स्वास्थ्यमा १२ औँ तह बढुवा : ‘साता भित्रै टुंग्याईदै’

काठमाडौँ, २५ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा रिक्त रहेको तीन वटा प्रमुख विशेषज्ञ पद (१२ औँ तह) मा ‘को बढुवा होला ?’  हिजो आज स्वास्थ्य तथा मन्त्रालयमा बढी सुनिने र सोधिने प्रश्न हो यो ।

यतिवेला मन्त्रालयका उपल्लो तहका अधिकारी देखि स्वास्थ्यकर्मी, तिनका नेता अनि स्वास्थ्यमा कलम चलाउने पत्रकार सम्मले प्रमुख विशेषज्ञ पद (१२ औँ तह)को बढुवाको विषयलाई निकै चासो दिएका छन् ।

नियमत १२ औँ तहको पद रिक्त रहे १५ दिन भित्रै प्रक्रिया शुरु गरी बढुवा गरिहाल्नु पर्ने हो । तर स्वास्थ्यमा यी पदहरु लामो समय देखि खाली रहेका छन् ।  स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा नयाँ सचिव र नयाँ मन्त्रीको आगवन भईसकेपछि बढुवा प्रक्रियाले तिव्रता पाएको हो ।

‘अब त बढीमा एक साता मात्रै भन्नुस् ,’ बढुवा प्रक्रिया कहिलेसम्म टुंगो लाग्ला  ? भन्ने प्रश्नको जवाफमा मन्त्रालयका एक उच्च अधिकारीले भने । उनले योग्यता पुगेका इच्छुक व्यक्तिले व्यक्तिगत विवरण पठाइसकेको र अब मूल्यांकन गरी बैठक बसेर नाम पठाउने काम मात्रै बाँकी रहेको बताए ।

स्वास्थ्य सेवा ऐन २०५३ ले लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य बढुवा समितिको अध्यक्ष हुने व्यवस्था गरेको छ । सो समितिमा मुख्य सचिव, विषय विशेषज्ञ आदि सदस्य हुन्छन् । स्वास्थ्य सचिव भने सदस्य सचिवको भूमिका रहन्छन् ।

गत २ पुसमा बढुवा समितिको बैठक बसेर २०७६ असार मसान्त सम्म एघारौँ तह ५ बर्ष पुगेका व्यक्तिसंग व्यक्तिगत विवरण माग गर्ने निर्णय गरेको थियो । सोही अनुसार एघारौँ तहका २८ जनाले विवरण पठाएका थिए ।

के छ बढुवा प्रक्रिया ?

स्वास्थ्य सेवा ऐनका अनुसार बाह्रौँ तहको बढुवाका लागि समितिले व्यक्तिको कार्यसम्पादन क्षमताको आधारमा अंक दिनेछ । ऐनले तोकेको कुल १०० अंक मध्ये कार्य सम्पादन मूल्यांकन बापत ४० अंक, जेष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेवापत २५ अंक र शैक्षिक योग्यता र तालिम बापत १५ अंक रहेको छ । समितिले यसैलाई आधार बनाई नाम पठाउन सक्नेछन् । तर निर्णय गर्दा जेष्ठता र कार्यकुशलतालाई प्राथमिकता दिइने छ भनिएको छ ।

कति जनाको नाम पठाउनु पर्छ ?

बढुवाका लागि निजामति ऐनले कुल रिक्त पदको तेब्बर संख्या सिफारिस गर्न भन्छ, तर विद्यमान स्वास्थ्य सेवा ऐनले कुल संख्याको कम्तीमा ५० प्रतिशत बढी भए पुग्ने भनेको छ । यदि स्वास्थ्यको बढुवा समितिले यहि आधारलाई टेक्यो भने तीन वटा पदको ५० प्रतिशत भनेर ५ (४.५) जनाको नाम पठाउन सक्छ । तर लामो समय देखि रोकिएको र अब संघीय निजामति ऐनले समेत ‘गाईड’ गर्न सक्ने अवस्था भएकोले त्यसमा उल्लेख भएबमोजिम तेब्बर बढी अर्थात ९ जनाको नाम पनि पठाउन पनि सक्छ ।

तर मन्त्रालय उच्च स्रोतले स्वास्थ्य ऐन अनुसार कम्तीमा पचास प्रतिशत भन्ने शव्दकै वरिपरि रहेको बुझिएको छ ।

नाम क – कसको जाला त ? 
स्वास्थ्य मन्त्रालयले गत २ पुसमा बसेको बढुवा समितिको निर्णय भन्दै गत १० पुसमा एउटा सूचना जारी गर्यो । सो सूचनामा २०७६ असारसम्म एघारौँ तह पाँच बर्ष पुगेका स्वास्थ्यका विभिन्न समूहका सबैले १२ औँ तहका लागि प्रतिस्पर्धा गर्न सक्ने भन्दै चार दिन भित्र व्यक्तिगत विवरण दिन भनिएको थियो ।

तोकिएको १४ पुस सम्मको सो अवधीमा २८ जनाले मात्रै व्यक्तिगत विवरण बुझाए । अब त्यहि २८ जनामध्येबाट ५ जना वा ९ जनाको नाम पठाउने हो । र ती मध्येबाट मन्त्रिपरिषदले तीन जना प्रमुख विशेषज्ञको रुपमा छनौट गर्ने हो ।

यसपटक  प्रतिस्पर्धामा मन्त्रालयका डा दीपेन्द्ररमण सिंह, विभागका महानिर्देशक, डा रोशन पोखरेल, पूर्व महानिर्देशक डा गुणराज लोहनी, निर्देशक डा भिमसिंह तिंकरी, मन्त्रालयकै सहसचिव महेन्द्रप्रसाद श्रेष्ठ, विभागका डा तारानाथ पोखरेल, वीर अस्पतालका डा केदार सेन्चुरी लगायतका व्यक्ति प्रतिस्पर्धामा देखिन्छन् ।

‘प्रतिस्पर्धामा त यिनीहरु नै हुन् । केहीको अंक सामान्य तलमाथि होला । तर नाम जाने यिनै मध्येबाट नै हो । प्रमुख विशेषज्ञ पद विशिष्ठ श्रेणीको पद भयो । मन्त्रिपरिषदले यी मध्येबाट जसको पनि नाम छनौट गर्न सक्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *