यस्तो छ स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, कार्यकारीसहित चार सदस्यसंग सोधिएको आठ प्रश्न (पत्रसहित)

काठमाडौँ, १२ फागुन । स्वास्थ्य बीमा कार्यक्रम असफल उन्मुख हुन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र चार जना बोर्ड सदस्यलाई आठ बुँदे स्पष्टीकरण सोधेको छ ।

गत ७ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई सात दिन भित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिनेमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसाद, कार्यकारी निर्देशक रमेशकुमार पोखरेल रहेका छन् । यस्तै बोर्ड सदस्यहरु डा सतिशकुमार देव, डा दीपेन्द्रकुमार यादव, डा अनिरा बैद्य र प्रीती रमण छन् ।

उनीहरुलाई स्वास्थ्य बीमा कार्यक्रम प्रवद्र्धन विस्तार गर्ने तर्फ ध्यान नदिएको, क्लेम रिभ्यु रिम्बर्समेन्ट कार्य समयमै गर्न ध्यान नदिएको, स्वास्थ्य संस्थाहरुसंग आर्थिक प्रलोभनमा सोधभर्ना हुने गरेको व्यापक जनगुनासोमा ध्यान नदिएको । नक्कली क्लेमको छानविन र कार्वाही नगरेको । स्वास्थ्य सेवा लिन विमितले व्यहोर्नु परेको झन्झट कम गर्न स्वास्थ्य संस्थाहरुसंग समन्वय नगरेको आरोप छ ।

यस्तै बीमा बोर्डको बैठकमा आफ्नो सुविधा भत्ता आदिमा मात्रै छलफल गरेको, कर्मचारी विनियमावली, विभिन्न समितिहरु निर्देशिकाहरु निर्माण नगरी अस्तव्यस्त बनाएको समेत आरोप लागेको छ ।

यसैगरी सदस्य दर्ताका लागि आवश्यक फारम रसिद तालिमको व्यवस्थापन समयमै गर्ने तर्फ ध्यान नदिएको, सेवा वापतको रकमबाट घटेको जानकारी सदस्यहरुलाई मोवाइल एसएमएस मार्फत दिने व्यवस्था लागू नगरेको र सदस्यता बृद्धि रिन्युअल दर बढाउने तर्फ ध्यान नदिएको जस्ता आरोप लागेको छ । मन्त्रालये यी प्रश्नको चित्तबुझ्दो जवाफ नदिए बर्खास्ती गर्ने योजनामा छ ।

राज्यमन्त्रीको सिफारिसपछि सोधियो स्पष्टीकरण

स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य बीमा कार्यक्रम हेर्ने जिम्मा राज्यमन्त्री नवराज रावतलाई दिएका छन् । रावतले अघिल्लो विहीबार बीमा बोर्डका अध्यक्ष, कार्यकारी र सदस्यहरुलाई बोलाएर आफ्नै कार्यकक्षमा छलफल राखेका थिए । तर सो छलफल बोर्डका पदाधिकारी र कार्यकारीबीच एक आपसमा आरोपप्रत्यारोप हुँदै झगडामै उत्रिए । ‘कार्यक्रमको बारेमा केही चिन्ता छैन् । उनीहरु त सुविधा पाइएन, आफूलाई यो भएन, त्यो भएन भन्नेमा मात्रै विषय केन्द्रीत गरेर झगडा गर्न थाले । राज्यमन्त्रीको सिफारिसमा मन्त्रीले स्पष्टीकरण सोधेको हो,’ मन्त्रालय स्रोतले अगाडी थप्यो, ‘राज्यमन्त्री रावतले अहिलेको टिमबाट बीमा सफल हुन नसक्ने रिपोर्ट मन्त्री ढकाललाई बुझाएका छन् ।’

नविकरण घट्यो
चितवनमा अघिल्लो बर्ष बीमा आवद्धको संख्या ४ लाख थियो । पछिल्लो बर्ष २ लाख ५० हजार जतिले मात्रै नविकरण गरे । एकै बर्षमा डेढ लाख कम हुनु भनेको बीमा असफल उन्मुख हुनु हो भन्ने निस्कर्षमा मन्त्रालय पुगेको छ ।

स्वास्थ्य सचिव खगराज बराल भन्छन्, ‘राज्यको प्राथमिकतामा राखिएको कार्यक्रम हो तर अहिले सन्तोषजनक रुपमा अघि बढी रहेको देखिएको छैन् । यसलाई जसरी पनि प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि सरकारले केही कदम त चाल्नैपर्छ । र मन्त्रालयले कदम चाल्न शुरु गरेको छ,’ उनले भने ।

यसअघि राज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा सचिव बरालले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्नुहुन्न भने जिम्मेवारी मुक्तहुनुस भनेर चेतावनी दिईसकेका थिए ।

डा सतिश देवको राजिनामा
स्वास्थ्य बीमा बोर्डका सदस्य डा सतिशकुमार देवले भने सदस्य पदबाट राजिनामा दिइसकेका छन् । अघिल्लो विहीबारको बैठकमा सचिव बरालसंग विवाद भएपछि डा सतिशले राजिनामा दिएका हुन् । यद्धपी मन्त्रालयले उनको राजिनामा स्वीकृत गरिसकेको छैन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *