना भाइरसको संक्रमणको कहरबाट नेपाल अहिलेसम्म जोगिएको छ । अहिलेसम्म देशमा नयाँ केश नदेखिएकाले हामीपनि सुरक्षित छौँ भन्ने मानेका छौँ ।

तर, पछिल्लो दिनमा भारतमा यसको संक्रमण बढ्न थालेको र त्यसमा पनि सीमा जोडिएको उत्तरप्रदेशमा समेत कोरोना भाइरसको संक्रमण देखिदा हामी भने अलि असुरक्षित महसुस गर्न थालेका छौँ ।

किनभने ,
म कार्यरत कपिलवस्तु नगरपालिका – ११ को जहदी स्वास्थ्य चौकीमा अहिले पनि दैनिक ८० देखि ९० जना विरामी स्वास्थ्य जाँचका लागि आउँछन् ।

यहाँबाट उत्तरप्रदेशको सिमा बढीमा १० – १२ किलोमिटर पर्दछ ।

मुस्लिम बाहुल्य यस क्षेत्रका बासिन्दाको नातागोता आफन्त भारतमा रहेका छन् । खुल्ला सिमा छ । त्यसैले दैनिक जसो किनमेल गर्न भारत नै जान्छन् । आफन्त भेटघाट गर्न भारत नै जान्छन् । अर्थात उत्तरप्रदेशमा जाउ आउ निर्वाध चलेको छ । उता संक्रमण बढ्दै गएको अवस्था र यताबाट निर्वाध आईजाई भइरहेको अवस्थामा संक्रमणको डर हामीलाई हुनु स्वभाविक नै हो ।

डर लाग्नुको अर्को कारण पनि छ ।

त्यो के भने, हामी जोखिमयुक्त ठाँउमा बसेर जोखिम युक्त व्यक्तिको उपचार गरिरहेका छौँ तर त्यसरी उपचारमा सहभागी हुँदै गर्दा हामीलाई चाहिने अत्यावश्यक सामग्री छैन् ।

कोरोनाभाइरसबाट जोगिन सावुन पानीले हात धुने भनिएको छ तर स्वास्थ्य चौकीमा सावुन छैन । न थर्मल गन थर्मोमिटर (इन्फाइराइड थर्मोमिटर) छ । मास्क पनि उपलव्ध छैन् । केही दिन अघि ५० वटा ग्लोव्स आएको थियो । त्यतिले के हुन्छ र ?

हरेक दिन जसो भारत गएर फर्केका यहाँका स्थानीयलाई उपचार दिनुपर्ने हाम्रो बाध्यता छ, तर सुरक्षाका लागि चाहिने न्युनतम उपकरण तथा औजारहरु नहुँदा हामीलाई साच्चिकै डर छ ।

यो हाम्रो मात्रै होइन, सिमाक्षेत्रमा रहेका स्वास्थ्य चौकी र त्यहाँ कार्यरत सबैको व्यथा हो ।

हामीले आएका स्थानीय वासिन्दालाई स्थानीय भाषामै कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायबारे सचेतना पनि प्रदान गर्दै आएका छौँ, अहिले भारत जाने आउने गर्दा कोरोना भाइरसको खतरा छ भन्ने पनि बताएका छौँ तर हाम्रो कुरा उनीहरुले त्यति सहजै मान्ने अवस्था पनि छैन् । उनीहरुको बाध्यता छ भन्छन् । सबैले यो कुरा र कोरोनाको यो खतरा पनि त बुझ्दैनन् ।

अन्तमा,

हामीले यहाँबाट भन्न कति मिल्छ मिल्दैन थाह छैन् । तर केही दिनका लागि बोर्डर सिल गर्नैपर्छ । आवात जावत रोक्ने हो भने यसको संक्रमण नेपाल तर्फ आउने सम्भावना रोकिन्छ । दोस्रो कुरा सम्भावित संक्रमणबाट जोगिन हामीलाई थर्मल गन थर्मोमिटर उपलव्ध हुनुपर्छ ।

मास्क, ग्लोव्स, सावुन वा ह्याण्ड स्यानिटाइजर पनि उपलव्ध हुनुपर्छ । यो सुरक्षाको न्युनतम साधन पनि त हो भन्ने कुरा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका जिम्मेवार अधिकारीले बुझ्न परयो । र तत्काल ती मेडिकल उपकरण उपलव्ध गराउनुपरयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “उत्तरप्रदेशको सीमा जोडिएको स्वास्थ्य चौकीकी अनमीको प्रश्न – हामीलाई खतरा हुँदैन र ?

  1. Ghus khor neta aafu ta purai bebasta garera gharma ghusi sakey tara e lata janata lai vaney euta mask samet badna sakeko xaina
    Aakhir k garxan easta buddhi bihin neta le desh ko bikash
    Pailey ta garva lagthyo nepali nagarik ho bhanna ma
    Tara e neta le garda desh ma basnai mann nalagni garai sakey

Leave a Reply to Suman khanal Cancel reply

Your email address will not be published. Required fields are marked *