बीपी स्मृति अस्पतालको कार्यसमितिको पदावधी एक बर्ष थपियो
काठमाडौँ, ७ मंसिर । बसुन्धरास्थित वीपी स्मृति सहकारी अस्पतालको कार्यसमिति एक बर्षका लागि यथावत रहेको छ । नयाँ सहकारी ऐन अनुसार कार्य समितिको पदावधी एक बर्ष थपिएको हो । यो संगै अस्पतालमा डा केदारनरसिंह केसी अध्यक्ष रहेको पुरानै कार्यसमिति यथावत रहेको छ ।
यसअघि आज भएको १२ औँ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति छनौट गर्ने बताइएको थियो । नयाँ कार्यसमितिका लागि गठन भएको निर्वाचन समितिले विज्ञसंगको परामर्श पछि पुरानै कार्यसमितिलाई एक बर्ष यथावत राख्ने निर्णय गरेको हो ।
साधारण सभाको खुल्ला सत्रमा अध्यक्ष डा केसीले आफ्नो कार्यकालमा भएको अस्पताल सुधारका प्रयास र उपलव्धीबारे जानकारी गराएका थिए । स्थापनाको १२ वर्षमा अस्पतालको चलअचल पुँजी २५ करोड नाघेको भन्दै उनले व्यवस्थापन र सेयर सदस्यहरुलाई बधाई दिएका थिए ।
उनले आफ्नो अस्पताल नाफा कमाउने भन्दा पनि सेवा मुलक उद्धेश्यले खोलिएको भन्दै सो अनुसार न्युन आएका भएका सर्वसाधारणको पहुँचमा अस्पताल पर्न सफल भएको दावी गरे ।
अस्पतालका बरिष्ठ उपाध्यक्ष डा सुधारप्रसाद अधिकारीले अस्पताल दुई वर्षयता आफ्नै भवनमा सञ्चालित रहेको र सेवाहरु विस्तार हुने क्रममा रहेको बताए ।अस्पतालमा अहिलेसम्म न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको नभएको भन्दै अव त्यस दिसामा आफूहरु अघि बढेको बताए ।
मेडिकल डाईरेक्टर डा धनबहादुर राना मगरले अस्पतालको कार्यप्रगति विवरण सुनाएका थिए ।
काँग्रेस महामन्त्री कुल बहादुर गुरुङ प्रमुख अतिथि रहेको साधारण सभामा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले अस्पतालको सेवा आम सर्वसाधारणको पहुँचमा पुगेको भन्दै खुशी व्यक्त गरे । उनीहरुले गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलव्ध गराउन जोड दिएका थिए ।
अस्पतालमा करिब ६ १९ जना शेयर धनी रहेका छन् ।
सम्पर्क इमेल : [email protected]