आठ बर्षमा बनेन आठ तल्ले भवन, विहान आठ बजे यसरी भयो अनुगमन

काठमाडौँ, ५ भदौँ । आठ बर्ष अघि निर्माण शुरु भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको आठ तले भवन कहिले सकिन्छ ? एकिन गरी भन्न सक्ने अवस्था अझै छैन । तर निर्माणको मुख्य ठेकेदार कम्पनी गौरा एट्लस जेभीले अबको आठ महिनामा सम्पन्न गछौँ भनेर संसदीय टोलीलाई आशवासन दिएको छ ।

आठ तले भवन बनाउन थालेको आठ बर्ष पुग्यो तर अझै सकिएन किन ? जवाफ खोज्न भन्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमिति संयोजक अञ्जना विशंखे नेतृत्वको टोली विहान ८ बजे त्रिवि शिक्षण अस्पताल परिसरमा निर्माणाधिन क्यान्सर केन्द्रमा पुगेको थियो । विशंखेको टोलीमा उपसमितिका सदस्यद्धय सरिता न्यौपाने र इकवाल मिया सहित केही सहयोगीहरु थिए ।

यस्तै अस्पतालका निर्देशक प्राडा पे्रम खड्गा, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा मन्दिरा वन्त, महाराजगञ्ज स्ववियूका सदस्य घनश्याम पाण्डे सहितको टोली पनि संगसंगै निरीक्षणमा हिडेको थियो ।

निरीक्षणको क्रममा संयोजक रहेकी सांसद विशंखेले ठेकेदार र अस्पताल प्रतिनिधिसंग निर्माण सुरु भएर पनि ढिलाई हुनुको कारण सोधेकी थिइन । जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधिले सरकारी प्रक्रियागत ढिलासुस्तीलाई मुख्य दोष दिए । न समयमै कागज आउने न त पेमेन्ट? निर्माण सामग्री बोक्ने गाडी आउने बाटो दिनका लागि तीन महिना लाग्यो । यहाँबाट भेरिफिकेशनका लागि पठाइएको कागज आइओएम डीन कार्यालयबाट त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर पुग्न तीन महिना बढी लाग्यो । यस्ता धेरै प्रक्रियागत ढिलाई छ । संयोजकसमक्ष उनले बेलीविस्तार लगाए ।

निरीक्षण पछि फर्कदै गर्दा विसंखेले सोधिन अब सरासर काम गर्न पाए कति समयमा सक्नुहुन्छ ? ठेकेदार प्रतिनिधिले फ्याट्टै भनिदिए, ‘आठ महिना !’

अनुगमन पछि नेपाली हेल्थसंग कुरा गर्दै संयोजक विशंखेले भनिन्,  ‘क्यान्सरको उपचार गर्ने जस्तो महत्वपूर्ण संस्था निर्माणमा सबैपक्षको सहयोग हुनुपर्नेमा उल्टा भएको बताइन । निरीक्षणका बेला पाएका प्रतिक्रिया सुन्दा त यो अस्पताल नबनाउन त ठेकेदार भन्दा हाम्रै सरकारी सयन्त्र बाधक पो भयो कि जस्तो पो लाग्न थाल्यो त । उनले भनिन् ‘नत्र हरेक काममा किन ढिलाई गरिन्छ ?’

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा खडगाले भवन निर्माण सम्पन्न भएमा अत्याधुनिक मेसिन ल्याएर उपचार सुरु गरिहाल्ने भनेपनि निकै ढिलाई भएको बताए । उनले संसदीय समितिको अनुगमनले कामलाई तिव्रता पार्न बाध्य बनाएको समेत सुनाए ।

पाँच दिनको म्याद दिएर गठन भएको उपसमितिले तोकिएकै अवधीमा प्रतिवेदन बुझाउने बताएको छ ।

ठेकेदार प्रतिनिधिसंग कुरा गर्दै संयोजक विशंखे (भिडियो)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *