गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान जान थाले
धनगढी, १० फागुन । कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो ।
उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार नगद रहेका छन् । अमरावतिकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवतीको स्वास्थ्यमा ध्यान गर्न सन्देश दिएको बताइन । “पोषण उपहार संगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र खानपानबारे समेत जानकारी पायौँ ।” उनले भने, “यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ ।”
वन्देविपुरकी रीता विष्ट गर्भवती छिन् । उनीसंगै कोशेली बुझ्न उहाँका श्रीमान् पनि साथमा आएका थिए । “मेरो श्रीमती गर्भवती भएको सात महिना भयो । यहाँ आएपछि मैले धेरै जानकारी पाए ।” रीताका श्रीमान् विष्टले भने, “अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनीलाई चाहिने आराम, वातावरणबारे पनि म सचेत हुन आवश्यक रहेछ ।”
गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउन र मातृशिशु मृत्युदर घटाउन सहयोग पु¥याउन कोशेली कार्यक्रम शुरुआत गरेको हो । कोशेली वितरणका लागि रु सात लाख विनियोजन गरेको छ । गाउँपालिकाले दुई चरणमा कोशेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन दोस्रो चरणमा जेठ मसान्तमा कोशेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए । “ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्,यसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ ।” उनी भन्छन्, “सचेतना फैलाउने उद्देश्यका साथ कोशेली दिन थालेका हौँ । एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर, महिला र तिनका परिवार सचेत हुन सक्छन् ।”
जन्मिने नवजात शिशुलाई स्वस्थ बनाउन पोषण उपहार कार्यक्रम सहयोगी हुने उपाध्यक्ष उमा महत्तोले बताए । “हाम्रो समाजमा गरिबी छ । बुहारीले घरका सबैले खाना खाएपछि खाने चलन छ । अन्त्यमा खाने बुहारीलाई खाना नपुगे उनीहरु भोकै बस्छन् ।’’ उनी भन्छिन्, “अनि कसरी पोषणमा सुधार आउँछ । धेरै महिलामा रक्तअल्पताको समस्या देखिन्छ, बच्चा जन्माउँदा रगत आवश्यक पर्छ । त्यसकारण यो अभियान थालिएको हो ।”
गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँचमा आएकालाई मात्र यो कोशेली दिने गरेको छ । स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले नियमित गर्भजाँच गर्ने बानीको विकास गर्नका लागि पनि कोशेलीले सघाउने विश्वासव्यक्त गरे । “गर्भावस्थामा महिलाले पटकपटक खानेकुरा खाने, सरसफाइमा ध्यान दिने, आराम गर्ने, मानसिक थकान कम गर्नेजस्ता कुरा पनि सिकाउन थालेका छौँ ।” उनी भन्छिन् , “यो अवस्थामा गर्भवती खुशी हुन नसकेमा त्यसको असर बच्चामा पनि पर्छ । त्यस कारण महिला र तिनका परिवारले विशेष ख्याल गर्नुपर्छ ।” गाउँ टोलमा कोशेली कार्यक्रमबारे महिला स्वास्थ्य स्वयंसेविकाले जानकारी दिने गरेका छन् । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

