निमोनिया के हो ? कसरी जोगिने ?

विगत १० बर्ष देखि संसारभर नोभेम्बर १२ तारिखका दिन विश्व निमोनिया दिवस मनाईदै आएको छ । यसको मुख्य उद्धेश्य संसारभर बालबालिकामा हुने निमोनियाबिरुद्ध जागरण ल्याउनु हो ।

फोक्सोमा हुने संक्रमणलाई निमोनिया भनिन्छ । यसका कारण गतवर्ष संसारभरमा ८ लाख भन्दा बढी ५ बर्ष मुनिका बालबालिकाको अकाल मृत्यु भयो । ५ वर्ष मुनिका बालबालिकाहरुमा हुने मृत्युको १६ प्रतिशत भन्दा बढी हिस्सा (भार) निमोनियाले ओगटछ ।

नेपालमा पनि गत आव २०७५/७६ मा जन्मेदेखि पाँच बर्ष मुनिका करिब १ हजार २ सय बालबालिकाको मृत्युमध्ये श्वास प्रस्वास सम्वन्धी (एआरआई) रोगका कारण २३६ जनाको मृत्यु भयो । यसबाट पनि ५ बर्ष मुनिका बालबालिकाहरुमा करीब २० प्रतिशत मृत्यु निमोनिया/श्वासप्रस्वाश सम्वन्धी रोगका कारणबाट हुने तथ्यांकहरुले देखाउँदछ ।

यसरी हेर्दा बालबालिकाहरुमा हुने निमोनिया नेपाल लगायत विकासोन्मुख देशहरुमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ । जसलाई सरकारले नीति र कार्यक्रममा ध्यान दिन सकेमा ५ बर्ष मुनिका बालबालिकाहरुरमा निमोनियाका कारण हुने अकाल मृत्युलाई सजिलै रोक्न सकिन्छ र हजारौ बालबालिकाको जीवन रक्षा गर्न सकिन्छ ।

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ । निमोनियाको प्रमुख कारण संक्रमण नै हो । संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका र बृद्धहरुमा रोगसंग लड्न सक्ने क्षमता कमजोर हुने भएकोले निमोनियाको असर गम्भीर रुपमा देखिन सक्छ ।

बालबालिकाहरुको नाक घाँटी र बाताबरणमा रहरेका सुक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुनसक्छ । खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण गराउने सम्भावना रहन्छ ।

निमोनिया हुँदा देखिने मुख्य लक्षण :

  • खोकी लाग्न सक्छ ।
  • श्वासप्रश्वास दर बढ्छ ।
  • श्वास फेर्न कठिन हुनसक्छ ।
  • छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्न सक्छ । छाँती दुख्छ ।
  • ज्वरो आउन सक्छ ।
  • स साना बालबालिकाहरुले आमाको दुध चुस्न खानेकुरा खान सक्दैनन् ।
  • गम्भीर संक्रमण भएमा बालबालिकाह बेहोस हुने कम्पन आउने, शरीरको तामक्रम कम पनि हुन सक्छ ।

निमोनिया जटिलता भएमा

  • शरीरभर संक्रमण फैलिन सक्छ ।
  • फोक्सोको झिल्ली भित्र पानी वा पिप भरिन सक्छ ।
  • फोक्सोमा पिप भरिन सक्छ ।

उपचार :

  • निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधि किनेर खानु हुँदैन् ।
  • गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ । नेपाल सरकारले आईएमएनसीआई कार्यक्रम मार्फत बालबालिकाको उपचारलाई सहज बनाएको छ ।

रोकथाम :

१. खोप : बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिईने खोप लगाईयो भने निमोनियाबाट जोगाउन सकिन्छ । जस्तै बीसीजी, हेमोफिलस इन्फ्लुएन्जा, न्युमोकोकस, लहरेखोकी, भ्यागुतेरोग, दादुरा रुवेला विरुद्धको खोपहरु लगाउनु पर्छ । यी खोपहरु नेपाल सरकारले निशुल्क उपलव्ध गराएको छ । यी खोपले रोग विरुद्ध लडने शक्ति प्रदान गर्दछ ।

२. पोषण : पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । कुपोसित बालबालिकालाई संक्रमणको सम्भावना बढी हुन्छ । आमाको दुध र थप आहार प्रसस्त खुवाउनु पर्छ ।

३. धुवाँबाट टाढा  : बालबालिकाहरुलाई धुवा (भान्छाको चुरोटको वा अन्य) धुलो, चिसोबाट जोगाउनु पर्छ । त्यसैले अभिभावकहरुले धूमपान गर्नु हुँदैन, भान्छामा धुँवारहित चुलो प्रयोग गर्नुपर्छ ।

४. एलर्जी  : बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनु पर्छ ।
५. सरसफाई : व्यक्तिगत सरसफाई र बाताबरणीय सरसफाईमा ध्यान दिनुपर्छ ।
६. सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

बालबचाउसंग सम्वन्धित कार्यक्रमहरु नेपाल सरकारका प्राथमिकता प्राप्त कार्यक्रमहरु हुन् । निमोनिया र अन्य रोगहरुबाट पाँच बर्ष मुनिका बालबालिकाहरुलाई बचाउन नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम, समुदाय र स्वास्थ्य संस्थामा आधारित नवजात शिशु तथा वालरोग व्यवस्थापन कार्यक्रम, पोषण कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रमहरु देशभरी लागू गर्दै आएको छ ।

यहि कारणले नेपालले पाँच बर्ष मुनिका बालबालिकाहरुको मृत्युदर र शिशु मृत्युदर घटाउने लक्ष अनुरुप सहश्राव्दी विकास लक्ष्यको उद्धेश्य पुरा गरयो ।

सन् २००१ मा गरेको स्वास्थ्य तथा जनसांख्यीक सर्वेक्षण (एनडीएचएस २००१) देखि एनडीएचएस २०१६ सम्म आई पुग्दा ५ बर्ष मुनिका बालबालिकाको मृत्युदर ५७ प्रतिशत ले घटाउन सकियो ( एनडीएचएस २००१ मा प्रति हजार ९१ बाट एनडीएचएस २०१६ मा ३९ प्रतिहजारमा झर्यो) ।

अब हाम्रो गन्तव्य दिगो विकास लक्ष्य (एसडीजी २०३०) का लागि हामीले प्रतिवद्धता जनाए बमोजिम नवजात शिशु र पाँचवर्ष मुनिका सबै वालवालिकाहरुको रोक्न सक्ने मृत्युलाई अन्त्य गर्नु हो । कम्तीमा नवजात शिशुको १२ र पाँच बर्ष मुनिका बालबालिकाको मृत्युदर २० प्रतिहजार जिवीत जन्ममा झार्नु पर्दछ ।

नेपाल सरकारको विभिन्न प्रयासका कारण निमोनियाबाट हुने ५ बर्ष मुनिका बालबालिकाको मृत्युमा सकारात्मक कमी आएको त छ तर नवजात शिशुको मृत्यु अहिले पनि उच्च छ ।

देशका दुर्गम स्थान गरिवीको चपेटामा परेको वर्ग, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा बाहिर रहेको समुदायका बालबालिका अहिले पनि जोखिममा रहेका छन् ।

अत: बालबालिका हाम्रा भविस्य हुन तिनीहरुको जीवन रक्षाका लागि आजै देखि आ आफ्नो ठाँउबाट जुटौँ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गरौँ ।

# डा. गौतम स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुखका रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *