प्रधानमन्त्री ओलीलाई एक साता अस्पताल राख्छौँ : प्राडा दिव्यासिंह शाह
काठमाडौँ, २२ फागुन । निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्यासिंह शाहले प्रधानमन्त्री ओली अझै एक सातासम्म त्रिवि शिक्षण अस्पतालमा रहने बताएकी छन् ।
विहीबार दिउसो त्रिवि शिक्षण अस्पतालमा पुगेका सञ्चारकर्मीलाई प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा सो कुरा बताएकी हुन् ।
‘प्रधानमन्त्री ज्यूको मिर्गौला प्रत्यारोपण निकै राम्रो भएको छ । प्रत्यारोपित मिर्गौलाले राम्रो काम गरेको छ । प्रत्यारोपण गर्दा दुईवटा जोखिम हुन्छ इम्युनोलोजिकल र इन्फेक्सन । त्यसमा इम्युनोलोजिकल जोखिम पार भएको छ । इन्फेक्सन पनि हामी हुन दिन्नौँ,’ उनले भनिन् ।
प्रधानमन्त्री ओलीले विहान कालो चिया खाएको र अब बेलुकासम्म जाउलो खुवाउने तयारीमा रहेको समेत उनले जानकारी दिइन ।
‘हामीले निकै पहिले देखि नै प्लान गरेरै यो प्रत्यारोपण यहाँ गरेका हौँ । सम्भावित जोखिमकाबारेमा पनि पहिले देखि नै अध्ययन् गरेका थियौँ । र अहिले हाम्रो अपेक्षा अनुसार नै विरामीको स्वास्थ्यमा सुधार भइरहेको छ,’ उनले भनिन् ।
प्रत्यारोपणमा सम्लग्न डाक्टर पवनराज चालिसेले प्रधानमन्त्री ओली र अंगदाता समिक्षा गौतम दुवैको स्वास्थ्य अवस्था सामान्य र सुधारउन्मुख भएको बताए । ‘हाम्रो टिमले अघि विहान विहान हेरयो । दुवैजनाको अवस्था एकदम राम्रो छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीका निजी सहयोगी राजेश बज्राचार्यले चिकित्सकहरुले आफूहरुलाई प्रत्यारोपण निकै राम्रो भएको बताएको जानकारी दिए । उनले भने, ‘हामीले पनि हेर्न पाएका छैनौँ । तर राम्रो भएको भन्नु भएको छ । उहाँहरु पनि खुशी हुनुहुन्छ । हामी पनि खुशी छौँ ।’
त्रिवि शिक्षण अस्पतालमा आज पनि विहानै देखि मन्त्रीहरु, सांसदहरु, पार्टी पदाधिकारी कार्यकर्ता, आफन्त तथा शुभचिन्तकहरु आएका छन् ।
सम्पर्क इमेल : [email protected]