१७ औँ अनसन बस्न डा. गोविन्द केसी पुगे डडेल्धुरा
काठमाडौँ, १८ कात्तिक । आफ्ना माग पुरा नभएको भन्दै डा गोविन्द केसी अनसन बस्न डडेल्धुरा पुगेका छन् । उनले आज बेलुका ५ बजे देखि अनसन शुरु गर्ने बताएका छन् ।
यसअघि उनले ६ बुँदे माग अघि सार्दै पुरा गर्न सरकारलाई तीन साताको समयावधी दिएका थिए ।
अनसन बस्नु पूर्व डा केसीले आजै डडेल्धुरा अस्पताल पुगी स्वास्थ्य जाँच गराएका थिए । उनले रगत परीक्षणका लागि दिएका छन् ।
‘डडेल्धुरा आएको छु । बेलुका पाँच बजेबाट अनसन शुरु गर्छु । स्थान भने अहिले टुंगो लागि सकेको छैन । बसिसकेपछि टुंगो लागि हाल्छ,’ नेपालीहेल्थसंग टेलिफोनमा डा. केसीले भने ।
केही समय पछि पत्रकार सम्मेलन गरी उनले अनशनको थालनी गर्ने बताएका छन् ।
डा केसीका छ बुँदे माग यस्ता छन् :
१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस।
२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस।
३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस।
४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस।
५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस कार्यक्रम संचालन गरियोस। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस।
प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस।
६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।
सम्पर्क इमेल : [email protected]