स्वास्थ्य मन्त्रीको प्रश्न : ‘बिरामीलाई चाहिने भन्दा बढी औषधि प्रेस्काईव गरिन्छ र ?’

काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले औषधि प्रेस्काईवको बारेमा जिज्ञासा राखेका छन् । उनले बिरामीलाई चाहिनेभन्दा बढी औषधि प्रेस्काईव गरेको गुनासो सुनिने गरेको भन्दै त्यसको बास्तविकता के हो भनेर सरोकारवाला समक्ष प्रश्न राखेका हुन् ।

औषधि व्यवस्था विभागले आइतबार मन्त्री ढकाललाई प्रमुख अतिथि बनाई बुकलेट तथा एप्स रुपमा तयार पारेको औषधिको प्रयोग सम्वन्धी सूचनाको नयाँ दस्ताबेज ‘नेप्लीज नेशनल फर्मुलरी’को लोर्कापण कार्यक्रम आयोजना गरेको थियो ।

सो अवसरमा बोल्दै मन्त्री ढकालले भने, ‘मैले भोगेको होइन सुनेको मात्र, कतिपय ठाँउमा औषधि विरामीको आवश्यकता भन्दा पनि बढी पे्रस्काइव गरिन्छ रे, बिरामी भन्दा व्यवसायीको मित्रताले त होइन ?’ उनले डाक्टरप्रति लक्षित गर्दै पुन: थपे, ‘मैले यस्तो गुनासो धेरै सुनेको भएर यो फोरममा जिज्ञासा राखेको मात्रै यो गुनासोको बास्तविकता के हो ?’

सम्वोधनकै क्रममा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा आएपछि आफूले तीनवटा विषयमा झमेलापूर्ण भएको बताए । ‘अस्पतालमा किन्ने औजार, कर्मचारीको हेरफेर र सरुवा र औषधिको खरीदको विषय साच्चिकै चुनौतीपूर्ण र झमेलायुक्त हुँदो रहेछ मैले महसुस गरेको छु,’ उनले भने ।

स्वास्थ्य सचिव खगराज बरालले चिकित्सकहरुलाई अक्षरमा सुधार गर्न आग्रह गरे । ‘औषधि प्रेस्काइव गर्दा लेखिने ती अक्षरहरु बुझिने हुनुपरयो । बरु यसका लागि अभियानै चलाउने हो कि ?’ उनले भने ।

औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले आगामी साता भित्र एप्स सबैको मोवाइलमा आउने भन्दै त्यसले बिरामी चिकित्सकबीचको सम्वन्धलाई थप पारदर्शी बनाउन मद्धत गर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले औषधि प्रेस्किप्सन गर्नेको पहिचान हुनुपर्ने बताए । उनले भने, ‘डाक्टरले गरेको हो कि अहेवले गरेको हो कि ? नर्सले गरेको हो त्यो पहिले पहिचान हुन परयो । अनि औषधि क कसले प्रेस्काइव गर्न पाउने वा मिल्ने हो त्यसको पनि कार्यविधि बनाउन आवश्यक छ ।’

आज लोर्कापण भएको बुकलेटमा अत्यावश्यक औषधि र प्रमुख औषधिको प्रयोगसम्वन्धी सूचनाको दस्तावेज भएको बताइएको छ । यो बुकलेट र आगामी जनवरी देखि आउने एप्समा औषधिको र यसको प्रयोग, मात्रा, प्रति असर आदिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छ । यो विभागले निकालेको यो तेस्रो संस्करण हो भने एप्सको रुपमा पहिलो पटक आउँदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *