मिर्गौला प्रत्यारोपण, समाचार र वास्तविकता

  • डा. पुकारचन्द्र श्रेष्ठ, प्रत्यारोपण शल्यचिकित्सक


हुन त अर्को पत्रिकामा प्रकाशित भएको समाचारको विषय यस अनलाइनमा प्रकाशित गर्नु सान्दर्भिक हुन्छ वा हुन्न त्यो म भन्न सक्दिन । तर स्वास्थ्य क्षेत्रमा यो लोकप्रिय अनलाइनमा धेरै पाठक जोडिनु भएकोले र विषय समेत स्वास्थ्य क्षेत्रकै परेको हुनाले आफूसंग जोडिएका विषयको बारेमा केही स्पष्टीकरण दिन चाहेको हुँ ।

गत १८ भदौका दिन प्रकाशित भएको अन्नपूर्ण पोष्ट दैनिकको प्रथम पृष्ठमा “अस्पतालमै मृगौलाको धन्दा” शीर्षक राखी  मुख्य समाचार प्रकाशित भयो । त्यो समाचारमा मेरो नाम जोडियो । नाम यसरी जोडियो कि आर्थिक प्रलोभनका कुरा मात्रै भएन, मानवअंग बेचविखनमै सम्लग्न भए जस्तो गरी चित्रित गरियो । त्यसैले यसबारेमा प्रष्ट पार्न जरुरी ठानेको हुँ ।

कुरा के हो भने, उक्त समाचारमा उल्लेख भए बमोजिम मृगौला फेल भएका बिरामी रामेछाप, दोरम्बा बस्ने शंकरलाल लामा र निजको भान्जा भनेर आएका रामेछाप, दोरम्बाका संजिव घिसिङ्गले आफ्नो मामाको मृगौला प्रत्यारोपण गराउनका लागि आफुले एउटा मृगौला दान दिन इच्छा व्यक्त गरी निदान अस्पतालको बहिरंग विभागमा म लगायतको चिकित्सकीय टोलीसंग जँचाउन आउनु भएको थियो ।

तत् पश्चात उहाँहरुको मृगौला प्रत्यारोपण तथा मृगौला दान गर्न चाहिने सम्पूर्ण चिकित्सकीय जाँच गरी उहाँहरु बीचको नाता प्रमाणित गर्नका लागि यस अस्पतालको प्रत्यारोपण स्वीकृती समितिमा पठाइएको थियो ।

यहाँहरुलाई यो पनि जानकारी होस कि मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ को नियम १२ को उपनियम १ बमोजिम प्रत्यारोपण स्वीकृति समिति गठन भएको छ । उक्त समितिमा प्रत्यारोपणसँग सम्बन्ध नभएको चिकित्सकको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य, अस्पतालका कानूनी सल्लाहकार सदस्य र अस्पताल प्रशासन प्रमुख समेत सदस्य रहने व्यवस्था छ ।

यो केशमा पनि त्यहि भएको हो ।  जो, कुनै पनि व्यक्तिको मृर्गौला प्रत्यारोपण गर्दा गरिन्छ ।

जस्तो कि, मृगौला प्रत्यारोपण गर्न – गराउन आउने व्यक्तिहरुले पेश गरेको प्रमाण कागज विवरण र सो सम्पुर्ण कागज विवरण र व्यहोरालाई निजहरुले सनाखत समेत गरेको आधारमा र आफुहरु सम्बन्धित नाताका व्यक्तिहरु भएको अभिव्यक्तिको आधारमा प्रचलित ऐन नियम बमोजिम प्रत्यारोपण स्वीकृति समितिले मृगौला प्रत्यारोपण गर्न मिल्ने गरी स्वीकृती गरेको हो । समितिले स्वीकृति दिएपछि हाम्रो टोलीले मृर्गाैला प्रत्यारोपण कार्य गरेको हो ।

नाता प्रमाणीकरण गर्ने प्रकृयामा प्रत्यारोपणमा संलग्न हुने चिकित्सकीय टोली प्रत्यारोपण स्विकृति समितिमा संलग्न हुन नपाउने कानूनी व्यवस्था भएको अवस्थामा उक्त कार्यमा मेरो सम्लग्नता हुने कुरै भएन तर समाचारमा त्यसको म माथि आरोप लगाइएको छ ।

समाचार आरोप लगाउँदै गर्दा आरोपितको भनाई पनि राख्नुपर्छ भन्ने पत्रकारिताको सिद्धान्त हो भन्ने सुनेको थिएँ । तर त्यति सम्वेदनशील विषयमा मलाई समेत जोडेर समाचार बनाउँदा म संग एक पटक पनि सोध्ने कार्य गरिएन ।

सो समाचारमा मेरो नामै किटान गरी चरम आर्थिक प्रलोभनमा परी मेरो नेतृत्वमा गैर कानूनी ढंगले मृगौला निकालेर प्रत्यारोपण गरेको उल्लेख भएको छ । जसले मेरो मानमर्दन भएको तथा चरित्र हत्या गर्ने प्रयास समेत भएको हुँदा गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु र उक्त समाचार प्रति खेद व्यक्त गर्न चाहन्छु । मैले कहाँबाट कहिले कोसँग कति आर्थिक लाभ लिएँ ? यो अब समाचार लेख्नेले स-प्रमाण प्रकाशित गरिदिनुहुन अनुरोध छ ।

बेलायतको सरकारी जागीर छोडी आफ्नै देशमा गरिब तथा बिपन्न दाजुभाई दिदी बहिनीहरुको सेवागर्ने उद्देश्यले ११ बर्षअघि स्वदेश फर्केर सरकारी अस्पतालमा हालसम्म ९९ प्रतिशत सफलताका साथ ७६७ जनाको मृगौला प्रत्यारोपण सम्पन्न गरिसकेको छु र पछिल्लो ४५० जनाको मृगौला प्रत्यारोपण सतप्रतिशत सफलताका साथ डिस्चार्ज भएको मेरो यथार्त हो ।

यस्तै स्वदेशमै विश्वस्तरीय मृगौला प्रत्यारोपण सेवा स्थापित गरी राष्ट्रको अरबौं रुपैयाँ बचत गराउन मेरो पनि भुमिका छ भन्ने मेरो दावी हो ।  मृगौला प्रत्यारोपण सेवाबाट गरीब निमुखा र बिपन्न नागरिकहरुको सेवा गर्ने मेरो धर्म हो र आफ्नो कर्तव्यबाट कदापी बिचलित हुन मिल्दैन ।

प्रकाशित समाचारले आम पाठकमा पर्न गएकोे भ्रमबारे सत्य तथ्य पत्ता लगाउन प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायप्रति मेरो पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “मिर्गौला प्रत्यारोपण, समाचार र वास्तविकता

  1. Article j jasto bhae pani sir Le sanchalan garnu bhaeko Nidan hospital ma medical laparbahi Le charam rup leko cha. Jasko shikar mero pujya baba nai parnu bho. Ma afai eita chikitsak ho. Euta icu jasto sambedanshil thau junior doctors ko haat ma chadnu murkhata bahek aru kei haina. Kamti ma ekjana MDGP ba anesthesiologist prattek private hospital ma rakhnai parne byawastha garnu parcha. Matrai mareko sharir ko paisa ganera matra hunna

  2. गलत र सतहमा नपुगी जनतामा भ्रम सृजना गराउने गरी सत्य तथ्य समाचार प्रकाशित नगर्ने पत्रकार लाइ कारबाही हुनुपर्ने होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *