मंसिरको पहिलो साता राजधानीमा हेल्थ एण्ड ब्युटी एक्स्पो हुने
काठमाडौँ, ९ असोज । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आउदो मंसिर ५ गते हेल्थ एण्ड ब्युटी एक्स्पो नेपाल २०१९ आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको एक्स्पो ३ दिनसम्म चल्नेछ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले व्यक्तित्व विकास र आत्मविश्वास बढाउन समेत मद्धत गर्ने शारिरीक तथा बौद्धिक सौन्दर्यमा सहयोग पुर्याउने उद्देश्यले सम्बन्धित सबै लाई एकै थलोमा भेला गरी वस्तु र सेवाबारे जानकारी दिन एक्स्पो आयोजना गर्न लागिएको बताए ।
उनले भने, ‘पछिल्लो समय मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएको र बजारमा पनि थरीथरीका सौन्दर्य सामाग्री भित्रिरहेको सन्दर्भमा त्यसले हाम्रो बाहिरी सौन्दर्यका साथै स्वास्थ्य र करियरमै पनि असर पर्ने हुँदा त्यस्ता सामाग्रीबारे सही सूचना प्रदानगर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेका हौं ।’
कार्यक्रममा आयोजक सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठले नेपालको समग्र सौन्दर्य उद्योगलाई प्रोत्साहन गर्न एक्स्पो महत्वपूर्ण हुने बताइन ।
छाला विशेषज्ञ डा. रुपक घिमिरेले स्वास्थ्य र सौन्दर्य एक आपसमा जोडिएकाले यसबारे आम जनमानसमा सही सूचना दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।
पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सौन्दर्य क्षेत्रको समग्र प्रबद्र्धनका लागि एक्स्पो महत्वपूर्ण हुने बताइन । महिलाको साथसाथै पुरुषहरु पनि पछिल्लो समय सौन्दर्य र सौन्दर्य सामाग्रीप्रति आकर्षित हुँदै गएको भन्दै उनले यसको प्रबद्र्धनका लागि सबै क्षेत्रको समग्र पहल आवश्यक रहेको धारणा व्यक्त गरिन ।
एक्स्पोमा स्वास्थ्य संस्था, कस्मेटिक्स सामाग्री, सौन्दर्यसंग सम्बन्धित संस्थाहरु, मेकअप, स्पा एण्ड वेलनेस, व्यवसायीक तालिम कोर्स, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, लगायतका गरी १ सयभन्दा बढी स्टलहरु रहनेछन् ।
एकस्पोमा छाला विशेषज्ञहरुले छालासम्बन्धी रोगबारे जानकारी समेत गराउने छन् । एक्स्पोमा छाला विशेषज्ञहरु समेत सहभागि गराई सेमिनारको पनि आयोजना गरिनेछ ।
लाईभ व्याण्डका साथै फेसन शो, योगातथाध्यान, मेकअप सिकाई, जुम्बा तथा एरोबिक्स लगायतको सेसन पनि राखिनेछ ।
सबै उमेर समुहलाई लक्षित गरी गर्न लागिएको एक्स्पोमा २ लाख बढीले भ्रमण गर्ने अपेक्षा आयोजकको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

