‘बी एण्ड सी’ बारे चल्ने चर्चा र दुर्गा प्रसाईको जवाफ

काठमाडौँ, १९ पुस । झापाको बिर्तामोडमा ३०० बेडको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । बी एण्ड सी शिक्षण अस्पताल परिसरसंगै जोडिएको क्यान्सर अस्पताललाई सञ्चालकहरुले ‘कप्रिहेन्सिभ क्यान्सर सेन्टर’ भएको दावी गरेका छन् ।

क्यान्सर अस्पताल पनि बी एण्ड सी शिक्षण अस्पतालकै सञ्चलक टिमले सञ्चालनमा ल्याएको हो । गत बुधबार उपचार सेवा आरम्भ गर्दा बी एण्ड सी शिक्षण अस्पतालमा समेत उहि जिम्मेवारी सम्हालेका क्यान्सर अस्पतालका कार्यकारी निर्देशक भएका दुर्गा प्रसाईले नयाँ अस्पतालबारेमा मात्रै बोलेनन् आफूमाथि लाग्ने आरोपबारे पनि प्रष्टिकरण दिन भ्याए ।

एक त आफै क्यान्सर सर्भाईभर, अर्को झापा देशमै सबैभन्दा बढी क्यान्सरका विरामी हुने जिल्ला । आम सर्वसाधारणलाई उपचारमा सहज पहुँच पुगोस भन्नका लागि नै आफूले क्यान्सर अस्पताल खोलेको उनले बताए ।

सोही क्रममा प्रसाईले  बी एण्ड सी मेडिकल कलेज सम्वन्धनको लफडा र त्यसमा आफूलाई लाग्ने गरेको आरोपबारेमा पनि यसरी प्रष्टपार्ने प्रयास गरे ।

माफिया भनेको के हो ?
तपाईँहरुलाई थाहा भएकै कुरा हो दुर्गा प्रसाईलाई पटक पटक माफिया भनियो । राजधानीका ठूला भनिएका केही मिडियाहरुले निकै माफिया शव्दको प्रयोग गरे ।

के हो त्यो माफिया ? मैले बुझेको त माफियाले हतियार सप्लाई गर्छ , ड्रक्स सप्लाई गर्नेलाई माफिया भनिन्छ । कालो बजारी गर्ने माफिया भनिन्छ होला भनेको थिएँ । तर म आफै माफिया बनेँ । बनाईयो । पटक पटक लेखियो ।

मैले त एउटा मेडिकल कलेज खोल्न लागेको थिएँ । अस्पताल खोलिसकेको थिएँ । सरकारले दिएको मापदण्ड अनुसार पूर्वाधार बनाएको थिएँ । सरकारको नीति नियम अनुसार नै चलेर काम गरेको थिएँ । तर यसरी प्रस्तुत गरियो कि म डरलाग्दो माफिया ।

मैले देशमै केही गरौँ । आफ्नो ठाँउलाई केही गरौँ । आम सर्वसाधारणलाई उपचारको पहुँच विस्तार गर्न सहयोग गरौँ भनेर लगानी गरेको थिएँ । सरकारको नीति नियममै रहेर तर उल्टा मलाई माफियाको ट्याग लगाएर खेदियो । तर म विश्वस्त छु कुनै दिन ट्याग लगाउने साथीहरुले दुर्गा प्रसाईलाई चिन्नुहुनेछ र बहुत गलत गरिएछ भनेर मनन् गर्नुहुनेछ ।

प्रचण्डको लगानी ?!
बी एण्ड सीको कुरा आयो कि प्रचण्डको लगानी भनेर नाम जोडिहाल्ने प्रचलन बन्यो राजधानीका मिडियामा । तर बास्तविकता के हो भने यो परियोजनामा न प्रचण्डको लगानी छ , न केपी ओलीको न त शेरबहादुर देउवाको नै । बरु यहाँ नेपाली जनताको लगानी छ । कसरी भन्नुहोला ? हामीले ग्लोबल आईएमई बैंक, एनसीसी बैंकबाट ठूलो मात्रामा ऋण लिएका छौँ । त्यहाँको पैसा भनेको नेपाली जनताको पैसा हो । आज उहाँहरुकै पैसाबाट यी परियोजना अघि बढेका हुन् ।

हामीले यो परियोजनाको लागि हाम्रो चल अचल सम्पत्ती धितो राखेका छौँ । भोलि परियोजना विग्रँदा हामी सबै जेल जानुपर्छ । हामी मात्रै होइन हाम्रा लागि ऋण दिने बैंक अधिकारीले पनि कार्वाही भोग्नुपर्छ ।

मैले सजिलो बाटो रोज्नुपथ्र्यो ?
बी एण्ड सीको कुरा आयो कि सम्पतीको स्रोतको बारेमा बढी कुरा खोतलिन्छ । मैले अघि नै भने नि काठमाडौँका मिडियाहरुले सम्पत्तिको स्रोतलाई प्रचण्डसंग लगेर जोडदछन् । तर त्यस्तो होइन । म यहिकै रैथाने हुँ र हुने खानेकै परिवारको मान्छे हुँ ।

आज म अमेरिका गएको हुन्थे भने पनि ल्यामोट्रिङ नै चडेर हिडन सक्ने हैसियत छ । तर मैले त्यो सजिलो बाटो रोजिन । जहिले म अफ्टेरोमा हिडन मन पराएँ । मैले जैले भन्छु हरेक मान्छेको अघि सगरमाथा छ । त्यो चड्ने नचडने व्यक्तिको कुरा हो । र मैले जहिले पनि आफू अघिको त्यो सगरमाथा चडन प्रयास गरेँ र चडि पनि राखेको छु । मेरो उदेश्य देशलाई समृद्ध बनाउन टेवा दिनु हो ।

औपचारिक कक्षा पो रोकियो अनौपचारिक शिक्षा जारी नै छ
म औपचारिक कक्षा धेरै पढिन तर अनौपचारिक शिक्षा अहिले पनि लिईरहेको छु । मेरो छोराले भन्छ, ‘बाबा तपाईँले किन ८ कक्षा पढेर छाडेको कुरा गर्नुहुन्छ ?’ भनेर । तर मैले जीवन औपचारिक कक्षा लिनेको मात्रै होइन नलिनेको पनि हुन्छ भन्ने उदाहरण देखाउन चाहन्छु । खुट्टा नभएको मान्छे पनि हिडन सक्छ । तर प्रयास गर्नुपर्छ । प्रयास गर्दा हिडन सकेन भने मन त पुग्छ ।

पढेको भए त अमेरिकामा भासिन्थेँ कि ?
म नपढेको भएर के भो त ? म आज यदि पढेको हुन्थे भने सायद अमेरिका पुग्थेँ होला । एउटा रेष्टुरेन्टमा मसाल्जीको काम गरेर बस्थेँहोला । अनि त्यो फुटपाथमा हिड्थे होला । आधिपेट खाएर, अनि फुर्सदको टाइम निकालेर समुद्रको किनारमा गएर बाहिरी हासो देखाउँदै फोटो खिचेर फेसबुक टिटरमा पोष्ट गर्थे होला । परिवारबाट टाँढा हुन्थे होला । तर मैले त्यो बाटो रोजिन ।

छोराछोरीलाई पनि भनेँ  तिमीहरु डाक्टर बन्नुपर्छ । यहि पढनु पर्छ । यहि नै केही गर्नुपर्छ । र छोरा छोरीले  पनि मेरै कुरा मानेका छन् । मलाई गर्व छ मेरा सन्तान प्रति । उनीहरुले जुनसुकै कठिन अवस्था आएपनि देशका लागि गर्छौ भनेका छन् । त्यो बाटोमा अघि बढेका छन् । मलाई विश्वास छ मेरा छोराछोरीले जस्तो सुकै कठिन परिस्थितिसंग जुधेर अघि बढ्न सक्छन् । म जे गर्छु नेपाल र नेपालीकै लागि गर्छु ।

यो देश मेरो होइन र ?
कहिलेकाँही सोच्दछु राजधानी केन्द्रीत कतिपय मिडिया र सामाजिक सञ्जालले किन यसरी खेदे ? के म प्रचण्डसंग नजिक छु भनेर ? प्रधानमन्त्री र प्रचण्डलाई खाना खुवाएँ भनेर ? त्यसमा मैले के गल्ती गरेँ ? दुई जना मिल्दा देशको भलो हुन्छ भन्ने हेतुले नै मैले त्यसमा मध्यस्थता गरिदिएको हुँ । सामान्य सर्वसाधारणले खाने खाना खुवाएको हुँ । तर बास्तविकता नबुझिकन यति खिल्ली उडाइयो । आतंकित बनाइयो । जस्तो कि म नेपाली नै होइन । यो देश मेरो होइन । यो लगानी मेरो होइन जस्तो गरी ।

मैले खोल्न लागेको मेडिकल कलेज बम बारुद बनाउने कारखाना हो जस्तो गरी लेखियो । काठमाडौँबाट मलाई राति भएपछि पत्रकारहरुले फोन गर्नुहुन्थ्यो र हलो हलो गर्ने र अर्को दिन विहानै पत्रिकामा दुर्गा प्रसाईँले यस्तो भन्यो भनेर मनगडन्ते कुरा लेख्ने ।

पत्रकार साथीहरुलाई म फेरी पनि भन्न सक्छु । व्यक्तिको प्रस्तुत हुने स्वभाव फरक पर्ला । प्रस्तुतिकरणमा मेरो पनि केही कमजोरी होला तर मैले गर्न खोजेको काम खराव त होइन नि ।

मैले मुलुकलाई हेरेको छु । मैले गर्न खोजेको पनि मुलुकका लागि नै त हो । म त अब कति बाँच्छु होला र २० बर्ष बाँचुला । त्यसमा पनि म क्यान्सर बोकेर हिडेको मान्छे । जुन दिन मलाई क्यान्सर लागेको पत्ता लाग्यो र उपचार गर्न भारतको दिल्ली गएँ त्यहाँबाट फर्किदा क्यान्सर रोगको उपचार गर्ने अस्पताल बनाउछु भनेर आएको थिएँ । आज त्यो पुरा भएको छ । कुल ३०० बेडको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । कप्रिहेन्सिव क्यान्सर उपचार सेन्टरको रुपमा ।

मैले किन क्यान्सर अस्पताल थपे ?
कुल १६ विगाह जग्गामा वीएण्डसी मेडिकल कलेजको भवन बनाउँदा नै म ऋणले चुलुम्म थिएँ । भवन बनाएर कक्षा सञ्चालन गर्ने तयारी रहँदा सम्वन्धनमा लफडा शुरु भयो । डा गोविन्द केसीको अनसन र राजनीतिक रंङ दिएर अहिलेसम्म त्यो लफडा सुल्झिएको छैन । तर मैले त्यसैमा टाउको समाएर बसिन ।

आफूलाई क्यान्सर लाग्यो । आफैले यत्रो हस्पिटल बनाए तर आफ्नो उपचारका लागि भारत र सिंगापुर जानुपरयो । म त सिंगापुर पुगेँ । तर यहाँ दुई रुपैयाँको पर्खाईमा आफ्नो जिन्दगी त्याग गरेका मान्छे कति छन् कति ? पैसाको अभावमा उपचार नपाएर मृत्युबरण गरेका कति छन् कति , उनीहरुको लागि कसले गर्ने ? सबै मान्छे हेर्छु ध्याउन्न पैसा कमाउनमा मात्रै छ । हुने खाने र शिक्षित बर्ग विदेशको सजिलो बाटो नै रोजेका छन् । हुने खाने व्यक्तिले मेरो छोरो अमेरिका छ, मेरो छोरा अष्ट्रेलिया छ भनेका छन् । त्यसैमा गर्व छ उनीहरुलाई र देश बन्दैन भन्छन् उनीहरु नै । हो मेरो ध्यान यसैले खिच्यो । गरीव नेपालीका उपचारको पहुँचका लागि त नेपालमै अस्पताल हुुनुपरयो । त्यसपछि मैले क्यान्सर अस्पतालको परियोजना अघि बढाएँ । यसमा मेरो चार सय करोडको लगानी छ ।

देश छाडेर विदेश जाने फेसबुकबाट पाठ पढाउने ?
देश बनाउनका लागि त सबै जना देशमै रहेर काम गर्नुपरयो । विदेशमा गएर फेसबुक र ट्वीटरबाट पाठ पढाएर केही हुनेवाला छैन ।
मैले सत्यकुरा बोल्दा तितो हुन्छ कहिले काँही । तर म भन्छु, आज साउदी कतार मलेसियामा मात्रै छन् ६० लाख नेपाली । तिनीहरुको नेपालमा बस्न पाउने अधिकार त हो नी । किन पाउँदैनन् ? श्रीमान श्रीमतीको विछोडको पिडा कति होला ? पैसा कमाउन गएको छोरा बाँकसमा फर्कियो भन्ने समाचार हरेक दिन विहान अखबारमा हेर्छौँ । तर त्यसका लागि आफूले केही प्रयास गरयौँ त ?

युरोप अमेरिकामा छिरेर उतैका नागरिकता लिएर बसेका कतिपयले बढो पाठ पढाउँछन् फेसबुक र ट्ीटरमा । उनीहरुले पाठ पढाउने सट्टा यहाँ आएर सानो काम गर्न किन नसक्या ?

मैले त्यहि प्रयास गरेको हो । नेपालमै उद्योग धन्दा खोल्ने, रोजगारी दिने व्यक्तिको जीवनस्तर उकास्ने । यो सपना मैले देखेको छु र त्यसलाई पुरा गर्ने योजनामा अघि बढेको छु । र त्यो सफल हुन्छ हुन्छ । जसले नेपालमा काम नै गरेको छैन, यो देशमा काम गर्न नसकेर विदेश भागेको छ उसैले फेसबुकबाट मार्सी र माफियाको ट्याग लगाउँछ ।

यसरी खोलियो पूर्वाञ्चल क्यान्सर अस्पताल
मैले क्यान्सरको उपचारका लागि भारतमा धेरै विताएँ । उपचार र फलोअपका लागि त्यहाँ जाँदा नेपालीहरुको बिजोक देखेँ । मेदान्तमा एउटा लिफ्टमा चडदा २० जना मान्छेमा ४ जना नेपाली हुन्छ । राजिव गान्धी अस्पताल पुग्दा त हरेक ३ जनामा एउटा विरामी नेपाली भेटिन्छ । यसरी बिरामी भेटिनुको कारण यहाँ राम्रो उपचार नै नभएर हो । अथवा यहाँका चिकित्सकले भरोसा दिलाउन नसकेर नै हो ।

उपचारका लागि भरोसा दिलाउन उपकरणहरु चाहिन्छ । त्यस्तो नहुँदा चिकित्सकले पनि के नै पो गर्न सक्छ । तर आज पूर्वाञ्चल क्यान्सर अस्पताल देशकै पहिलो कप्रिहेन्सिभ क्यान्सर अस्पताल बनेको छ । यो मेरो मात्रै होइन हाम्रो टीमकै दावी हो ।

अर्को कुरा मेडिकल कलेज र क्यान्सर अस्पताल आउँदा देशको लागि त राम्रै हुन्छ होला । मेरो कम्पनीले बर्षमा १ अर्व कर तिरोस । अब मैले धेरै सम्पत्ति कमाएर मैले चारवटा कोट एकै पटक लाउने पनि होइन । एक छाक खाने हो । जति जे छ त्यो यहि छाडेर जाने न हो । किन हामीले अजम्बरी जस्तो व्यवहार गर्छौँ ?

प्रस्तुति : रामप्रसाद न्यौपाने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *