कोरोना महामारी : इटलीको जस्तै अवस्था आए स्वास्थ्यको तयारी के छ ?
काठमाडौँ, २९ फागुन । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले कोरोना भाइरसको फैलँदो संक्रमणको अवस्थालाई विश्वव्यापी महामारी (पेन्डामिक) को संज्ञा दिएको छ ।
बुधबार जेनेभास्थित डव्लुएचओको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा डव्लुएचओका प्रमुख डा. टेड्रोस अदानोम घेब्रियससले अपेक्षा विपरित भाइरसको संक्रमण फैलँदै जाँदा पेन्डामिक घोषणा गर्नुपरेको स्पष्ट पारेका छन् ।
उनले त्यसबेला भनेका थिए, ‘चीनमा संक्रमण त घटेको छ तर चीन बाहिर पछिल्लो दुई हप्तामा कोरोना भाइरसको संक्रमण हुनेको दर १३ गुणाले बढेको छ ।’
पछिल्लो समय इटली तथा इरानमा यसको संक्रमण तथा मृत्युदर भयावह देखिएको छ । इटलीका अधिकारीहरुले पछिल्लो तीन सातामा १० हजार बढीलाई यसको संक्रमण देखिएको र ८ सय बढीको र्मत्यु भईसकेको छ ।
इटली तथा इरानमा संक्रमण देखिन शुरु गर्दा देखि नै डव्लुएचओले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकहरुको सूचीमा राखिसकेको छ ।
यद्धपी अहिलेसम्म नेपालमा एक जना बाहेक कोरोना भाइरस संक्रमित भेटिएको छैन् । संक्रमित व्यक्तिपनि अहिले निको भएर सामान्य जीवनयापन गरिरहेका छन् ।
यद्धपी स्वास्थ्यका विज्ञहरुले विश्वभर फैँलदोक्रममा भएको कोरोना भाइरसबाट मुलुकलाई जोगाउन तत्काल चनाखो र विशेष तयारीमा लाग्न जोड दिएका छन् । उनीहरले भनेका छन्, ‘नेपालको अहिलेको तयारी अपुग छ । यसलाई थप सुधार गर्न सकिएन भने जुनसुकै अवस्थामा नेपालमा कोरोनाको भयावह अवस्थामा फस्न सक्छ ।’
तर स्वास्थ्यका अधिकारीहरुले डव्लुएचओको अनुसार नै तयारीलाई तिब्रता दिएको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सम्भावित जोखिमलाई दुई कोणबाट विश्लेषण गरी तयारीलाई तिब्रता दिएको बताउँछन् । ‘हामीले दुईवटा कोणबाट विश्लेषण गर्दा एउटा चीनको जस्तो अवस्था र अर्को इटाली तथा इरानमा देखिएको जस्तो अवस्थालाई उदाहरणको रुपमा लिने गरेका छौँ । यदि त्यो अवस्था आएमा हामीले के के गर्छौँ भन्ने योजना बनाएका छौँ,’ उनले भने ।
चीनमा जस्तै फैलियो भने के छ तयारी ?
स्वास्थ्य मन्त्रालयले चीनको जनसंख्या र त्यहाँ कोरोना भाइरस फैलिएको अवधी र संक्रमितहरुको संख्यासंग नेपालको तुलना गर्दै सम्भावित अवस्थाको चित्रण गरेको छ । डा पोखरेल भन्छन्, ‘हाम्रो विश्लेषण के हो भने, यदि संक्रमणको दर चीनमा जस्तै देखियो भने, नेपालमा एक महिना भित्र १०० जनामा देखिन सक्छ । त्यसमध्ये ८० जना सामान्य अवस्थामा रहन्छन् । १५ जनालाई मध्यम खालको असर पार्न सक्छ । र बाँकी पाँच जनालाई ५ कडा असर अर्थात सीभीआर असर देखिन सक्छ । यो अवस्थालाई हामीले सजिलै नियन्त्रण गर्न सक्छौँ । टेकु अस्पतालले नै धान्न सक्छ । भन्ने हाम्रो बुझाई हो,’ उनले भने ।
इटाली वा इरानको जस्तो अवस्था आयो भने ?
स्वास्थ्य मन्त्रालयका अधिकारीले कोरोनाको संक्रमण इटाली वा इरानमा जस्तै तिब्र गतिमा फैलिने अवस्था आयो भने कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत सोचेको बताएको छ । इटाली र इरानको जस्तो अवस्था आएमा नेपालमा एक महिना भित्र १ हजार ४०० बढीमा संक्रमण देखिन सक्ने अनुमान स्वास्थ्यले गरेको छ ।
डा पोखरेल भन्छन्, ‘महिनामा १४०० संक्रमण भए पनि ८० प्रतिशत अर्थात ११२० जना सामान्य अवस्थामा रहन्छन् । १५ प्रतिशत अर्थात २१० जना मध्यम खालको अवस्था हुन्छ । बाँकी ५ प्रतिशत अर्थात ७० जना गम्भीर अर्थात सीभीअर अवस्थामा हुने अनुमान छ ।’
‘अहिलेको हाम्रो ध्यान इटाली वा इरानको अवस्था आयो के गर्ने भन्ने मै केन्द्रीत छ,’ उनले अगाडी थपे ।
के छ त तयारी ?
प्रमुख विशेषज्ञ डा पोखरेल भन्छन्, ‘त्यसका लागि ठूलो संख्यामा क्वारेन्टाइन र आईसोलेसन वार्डको जरुरी पर्छ । त्यसको लागि हामीले तयारी गरिरहेका छौँ ।’
मन्त्रालयले अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १८० जना, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पतालमा १२० जना, वीर अस्पतालको जापानले बनाइदिएको १०० बेडको नयाँ भवन आदि तत्काल प्रयोगमा ल्याउन सक्ने गरी तयारी गरेको छ । त्यसबाहेक टेकु अस्पताल, पाटन अस्पतालको आइसीयू संख्या पुरै बढाउने, टेकुलाई पुरै कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउने, न्युरोडमा रहेको सेनाको त्रिचन्द्र मेलिटरी अस्पतालको नयाँ भवन प्रयोगमा ल्याउने लगायतको योजना समेत छ ।
‘यो त काठमाडौँ केन्द्रीत योजना भयो । अब जिल्ला जिल्लामा फैलियो भने के गर्ने भन्ने बारेमा पनि हामीले तयारी गरेका छौँ । अहिले हरेक प्रदेशहरुले जिल्ला जिल्लामा क्वारेन्टाइन तथा आइसोलेसन वार्डहरु छुट्याएको अवस्था छ । सीमानाकाहरुमा आवात जावतमा कडाई गरिएको छ । जनचेतना मुलुक कार्यक्रमहरु पनि स्थानीय, प्रदेश र संघले समानान्तर रुपमा अघि बढाएको छ,’ डा पोखरेलले भने ।
परीक्षणको व्यवस्था ?
टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालाले एक सातामा ५ हजार बढीको कोरोना परीक्षण गर्न सक्ने बताएको छ । ‘त्यसबाहेक आवश्यक परेको खण्डमा निजी प्रयोगशालासंग पनि हामीले सहयोग लिने तयारी गरेका छौँ,’ डा पोखरेलले भने ।
सम्पर्क इमेल : [email protected]