बंगलादेशमा अध्ययनरत नेपाली चिकित्सकको समस्या समाधान गर्न पहल शुरु
काठमाडौँ, ११ मंसिर । सरकारले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रयास थालेको छ । बंगलादेशका लागि नेपालका राजदूत डा बंशिधर मिश्र मार्फत समस्या समाधानको प्रयास थालेको हो ।
मंगलबार मात्रै राजदूत मिश्र र बंगबंधु शेख मुजिब मेडिकल विश्वविद्यालयका उपकुलपति प्राडा कनक कान्ति बारुवाबीच मंगलबार भेटबार्ता भएको छ । उक्त भेटमा नेपाली आवासीय चिकित्सकका परिश्रमिक (स्टाईपेन्ड) आवास र अन्य समस्याको बारेमा छलफल भएको छ । सो अवसरमा उपकुलपति बारुवाले नेपाली चिकित्सकको समस्या समाधान गर्न आफू गम्भीर ढंगले अघि बढने आश्वासन दिएका थिए ।
राजदूत मिश्रले विश्वविद्यालयका उपकुलपति नेपाली विद्यार्थीको समस्या समाधान गर्न गम्भीर भएको आफूले पाएको बताएका थिए ।
बंगलादेशका राष्ट्रपति अबदुल हमिद दुई साता अघि नेपाल भ्रमणमा रहेका बेला बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको समस्याको बारेमा कुरा उठेको थियो । सो क्रममा राष्ट्रपति हमिदले आपसी छलफल गरी समस्या सुल्झाउने बचन दिएका थिए । त्यसैको फलोअपका लागि नेपाली राजदूतले संक्रियता देखाएका हुन् ।
नेपाली चिकित्सक डा सम्राट पराजुलीका अनुसार बंगबंधु शेख मुजिब मेडिकल विश्वविद्यालयमा मात्रै ८० देखि १०० जना नेपाली चिकित्सकले एमडीएमएस एमडीएस गर्दैछन् । उनीहरुका लागि विश्वविद्यालयले दिनुपर्ने स्टाइपेन्ड तथा आवासको सुविधा केही समस्या देखिएको विद्यार्थीहरुले बताउँदै आएका छन् ।
डा पराजुलीले नेपाली राजदूतको सक्रियताले आफूहरुमा आशा पलाएको बताए ।
सम्पर्क इमेल : [email protected]